नीजि शैक्षिक संस्थाको योगदानलाई सरकारले मुल्याङ्कन गर्नुपर्छ : सम्बाहाम्फे

ताप्लेजुङ / नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष बिजय सम्बाहाम्फेले मुलुकको शैक्षिक क्षेत्रमा नीजि शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मुल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ । शनिबार प्याब्सन ताप्लेजुङको ७ औँ जिल्ला अधिवेशनको उद्घाटनका क्रममा बोल्दै उहाँले नीजि शैक्षिक संस्थाहरुले विद्यालय तह र उच्च शिक्षामा गरेको योगदानलाई बेवास्ता गर्न नहुँने बताउनुभयो । नीजि विद्यालयहरु व्यवसायिक र नाफामुलक भए पनि मुलुकुको शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको तुलनामा अघि रहेको दाबी गर्दै नीजि विद्यालयलाई हेर्ने सरकारको दृष्टिकोण सकारात्मक हुनुपर्ने उहाँको भनाई छ ।

शैक्षिक क्षेत्रको सुधारका लागि नीजि शैक्षिक संस्थाहरु संग समन्वय बढाउनुको सट्टा सरकारले दोष मात्रै थुपार्ने काम गरेको उहाँको टिप्पणी छ । स्थानीय र प्रदेश सरकारले समेत नीजि शैक्षिक संस्थालाई ध्यान नदिएको उहाँको भनाई छ । शैक्षिक क्षेत्रलाई उकास्नका लागि सरकार एक्लैको प्रयासले मात्रै नपुग्ने भन्दै नीजि शैक्षिक संस्थाहरु संग समन्वय गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड । यस्तै शैक्षिक नीति निर्माण तहमा सक्षम व्यक्ति नहुँनुले पनि समस्या आएको उहाँको भनाई थियो । अहिलेको शिक्षा आयोगमा कतिपय असक्षमलाई लगेर विज्ञको रुपमा राखिएको उदारण दिर्दै उहाँले यसको परिणाम उपलब्धिमुलक नहुँने बताउनुभयो ।

यता सोहि कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले सामुदायिक र नीजि दुबै तर्फका शैक्षिक संस्था प्रति राज्य सकारात्मक हुन नसकेको आरोप लगाउनुभएको छ । नीजि विद्यालयहरुलाई हेर्दै नहेर्ने र सामुदायिक विद्यालयको हकमा छुट्याएको बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्नु सरकारको कमजोरी रहेको उहाँको भनाई छ । यस्तै योगदानमा आधारित सामाजिक कोष नीजि क्षेत्रका शैक्षिक संस्थाको हकमा मान्य नरहेको पनि उहाँको भनाई छ । राज्य आफैले लगानी नगरेर नीजि क्षेत्रलाई मात्रै च्याप्न खोजेको उहाँको आरोप थियो । कार्यक्रममा केन्द्रीय सदस्य हेमन्त कार्की, आरबि कटुवाल लगायतले बोलेका थिए । यसैबीच नयाँ नेतृत्व चयन गर्दै प्याब्सन ताप्लेजुङको अधिवेशन आजै सकिने बताईएको छ । दिउँसो भएको उद्घाटन सत्र पछि साँझबाट बन्दसत्र सुरु भएको छ । नेतृत्वका लागि वर्तमान उपाध्यक्ष दिनेश भटराई र सचिव गणेश सिग्देल आकांक्षी देखिएकाछन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित