समृद्धिको यात्रामा सकारात्मक सोंच राखौं : कुलपति

बेलबारी / नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मुलुकको समृद्धि र शान्तिको यात्रामा सकारात्मक सोंच राखेर अघि बढ्न साहित्यकारहरुलाई आग्रह गरेका छन् । मोरङको बेलबारीमा शनिबार ‘गाउँ बेंसीका फूलहरु’ नामक त्रैमासिक साहित्यिक पत्रिकाको विमोचन गर्दै उप्रेतीले साहित्यिक सिर्जनाका माध्यमबाट मुलुकलाई हानी नोक्सानी पु¥याउने खालका काम हुन नहुने बताए । ‘साहित्यकार र कलाकारका काँधमा मुलुकको ठूलो दायित्व र जिम्मेवारी छ,’ उनले भने, ‘जिम्मेवारी बोकेर हिंडेकाहरुले नै मुुलुक प्रति नकारात्मक सोंच राख्न हुँदैन ।’ उनले शान्ति र समृद्धिको यात्रामा सरकारलाई सहयोग पुग्ने गरी काम गर्नु पर्ने बताए ।

मुलुकलाई दरिलो बनाउन साहित्य र कला क्षेत्रबाट सरकारलाई सकारात्मक खवरदारी गर्नु पर्नेमा उप्रेतीको जोड छ । नकारात्मक मात्रै कुरा र साहित्य सिर्जना गर्दा मुलुक पनि नकारात्मक बाटोमै फस्ने खतरा रहने विषयलाई कला साहित्यमा योगदान पु¥याउँदै आएकाहरुले ध्यान दिनु पर्ने उनको भनाइ छ । ‘साहित्यकारले संधै सकारात्मक सोंच र निस्कर्ष सहित आफ्ना सिर्जनालाई तिखार्न सक्नु पर्छ,’ उनले भने, ‘सरकारलाई असहयोग गर्ने नाममा मुलुकलाई संक्रमणतर्फ धकेल्ने खालका विषय उठान गर्नु जायज हुँदैन ।’ उप्रेतीले राष्ट्रिय एकता, अखण्डता र मुलुकको सार्वभौमिकताका लागि साहित्यकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।

सकारात्मक सन्देश दिने खालका साहित्य सिर्जना गरेमा त्यसले भविष्य सम्म मुलुकलाई टेवा पुगिरहने उनको भनाइ छ । साहित्यिक विषयले मुलुकलाई नयाँ परिस्थितीमा लैजाने भएका कारण साहित्य सिर्जना एवं कला क्षेत्रको विकासका लागि सबै तहका सरकारले ध्यानदिनु पर्ने उप्रेतीको माग छ । उनले साहित्य बचाउन मोफसलले प्रयत्न गरिरहेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकीले मुलुककै परिचय दिएर कविता पस्कँदा समर्थनमा तालिका पर्रा छुटे । उनले आफ्नो रचनामा हिमाल, पहाड देखि तराई एवं पूर्व मेचीदेखि महाकाली सम्मका विषय जोड्दा कार्यक्रममा उपस्थिती साहित्यकार, कालाकार एवं साहित्य प्रेमीहरुको मन खुसीले गदगद भएको थियो । त्यहाँ दृष्टिविहीन गायक कृष्णभक्त राईले स्वर सम्राट नारायण गोपाल र गोपाल योञ्जन समेतको सम्झनामा गीत प्रस्तुत गरेका थिए । उनले आफ्ना गीतमार्फत मुलुकका लागि केही गर्नु छ भन्दै गर्दा माहोल राष्ट्रभावमा डुबेको थियो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित