इञ्जिनीयर एशोसिएसनको निर्वाचन शुक्रबार

काठमाडौँ / नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ । निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले निर्वाचन प्रचार सम्पन्न भएको जानकारी दिएका छन् । प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषध्यक्षमा जानुका थापाले उम्मेदवारी दिनुभएको छ । प्रगतिशील समूहले एशोसिएसनभन्दा बाहिर रहेका इञ्जिनीयरलाई आकर्षण गरेर एशोसिएसनमा ल्याइने योजना अगाडि सारेको छ । सो समूहका तर्फबाट महासचिवका उम्मेदवार पोखरलले समग्र इञ्जिनीयरको हितका लागि आफ्नो समूहले व्यावहारिक र वैज्ञानिक कार्यक्रम अगाडि सारेको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा इञ्जिनीयरको लगानीमा सहकारी, स्टाफ कलेजको अवधारणासमेत आफूहरुको रहेको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगसँग समन्वय गरेर मुलुक निर्माणमा लाग्ने, सुखी नेपाली, समृद्ध नेपालको अवधारणालाई कार्यान्वयन गर्ने, दुर्घटना बीमा र इञ्जिनीयरको लगानीमा १५० मेगावाट विद्युत् उत्पादनजस्ता कार्यक्रम प्रगतिशील समूहले अगाडि सारेको छ । यस्तै समग्र इञ्जिनीयरको न्यूनतम तलब, इञ्जिनीयर स्टाफ कलेज र एशोसिएसनलाई कर्मी इञ्जिनीयरको समूह बनाउने घोषणा गरेको छ ।

लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा प्रत्यासी प्रधानले सबै विचार र पक्षलाई मिलाएर लैजाने आफूहरुको योजना रहेको बताउनुभयो । उहाँले नेपालमा इञ्जिनीयरिङ कलेजको सङ्ख्या बढी भएकाले प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, क्षमता अभिवृद्धिका लागि पाठ्यक्रममा नै अनिवार्यरुपमा आयोजनामा गएर तालीम लिनुपर्ने, स्टाप कलेज स्थापना गर्नेलगायतका अवधारणा सार्वजनिक गरेको जानकारी दिनुभयो । शुक्रबार एकैदिन केन्द्रीय कार्यकारिणी समिति र सातवटै प्रदेशको सात कार्यकारिणी समितिको निर्वाचन हँुदैछ । करिब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्ने कार्यक्रम छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित