छ दिनदेखि राखेको शव नोबेलले बुझायो आफन्तलाई

विराटनगर / उपचार खर्च तिर्न नसकेको बहानामा झापाको मेचीनगर नगरपालिका ९ धुलावारीकी एक वृद्धाको शव छ दिनदेखि राखेको भन्दै चौतर्फी विरोध भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालले मंगलबार साँझ आफन्तलाई बुझाएको छ । विरोध र दवावकाबीच ६५ वर्षीय चन्द्रमाया मगरको शव साँझ परिवारका सदस्य र आफन्तको जिम्मा लगाइएको हो । अस्पतालले उपचारका क्रममा लागेको दुई लाख ४० हजार दुई सय रुपैयाँ पनि छुट गरिदिएको छ । अस्पतालले उपचारको सबै रकम छुट गरेपछि औषधि बापतको बाँकी रहेको रकम पछि तिर्ने सर्तमा आफन्त र परिवारका सदस्यले शव बुझेर लगेका छन् । औषधि बापत भएको खर्च भने चन्दा संकलन गरेर पछि तिर्ने सहमति औषधि पसल संचालक र आफन्तबीच भएको छ ।

चन्द्रमायाका छिमेकी अम्बर लिम्बूका अनुसार अस्पतालले उपचार बापतको सबै खर्च छुट गरिदिने भन्दै मंगलबार विहानै शव जिम्मा लिन बोलाएको थियो । औषधि बापत लागेको खर्च गाउँघरमा चन्दा संकलन गरेर पछि तिर्ने सर्तमा शव आफन्तलाई जिम्मा लगाइएको उनको भनाइ छ । अस्पताल भित्रको औषधि पसलमा अव तीन लाख रुपैयाँ र अस्पताल बाहिरको औषधि पसलमा एक लाख रुपैयाँ बुझाउन बाँकी छ । औषधिको चार लाख रुपैयाँ पछि तिर्ने सर्तको कागज औषधि पसल संचालक र मृतकका परिवारबीच भएको छ ।

अस्पताल भित्रको औषधि पसलले पनि ६० हजार र बाहिरकोले ८० हजार रुपैयाँ औषधि बापतको रकम छुट गरिदिएका छन् । ‘अस्पतालले उपचार बापत तिर्न बाँकी रहेको सबै रकम मिनाहा गरिदियो । औषधि पसलले पनि केही रकम छुट गरेका छन्,’ उनले भने, ‘औषधिको बाँकी रहेको चार लाख रुपैयाँ पछि तिर्ने सहमति भएको छ । त्यसपछि अस्पतालले साँझ हामीलाई शव जिम्मा लगायो ।’

लिम्बूका अनुसार शव लगेर अन्त्येष्टी गरिसकेपछि औषधि बापतको तिर्न बाँकी रहेको रकम चन्दा संकलन गर्नका लागि जुट्ने तयारीमा गाउँलेहरु छन् । ‘शवको अन्त्येष्टी गरिसकेपछि परिवारका सदस्य काजकिरियामा बस्छन्,’ उनले भने, ‘छरछिमेकी भएको नाताले हामी भने चन्दा संकलनमा जुट्छौं ।’

उच्च रक्तचापका कारण ढलेपछि गत कात्तिक ३० गते चन्द्रमायालाई उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो । टाउकोको नशामा रगत जमेको भन्दै उपचारमा संलग्न चिकित्सककै सुझाव अनुसार मंसिर १ गते टाउकोको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा गत बुधबार राति चन्द्रमायाको मृत्यु भएको दाजु डम्बर मगरले बताए ।

औषधि र उपचार बापतको रकम नतिरेको भन्दै नदिएपछि आफन्त अस्पतालमै शव छाडेर हिंडेका थिए । डम्बरका अनुसार चन्द्रमायाको उपचारका लागि सुरुमै अस्पताललाई चन्दा संकलन गरेर ल्याइएको एक लाख ५० हजार रुपैयाँ बुझाइएको थियो । ज्याला मजदुरी गर्ने चन्द्रमायाको आर्थिक अवस्था एकदमनै कमजोर छ । दुई छोरा मध्ये जेठो छविलाल बैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने कान्छो मोहन सिटी सफारी कुदाउँछन् । दुबै जनाको कमाई राम्रो नभएपछि छोराहरुले पनि अस्पतालको रकम तिरेर आमाको शव लैजान सकेका थिएनन् ।

लिम्बूका अनुसार आर्थिक अवस्था कमजोर भएको परिवारसंग त्यतिधेरै पैसा तिरेर शव लैजान सक्ने अवस्था नरहेकाले मिनाहा गरिदिन पटक पटक अनुरोध गर्दा पनि अस्पतालले अस्वीकार गरेका कारण लामो समय सम्म शव लैजान र अन्त्येष्टी गर्न परिवारका सदस्यले पाएनन् । अस्पतालका प्रशासकिय अधिकृत नारायण दाहालले अस्पतालले उपचार खर्च मिनाहा गरिदिएर औषधिको रकम भने पछि तिर्ने सर्तमा आफन्तलाई शव बुझाइएको बताए ।

Purbeli

TV

प्रतिक्रिया

सम्बन्धित