पैसा नतिरेको बहानामा नोबेलले कब्जा ग-यो वृद्धाको शव

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालले झापाको मेचीनगर नगरपालिका ९ की वृद्धा ६५ वर्षीय चन्द्रमाया मगरको शव पाँच दिनदेखि कब्जा गरेर राखेको छ । औषधि र उपचार बापतको छ लाख ३३ हजार रुपैयाँ नतिरेको बहानामा अस्पतालले शव कब्जा गरेर आफन्तलाई नबुझाएको हो । पैसा नतिरे सम्म शव दिन नसकिने अडान राखेपछि आफन्तले अस्पतालमै छाडेर हिंडेका छन् । चन्द्रमायाका दाजु डम्बरबहादुर मगरले शव लैजान नसकिएपछि परिवार ठूलो तनावमा परेको बताए । ‘आर्थिक अवस्था कमजोर भएका कारण उपचारको पैसा तिरेर शव लैजान सकेनौं,’ उनले भने, ‘अर्का तिर मृत्यु भएसंगै काजकिरिया गर्न नपाएको तनाव पनि थपिएको छ।’

उच्च रक्तचापले ढलेपछि कात्तिक ३० गते भर्ना गरिएकी चन्द्रमायाको टाउकोको मंसिर १ गते नोबेलमा शल्यक्रिया गरिएको थियो । डम्बरका अनुसार नशामा रगत जमेको भन्दै चिकित्सकले शल्यक्रिया गर्न भनेका थिए । शल्यक्रियापछि आईसीयूमा राखेर उपचार सुरु गरियो । उपचारकै क्रममा गत बुधबार राति चन्द्रमायाको मृत्यु भएको हो । ‘न त बहिनीलाई जीवितै राख्न सकियो । न त मृत्यु भएपछि अस्पतालको पैसा तिर्न पाइयो,’ उनले भने, ‘पैसा तिर्न नसकेपछि अस्पतालले पाँच दिनदेखि शव दिन मानिरहेको छैन । हामीसंग त्यतिधेरै रकम तिरेर शव ल्याउन सक्ने अवस्था नै छैन ।’

डम्बरका अनुसार चन्द्रमायाको उपचारका लागि सुरुमा अस्पताललाई एक लाख ५० हजार रुपैयाँ बुझाइएको थियो । मृत्यु भइसकेपछि छ लाख ३३ हजार रुपैयाँ तिर्न बाँकी रहेको विल आयो । उनले औषधिको पाँच लाख २१ हजार र उपचारको एक लाख १२ हजार रुपैयाँ तिर्न बाँकी रहेको बताए । अस्पताल भित्रको पसलबाट औषधि खरिद गरेको तीन लाख ४१ हजार र अस्पताल बाहिरको पसलबाट औषधि ल्याएको एक लाख ८० हजार रहेको डम्बरले बताए ।

ज्याला मजदुरी गर्ने चन्द्रमायाको आर्थिक अवस्था एकदमनै कमजोर छ । दुई छोरीको विवाह भइसकेको छ । दुई छोरा मध्ये जेठो छविलाल बैदेशिक रोजगारीका लागि मलेसियामा छन् भने कान्छो मोहन सिटी सफारी कुदाउँछन् । चन्द्रमायाका अनुसार छिमेकी तथा संघीय समाजवादी फोरम नेपाल झापाका जिल्ला सदस्य अम्बर लिम्बूका अनुसार विदेशमा रहेका र सिटी सफारी कुदाउने दुबै छोराको कमाई राम्रो नभएका कारण उनीहरुले अस्पतालमा तिर्न बाँकी रकम तिरेर आमाको शव समेत ल्याउन सकेका छैनन् ।

‘उच्च रक्तचापले समस्या पारेपछि स्थानीय बासिन्दा र राजनैतिक दलका नेता कार्यकर्ताको सक्रियतामा पैसा उठाएर चन्द्रमायालाई उपचारका लागि पठाइयो,’ लिम्बूले भने, ‘उठाएर पठाएको एक लाख ५० हजार रुपैयाँले पुगेन रहेछ ।’ उनले उक्त रकम मिनाहा गरिदिन पटक पटक अनुरोध गर्दा पनि अस्पतालले अस्वीकार गरेको बताए । ‘सबै राजनैतिक दलका नेतादेखि लिएर स्थानीय बासिन्दा सम्मले गरेको आग्रहलाई पनि अस्पतालले सुनेन,’ उनले भने, ‘शव ल्याउन नदिएकाले छोराहरुले दाहसंस्कार गरेर आमाको काजकिरिया समेत गर्न पाएका छैनन् ।’ उपचार खर्च नतिरिकन लैजान दिंदैनौ भन्दै शव कब्जा गरेर अस्पतालले गैरजिम्मेवारीपन देखिएको उनले भनाइ छ ।

एउटा कोठामा राखिएको शवले दुर्गन्ध फैलन थालेपछि अस्पतालको शव गृह मर्मत सम्भार गरेर शवलाई सोमबार त्यहाँ राखिएको छ । चन्द्रमायाको मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेको भन्दै आफन्त र छिमेकीले नोबेल मेडिकल कलेजमा तोडफोड समेत गरेका थिए । तोडफोडबाट प्रशासकिय अधिकृत नारायण दाहालको कार्यकक्ष र अस्पतालको काउण्टरमा क्षति पुगेको थियो ।

प्रशासकिय अधिकृत दाहालले भने उपचार खर्च मिनाहा गर्न अस्पताललाई कुनै गाह्रो नभएको बताए । ‘उपचार बापतको तिर्न एक लाख १२ हजार रुपैयाँ मात्रै छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकालाई यति रकम अस्पतालका तर्फबाट मिनाहा गर्न सकिन्छ ।’ दाहालले औषधिको रकम चैं धेरै तिर्न भएकाले शव आफन्तलाई दिन नसकिएको बताए । उनले औषधि बापतको रकम तिरेर आए आफन्तले शव लैजान दिने बताउँदै भने, ‘औषधिको पैसा तिर्न बाँकी भएकाले त्यसलाई अस्पतालले मिलाउन सक्ने सम्भावना छैन । औषधि पसल संचालकले त्यसै छाड्छन् जस्तो लाग्दैन ।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित