मोरङ पुस मसान्त सम्ममा खुल्ला दिसामुक्त

विराटनगर / मोरङ जिल्ला आउँदो पुस मसान्तसम्मा खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने भएको छ । एक महानगरपालिकासहित १७ वटा स्थानीय तह रहेको जिल्लाको सबै घरमा शौचालय निर्माण गरी पुस मसान्तसम्ममा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो । चार वटा स्थानीय तहबाहेक १३ वटा स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् । बाँकी चारवटा स्थानीय तहसमेत खुल्ला दिसामुक्त हुने अन्तिम तयारीमा रहेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए । उनका अनुसार बाँकी रहेको अन्य स्थानीय तहमा समेत शौचालय निमार्ण धमाधम भइरहेका कारण जिल्लालाई आगामी पुस मसान्त सम्ममा खुल्ला दिसामुक्त घोषणा गरिने छ ।

यस अघि मोरङको पाँचवटा नगरपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेको खुल्ला दिसामुक्त अभियान चलाउँदै आएको संस्था मात्रृभूमि महिला समाज मोरङ शाखाकी अध्यक्ष शान्ता दाहालले बताइन् । उनका अनुसार उर्लाबारी, सुन्दरहरैंचा, लेटाङ्ग, रंगेली, रतुवामइ नगरपालिका खु्ल्ला दिसामुक्त नगरपालिका घोषणा भइसकेका छन् । त्यस्तै कानेपोखरी, केराबारी, ग्रामथापन, मिक्लाजुङ्ग, धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।

अव विराटनगर महानगरपालिका सहित तीनवटा गाउँपालिका खुल्ला दिसामुक्त घोषणा हुने तयारीमा रहेको बताइएको छ । जसमा कटहरी, बुढीगंगा, जहदा गाउँपालिका र सुनवर्सी नगरपालिका खुल्ला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारीमा रहेका छन् । कटहरी यही मंसिर २९ गते खुल्ला दिशामुक्त घोषणा हुने गाउँपालिका प्रमुख रामकुमार कामतले जानकारी दिए । सुनवर्षीलाई मंसिर २८ गते घोषणा गरिने छ ।

कटहरी १ खुल्ला दिसामुक्त

मोरङको कटहरी गाउँपालिकाको १ नम्बर वडा खुल्ला दिसामुक्त घोषणा भएको छ । आइतबार कटहरीमा एक कार्यक्रम आयोजना गरेर खुल्ला दिसामुक्त वडा घोषणा गरेको हो । एक हजार ५७ वटा घरधुरी रहेको वडामा सबैले शौचालय बनाएपछि खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले खुल्ला दिसामुक्त घोषणा कार्यक्रमले मात्रले प्रभावकारी नहुने भएकोले व्यवहारमा उतानुपर्नेमा जोड दिए ।

वडा अध्यक्ष कपुरलाल माझीले सबैको साथ सहयोगले खुल्ला दिसामुक्त वडा घोषणा गर्न सफल भएको बताए । यस अघि कटहरीको १, ६ र ५ नम्बर वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको गाउँपालिका प्रमुख रामकुमार कामतले जानकारी दिए । उनका अनुसार अब २, ३, ४ र ७ घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित