स्वर्गीय आफ्ना् बाबालाई किन लेखे यी बालकले चिठी, निकै दर्दनाक


स्कटल्याण्ड / स्कटल्याण्डका ७ वर्षका एक बालकले आफ्ना स्वर्गवासी पितालाई चिठी लेखे । चिठी लेखेर उनले एक हुलाकीलाई यो चिठी पुर्याउने जिम्मेवारी दिए । उनले हुलाकीमार्फत स्वर्गवासी पितालाई जन्मदिनको शुभकामना कार्ड पठाएका थिए । बालकलाई थाहा थिएन कि त्यो चिठी उनका पितासम्म पुग्न सक्दैन । तर, त्यतिबेला ती बालकको खुसीको सीमा रहेन जब हुलाक कम्पनीले बालकलाई एक पत्र पठाएर जानकारी दियो कि उनको पत्र सुरक्षित रुपले उनका पितासम्म पुर्याइएको छ ।

बालककी आमाले सामाजिक संजालमा एक भावुक बनाउने पोस्ट लेख्दै यो घटना शेयर गरेकी छिन् । साथमा उनले हुलाक कम्पनीलाई धन्यवाद पनि दिएकी छिन् । ती बालकका पिताको ४ वर्ष पहिले मृत्यु भएको थियो । स्कटल्याण्डको बाथगेट शहरमा बस्ने महिला टेरी कपल्याण्डले सामाजिक संजालमा आफ्ना छोराले पठाएको कार्ड र जवाफमा आएको पत्रसहित एक पोस्ट लेखेकी छिन् जुन संसारभर भाइरल भइरहेको छ ।

टेरीका पति जेम्सको २०१४ मा २८ वर्षको उमेरमा मृत्यु भएको थियो । यो जोडीका २ सन्तान छन् जसमा छोरा जेस ७ वर्षका र छोरी नीव १० वर्षकी छिन् । यस वर्ष २०१८ मा टेरीका ७ वर्षका छोरा जेसले पिताको जन्मदिन आउने बेलामा आफूले पितालाई शुभकामना कार्ड पठाउन चाहेको आमालाई बताएका थिए । बालकले भनेका थिए – कसैले पनि जन्मदिनमा गिफ्ट पाउन् वा नपाउन् शुभकामना भने पाउनुपर्छ । उनले कार्ड लिएर आए र हुलाकीलाई खास सन्देश पनि लेखे ।

टेरीका अनुसार उनका छोरालाई आशा थिएन कि उनले पठाएको कार्ड स्वर्गमा उनका पितासम्म पुर्याइनेछ । तर, हालै हुलाक कम्पनीले पठाएको जवाफ पाएपछि उनको खुसीको सीमा छैन । पिताको लागि लेखिएको कार्डबाहिर जेसले लेखेका थिए ‘मिस्टर पोस्टम्यान, मेरो पिताको जन्मदिनको लागि के तपाइँ यसलाई स्वर्गसम्म पुर्याउन सक्नुहुन्छ ? धन्यवाद ।’ जवाफमा हुलाक कम्पनी रोयल मेलले एक पत्र पठाउँदै बालक जेसलाई जानकारी दिएको छ कि उनले पठाएको पत्र सुरक्षित रुपमा स्वर्गमा उनका पितासम्म पुर्याइएको छ ।

कम्पनीका तर्फबाट असिस्टेन्ट डेलिभरी अफिस म्यानेजर स्याम मिल्गनले जवाफ लेख्दै भनेका छन् ‘म तपाइँलाई बताउन चाहन्छु कि हामीले स्वर्गमा रहेका तपाइँका पितासम्म तपाइँको पत्र पुर्याइदिएका छौं । यो निकै चुनौतीपूर्ण काम थियो जसमा तारा र आकाशगंगाका अन्य चीजहरुलाई पार गर्दै स्वर्गसम्म पुग्नुपर्ने थियो । यद्यपि तपाइँ भरोसा राख्नुस् कि त्यो जरुरी सामान डेलिभरी गरिसकिएको छ ।’ उनले अगाडि लेखेका छन् ‘रोयल मेलको प्राथमिकता ग्राहकले पठाएका सामानलाई सुरक्षित रुपले पुर्याउनु हो । हामीलाई थाहा छ तपाइँले पठाउनुभएको सामान कति महत्वपूर्ण थियो । स्वर्गसम्म सुरक्षित डेलिभरी गर्नको लागि हामी भविष्यमा पनि प्रतिबद्ध रहनेछौं ।’

हुलाक कम्पनीको पत्र पढेपछि बालककी आमा टेरी निकै प्रभावित भइन् । उनले यो पूरै घटनालाई एक पोस्टमार्फत सामाजिक संजालमा शेयर गरेकी छिन् । उनले हुलाक कम्पनीलाई धन्यवाद दिइन् । टेरीले रोयल मेललाई सम्बोधन गर्दै लेखेकी छिन् ‘म बताउन सक्दिन, जब उनलाई थाहा भयो कि उनले पठाएको कार्ड उनका पितासम्म पुग्यो, उनी कति खुसी भए । तपाइँले जे गर्नुभयो त्यो सब गर्नु तपाइँको काम थिएन । तपाइँले चाहेको भए त्यसलाई बेवास्ता पनि गर्न सक्नुहुन्थ्यो । तपाइँले बालकको लागि जे गर्नुभयो त्यसको जति तारिफ गरे पनि कम हुन्छ । रोयल मेलले पुनः एक पटक मानवताप्रति मेरो विश्वास बलियो बनाइदिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित