विद्यालयलाई डिजिटलाइजेसन गर्नेछ : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो चैत महीनाभित्र ६०० वटा माध्यमिक विद्यालयलाई डिजिटलाइजेसन गरिने बताउनुभएको छ । पाँचखाल नगरपालिका–१२ कोशीदेखास्थित श्रीराम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रत्येक निर्वाचन क्षेत्रका तीन वटा सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन गरिने छ ।”

मन्त्री बाँस्कोटाले प्रदेश नं २ को निर्वाचन क्षेत्रमा भने छ वटाका दरले विद्यालयलाई डिजिटलाइजेसन गरिने बताउँदै “आर्थिक अवस्था कमजोर भएका क्षेत्रको विद्यालयलाई डिजिटलाइजेसन गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ”, भन्नुभयो । “प्रविधिसँग जोड्न कम्प्युटरका माध्यमबाट जीवन निर्वाहमुखी शिक्षा उपलब्ध गराउने नीति रहेको छ”, उहाँले भन्नुभयो, “कम्प्युटर ल्याब स्थापनामार्फत डिजिटलाइजेसनको अभियान कर्णाली प्रदेशबाट केही दिनमै शुरु हुन्छ ।”

मन्त्री बाँस्कोटाले कर्णाली प्रदेशका विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सेवा प्रदायक संस्थामा इन्टरनेट नेटवर्किङको काम तत्कालै शुरु हुने बताउँदै “नेटवर्किङ र डिजिटलाइजेसनको काम कर्णालीमा एकैसाथ शुरु हुन्छ, नेटवर्किङ प्रणाली कर्णालीको आजको आवश्यकता हो”, भन्न्ुभयो । शैक्षिक क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै उहाँले समाज विभाजनको आधारतर्फउन्मुख शिक्षा प्रणालीलाई जनमैत्री बनाइने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “निजी विद्यालयको भौतिक आकर्षणमा अभिभावक लोभिए, अब केही समय कुर्नुस् सामुदायिक विद्यालयमा त्यस्तै देख्दै जानुहुनेछ ।”
साुमदायिक विद्यालयमा देखिएका चुनौतीको सामना गर्दै गुणात्मक प्रतिस्पर्धा गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं उहाँले सरकारको सामाजिक सुरक्षा योजनामार्फत लाखौँ नेपालीको भविष्य सुरक्षित बनेको विचार व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको यो योजना वृद्धभत्ताभन्दा पनि ठूलो हो, तपाईहरुले विस्तारै बुझ्नुहुनेछ ।”  स्वीट्जरल्याण्डको डिगा फाउण्डेशनको सहयोगमा करीब रु एक करोडको लागतमा दुई तले छ कोठे विद्यालय भवन निर्माण भएको सो विद्यालयले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित