बीपी कोइराला विरुद्धको रिट खारेज

माेरङ / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विरुद्ध तीन विद्यार्थीले उत्प्रेषणयुक्त परमादेशकालागि दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ । एमबीबीएसको भारतीय कोटा तर्फ मेरिटमा नाम निकाले पनि काउन्सिलिङका बेला ढिलो आएका विद्यार्थीलाई बीपीले भर्ना नगरेपछि त्यो निर्णय विरुद्ध परमादेशकालागि भारतीय विद्यार्थी निशान्त कुमार, अरिवा अकबर र डाक्टर शैलेन्द्र सेखरले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

बीपीको निर्णय खारेज गरी अध्ययन गर्न पाउँ भनी दायर गरेको रिटमा परमादेश आवश्यक नपर्ने भन्दै उच्च अदालतले खारेज गरिदिएको हो । उच्च अदालतका न्यायाधीशस हरिप्रसाद भण्डारी र सारङ्गा सुवेदीको इजलासले मंगलबार रिट खारेज गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताए ।
भारतीय कोटामा मेरिटमा नाम निकाले पनि आरेन्टेशन कक्षमा निर्धारित समय भन्दा १५ मिनेट ढिलो आएकी अरिवा, आधा घण्टा ढिलो आएका निशान्त र एक दिन ढिलो आएका शैलेन्द्रको स्थानमा बीपीले मेरिटमा उनीहरु भन्दा कम नम्बर ल्याएका विद्यार्थीलाई स्थान दिएको थियो । अदालतले बीपीको निर्णय विरुद्ध उत्प्रेशणयुक्त परमादेश माग गर्दै विद्यार्थीले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो ।

बीपी प्रतिष्ठान विरुद्ध विद्यार्थीले दायर गरेको मुद्दामा उच्च अदालत विराटनगरले एउटै न्यायाधीश संलग्न बेञ्चबाट फैसला भएको प्रति कानुन विद् डाक्टर भीमार्जुन आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टी जनाएका छन् । उनले ६ पटक सम्म एउटै न्यायाधीश संलग्न बेञ्चबाट फैसला भएको भन्दै असन्तुष्टी जनाएका हुन् । यता उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले आठ जना न्यायाधीश मध्ये ६ जनाले हेर्न नमिल्ने भएका कारण दुईजना न्यायाधीशको बेञ्चबाट फैसला भएको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित