शिक्षा समन्वय इकाईमा शिक्षकको धर्ना

विराटनगर / पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले शुक्रबार विराटनगरस्थित शिक्षा विकास तथा समन्वय इकाई मोरङमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको आयोजनामा विहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप शिक्षकहरुले धर्ना दिएका हुन् । धर्नाका क्रममा जिल्लाका १७ वटै स्थानीय तहका स्थायी, अस्थायी, र राहत शिक्षक सहभागी भएको नेपाल शिक्षक महासंघ मोरङका सहसचिव अरबिन्द यादवले जानकारी दिए । महासंघद्धारा घोषित तेस्रोचरणको आन्दोलनको कार्यक्रम अनुसार देशभरिका समन्वय इकाईहरुमा विरोधका कार्यक्रमहरु गरिएको उनले बताए ।

महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने यादवको भनाइ छ । सो क्रममा शिक्षकहरुले समन्वय इकाईमा ब्यांग्यात्मक नाचगान गरेका थिए । गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत र कुल गार्हस्थ उत्पादनको चार प्रतिशत विनियोजन गर्न माग गरिएको शिक्षकहरुले बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित