जिल्ला अस्पतालमा प्रशुति सेवा प्रभावित

संखुवासभा / जिल्ला अस्पताल संखुवासभामा चिकित्सक नहुँदा प्रशुति सेवा प्रभावित भएको छ । चिकित्सक नहुँदा विगत एक सातादेखि सेवा प्रभावित भएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई जना चिकित्सक ल्याएका थिए । तर एकजना चिकित्सकको समयावधि सकिएको र अर्को जना विदामा बसेपछि प्रशुति सेवा प्रभावित भएको हो ।

डा. युवराज वस्नेतको दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छाडिसकेका छन् । डा. शैलिका श्रेष्ठ पनि विदामा बसेपछि प्रशुति गराउन आएका सेवाग्राहीहरु मारमा परेका छन् । सोमबार खाँदबारी नगरपालिका–४ का प्रसूति सेवा गराउन आएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसूति सेवा दिन नसक्ने बताएपछि समस्यामा परे । अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावमा लान नसकेको राईले दुखेसो गरे । उनी मात्र होइन, प्रसूति गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरको उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् ।

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार संस्थाले राखेको डाक्टरको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक व्यवस्थापनका लागि अनुरोध गरिएको तर हालसम्म समस्या समाधान नभएको बताए । यता, अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवा गराउने चिकित्सक चाँडै व्यवस्थापन गर्ने बताए । प्रसूति सेवाको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा समितिको बैठक राखेर चाँडै समस्या हल गर्ने अध्यक्ष शाक्यले बताए । प्रसूति सेवाका चिकित्सक व्यवस्थापन गर्न नसक्दा अस्पतालमा पटक–पटक प्रसूति सेवा प्रभावित हुने गरेको छ । चिकित्सक नभएपछि २४सैं घण्टा दिइने प्रसूति सेवा एक साताबाट ठप्प भएको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित