म २७ वर्षीय विवाहित पुरुष हुँ । सात महिनासम्म यौनसम्पर्क गर्नु हुँदैन भनिन्छ, सत्य के हो ? कति महिनामा श्रीमतीसँग सम्पर्क गर्न मिल्छ ?

म २७ वर्षीय विवाहित पुरुष हुँ । हाम्रो तीन महिनाको बाबु छ । मेरी श्रीमती २५ वर्ष पुगिन् । हामी अब दुई–तीन वर्ष शिशु नजन्माउने योजनामा छौं । स्वास्थ्यका दृष्टिले परिवार नियोजनका लागि कुन उपाय अवलम्बन गर्नु ठीक होला ? समाजमा शिशु जन्मिएको छ–सात महिनासम्म यौनसम्पर्क गर्नु हुँदैन भनिन्छ, सत्य के हो ? कति महिनामा श्रीमतीसँग सम्पर्क गर्न मिल्छ ? के अहिले नै हामीले यौनसुख लिन सक्छौं ? मेरी श्रीमतीको स्वास्थ्य ठीक छ भने हाम्रो शिशु नर्मल तरिकाले जन्मिएको हो ।
– र.

आमा बन्नु आफैंमा नारी यौनिकताको एक उत्कृष्ट अभिव्यक्ति हो, त्यसैगरीे पिता हुनु पनि । यौनको परिणतिका रूपमा शिशु जन्मन्छ । यो वंश परम्पराका लागि आवश्यक अनि प्रकृति निर्देशित कुरा हो । यो सृष्टिसँग सम्बन्धित कुरा पनि हो ।

शिशुको जन्मपछिको असर कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा भनौं यौन क्रियाकलापमा नकारात्मक प्रभाव परिरहेको हुन सक्छ । महिलामा शारीरिक रूपमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ । शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मिएका सुरुका महिनाहरू तनावमुक्त भने हुँदैनन् । यतिबेला आफैंमा बाझिने किसिमका भावनाहरू आउन सक्छन् ।

नेपालमा प्राय:जसो बच्चालाई आफू सुत्ने कोठमै सुताइन्छ । बच्चा ब्युँतिएला भनेर होस् वा बच्चाको निद्रा खलबलिएला भनेर होस्, यौन क्रियाकलापमा नकारात्मक असर पर्न सक्छ । त्यसबाहेक महिलाको ध्यान बच्चाको हेरचाहमा मात्र जाँदा, श्रीमान्ले आफूलाई बेवास्ता गरेको मान्न सक्छन् । त्यसले दम्पतीबीचको सम्बन्धमै नकारात्मक असर पर्न सक्छ । नेपालमा पुरुषलाई सन्तानको हेरचाहमा संलग्न गराउने चलन नभएको हुँदा उसलाई महिलाको दु:ख र अप्ठयारो थाहा हुँदैन । गर्भ रहला कि भन्ने भयले पनि यसमा प्रभाव पार्छ ।

बच्चा जन्मिएपछि धेरै दम्पतीको मनमा प्रश्न उठ्छ, शिशु जन्मिएपछि कहिलेदेखि यौन सम्पर्क पुन: सुरु गर्न हुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला । सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि । कतिपयले ६ हप्तालाई यौनसम्पर्क शुरु गर्न सकिने समय मानेका छन् । कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिपयले चाहिँ अझ बढी समय पर्खनु उचित हुने बताएका छन् ।

विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारिरीक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्वपूर्ण कुरा हो । शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै श्रीमान्ले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए श्रीमतीलाई निकै असजिलो हुन्छ । दम्पतीले आफ्नो मनमा भएका चाहना अनि अप्ठयाराहरूलाई खुलस्त एक–अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरी त्यसको समाधान खोज्नुपर्छ । यौन क्रियाकलापमा संलग्न हुन दुवैजना तयार भएको स्थितिमा दुवैले केही समय निकाल्नुपर्छ । कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन् । तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन ।

 

के–कस्ता कुराले सहज बनाउला ?

प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन् । योनि सुख्खा भएको अनुभव छ भने, प्(थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ । यसमा केगेल कसरत पनि लाभदायक हुन्छ । यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ । यौन उत्तेजना भएको स्थितिमा गर्भावस्था भन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्छ भन्ने छैन । कोमल तरिकाले विस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ । स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसन प्रयोग गर्नुपर्छ भने असजिलो भए सम्पर्क राख्न बन्द गर्नुपर्छ ।

थकान बाधक हुनसक्छ । राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ । आफू थाक्नुभन्दा पहिले नै बच्चा सुतेको बेला यसका लागि समय निकाल्नु सहयोगी सावित हुन्छ । बच्चा सुत्नासाथ आफूले पनि केही आराम गर्दा थकान हटाउन मद्दत पुग्छ । हल्का र थोरै तर पटक पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ । बच्चा हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग मिल्छ । यतिबेला पोषणमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।

केही समय बच्चा नजन्माउने चाहना

तपाईंहरूको दुई–तीन वर्ष शिशु नजन्माउने चाहनाले मलाई खुसी तुल्याएको छ । शिशुलाई स्तनपान नगराउने धेरैजसो महिलामा शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी फर्कन सक्छ, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ । त्यसपछिका महिनावारीमा डिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शुक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना वृद्धि हुन्छ । शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मका लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ ।

अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ, तर मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अब पुरानो भैसकेको छ । स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई (डिपो) प्रयोग गर्न सकिन्छ । कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो । तपाईंले नजिकको स्वास्थ्य केन्द्रबाटै उपयुक्त साधन लिन सक्नुहुन्छ ।

साभार : saptahik.ekantipur.com

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित