स्क्रब टाइफसबाट दुईको मृत्यु

परशुराम / नेपालका विभिन्न ठाउँमा विकराल बन्दै गएको स्क्रब टाइफस रोगको सङ्क्रमण डडेल्धुरालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा पनि देखा पर्न थालेको छ ।

पहिलो पटक डडेल्धुराको अजयमेरुमा देखा परेको स्क्रब टाइफस पछिल्ला दिनहरुमा अन्य जिल्लामा पनि देखा पर्न थालेको हो । प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १३० जनाको जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको उपक्षेत्रीय अस्पतालको तथ्याङ्कमा उल्लेख छ । हालसम्म सो रोगबाट दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डडेल्धुरा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलङ्गाकी ९ वर्षीया बालिका गङ्गा पन्त रहेकी छिन् ।

भट्टको धनगढी र पन्तको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका निमित्त मेडिकल सुपरिटेनडेण्ट डा जितेन्द्र कँडेलले जानकारी दिनुभयो । यसको सङ्क्रमण बढ्दै जानथालेपछि बिरामी उपक्षेत्रीय अस्पताल पुगेर जाँच गराइरहेका छन् । पछिल्लो समय पहाडी जिल्लामा रोगको सङ्क्रमण बढ्दै गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित