करूणा जी, मेरी श्रीमतीमा यौनइच्छा छैन के गरौं ?

करुणाजी नमस्कार, म ३६ वर्षको पुरुष हुँ । मेरो बिहे भएको ६ वर्ष भयो । हाम्रो एक वर्षको प्रेम पश्चात विवाह भएको हो । विवाहपछि दुई महिनासम्म यौन सम्बन्ध निकै राम्रो थियो । हामी संयुक्त परिवारमा बस्छौं । दुई–तीन महिनापछि भने घरमा मेरो मम्मीसँग उनको केही मनमुटाव भयो । त्यसयता उनको यौनईच्छा घट्दै गएको भन्ने मैले बुझेको छु ।

शुरु शुरुमा मैले यौनेच्छा जगाउन केही कोशिश गरें, तर केही गरे पनि उनमा यौन ईच्छा जगाउन सकिनँ । हुन त उनको हरेक ईच्छालाई पूरा गर्ने प्रयास गरेको छु । तर, उनको यौन इच्छालाई पूरा गर्न नसक्दा उनले मैले गर्ने माया घटेको हो कि भनेर शंका गर्छिन् र झगडा गर्छिन् । यो समस्या बढ्दै गएपछि दुई वर्ष अगाडि सेक्सोलोजिस्ट, न्युरालोजिस्टलाई समेत भेटेँ । गत वर्ष मनोचिकित्सकलाई पनि भटें, तर पनि उनको यौन समस्यामा सुधार आएन ।

आजभोलि उनी निकै झगडा गर्छिन् र मलाई लाग्छ उनले झगडा गर्नु स्वभाविक हो र यो समस्या मेरै नै हो भन्ने लाग्छ । वास्तवमा यस समस्यालाई जसरी पनि सल्टाउन पाए हुन्थ्यो भन्ने लाग्छ । उनलाई छोड्ने ईच्छा पनि छैन । कृपया यसको उपाय बताइदिनु होला । यस समस्याका कारण म सधै चिन्तामा भइरहन्छु ।

जवाफः ‘तनावका कारण यस्तो भएको हो’

तपाईंले उल्लेख गर्नुभएका सबै विषयवस्तु अध्ययन गर्दा तपाईको घरपरिवारमा उत्पन्न भएको तनावका कारण नै तपाईंको श्रीमतीमा देखिएको यौन समस्या हो कि भन्ने बुझिन्छ । कतिपय अवस्थामा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाव, झगडा जस्ता कारणहरु यौन समस्याका कारण सुरु हुन्छन् ।

यस्तो बेलामा यौनेच्छा घट्दै जाने, आफ्नो पार्टनरप्रति धेरै अपेक्षा बढ्ने हुन्छन् । यस्तो बेला पार्टनरले गरेका हरेक गतिविधि वाक्क लाग्ने र उप्रतिको मोह घट्ने हुन सक्छ ।

तनावका कारण आफ्नो पार्टनर माथिको सम्मान घट्ने र उप्रतिको स्वीकार्यता नहुने हुँदा पनि यौन सम्बन्ध कमजोर हुन्छ । यौन सम्बन्धका बेलामा पर्याप्त मात्रामा फोर प्लेको कमीले पनि यौन ईच्छामा कमी आएको हुन सक्छ ।

तपाईले उल्लेख गरेको जस्तो समस्या सवै पुरुषमा हुने गर्दैन । कोही व्यक्तिहरुले एउटै पार्टनरसँग वर्षौ वर्षसम्म उत्तिकै र उस्तैखालको यौन चाहना भएको बताउँछन् र उनीहरुलाई एउटै पार्टनरसँग यौन सम्पर्क गर्दा मात्र धेरै आनन्द हुने बताउँछन् ।

मानव यौनिकतामा धेरै विविधता छन् र हरेक व्यक्तिको यौन चाहना फरक हुने गर्छ । यस्तै प्रकारको समस्याको बारेमा विलसन नामक मनोवत्ताले १९८१ मा पुरुषमा धेरै किसिमका अनुसन्धान गरेका थिए । उनको अध्ययनले पुरुषमा नयाँ पार्टनरसँग यौन सम्पर्कबाट जति उत्तेजना आउँछ, त्यति उत्तेजना एउटै पार्टरसँगको यौन सम्पर्कमा नआएको पाइयो ।

महिलामा पनि अनुसन्धान गरियो तर महिलामा यस्तो समस्या निकै कम भएको पाइयो । यसबाट पनि महिलाहरु पुरुष जस्तै महिलाहरु सम्बन्धमा विविधता चाहँदैनन् भन्ने बुझिन्छ ।

अब एकैछिन तपाईले सम्बन्ध नटुटोस् भन्ने चाहना राखेको हो भने आफैंले समस्या समाधान गर्न सक्ने केही विधिका बारेमा चर्चा गरौं । तपाईहरु दुबैले यौन जीवनमा विभिन्न नयाँ यौन सम्पर्कका विधिहरुको छलफल गर्न र प्रयोग गर्न सक्नुहुन्छ ।

वास्तवमा धेरै जोडीहरु जो एक अर्कासँग लामो समयसम्म यौन सम्पर्कमा सन्तुष्टि भएको बताउँछन्, उनीहरुमा नयाँ र उत्साहित यौन क्रियाकलापहरु भइरहने अनुन्धानहरुले देखाएका छन् । तपाईहरुको जीवनमा उत्साहित र उत्तेजनाको महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुन सक्छ । नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ । सम्बन्धमा ल्याएको यस्तो नयाँपनले मस्तिस्कमा आनन्द दिने रसायन पैदा हुन्छ र यौन ईच्छामा आर्कषण थपिने हुन्छ ।

तपाई आफ्नो श्रीमतीसँग केही कुरामा असन्तुष्ट हुनुहुन्छ भने उहाँसँग खुलेर कुरा राख्नुपर्ने हुन्छ । सामाजिक गतिविधि र घरमा हुने व्यवहारिक मनमुटावका कारण श्रीमतीमा भएका व्यवहारिक भिन्नतालाई नै स्वीकार्न नसकेको हो भने तपाईले आफ्नै व्यवहार प्रति सचेत हुने र यसलाई कसरी परिवर्तन गर्ने हो भन्नेमा सचेत हुनु आवश्यकता हुन्छ । कतिपय अवस्थामा पारिवारिक झैझगडाले आफ्नो हालको दाम्पत्य सम्बन्धलाई अगाडि बढाउन दिँदैन भने भविश्यमा आउन सक्ने ठूलो क्षतिलाई न्यूनीकरण गर्न समयमा नै गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।

तपाईले उल्लेख गरेअनुसार तपाईले पहिले नै धेरै विशेषज्ञहरुसँग भेटिसक्नुभएको छ र तपाईको यौन जीवनमा कुनै फरकपन आएको छैन । यसको मतलब यस समस्याको समाधानको एउटा उपाय तपाईमा भइरहेको चिन्ताको न्यूनीकरण र श्रीमतीलाई पूर्णरुपमा उहाँजस्तो हुनुहुन्छ, त्यसरी नै स्वीकार्नु हो ।

तपाईले आफ्नो दाम्पत्य जीवनलाई जोगाउने हो भने उनमा भएका केही त्रुटीलाई हृदयदेखि स्वीकार्नु र माफ गर्नु पनि हो ।

यदि माथि उल्लेखित विधिहरुले पनि काम गरेन भने तपाईले आफ्नो समस्याका बारेमा प्रतक्ष्यरुपमा मनोविदकोमा गएर परामर्श लिने निर्णय लिन जरुरी हुन्छ र आफ्नो समस्या समयमा नै पहिचान गरी सुल्झाउन जरुरी हुन्छ । साभार श्राेतः अनलाइनखबर

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित