पूर्वयौनकर्मीको आत्मसमीक्षा : पहिले भावनाले…

जीवनको उर्वर समय सबरिन्ना भालिसीले यौन पेसामा बिताइन् । उनी ‘यौन व्यवसायलाई अपराध मान्नुहुँदैन’ भन्ने अभियानमा लामो समय सक्रिय रहिन् । तर, अहिले सोचाइ फेरियो । उनी यौन व्यवसायीसँग सम्बन्ध राख्ने पुरुषहरूमाथि कानुनी कारबाही हुनुपर्ने तर्क गर्छिन् । कसरी फेरियो भालिसीको सोच ? उनको कथालाई ‘द पिम्पिङ अफ प्रोस्टिचुसन अबोल्सिङ द सेक्स वर्क मिथ’ पुस्तकका लेखक जुली बिन्डेलले उतारेका छन् । बिबिसी म्यागेजिनमा प्रकाशित भालिसीको कथा यस्तो छ:

जब सबरिना भालिसी १२ वर्षकी थिइन् । उनका बाबुले आत्महत्या गरे । आमाले अर्को बिहे गरिन् । उनको परिवार अस्ट्रेलियाबाट न्युजिल्यान्डको वेलिङ्टन सर्‍यो, यहीँबाट उनको जीवनको पीडादायी अध्याय सुरु भयो । ‘म धेरै दुखी थिएँ,’ भालिसी भन्छिन्, ‘मेरा सौतेनी बाबु उच्छृंखल थिए । मसँग कुरा गर्नका लागि कोही थिएन ।’

सबरिन्ना भालिसी :यौन व्यवसायविरोधी महिलावादी अभियन्ता
उनको सपना नृत्यंगना बन्ने थियो । त्यसका लागि स्कुलको ‘ब्रेकटाइम’मा उनी ‘ब्यालेट क्लास’ सञ्चालन गर्थिन् । यसको लोकप्रियता यति धेरै थियोे कि स्थानीय स्तरमा चर्चित नृत्य समूहका सदस्यहरूसमेत नाच सिक्न आउन थाले । तर, पैसा अभावका कारण केही महिनामै उनले आफूलाई सडकमा पाइन् । बाँच्नका लागि शरीर बेच्नुपर्ने भयो ।

भालिसी स्कुलबाट घर फर्किने क्रममा पार्कमा एक व्यक्ति भेटिए । उनले यौन सम्पर्कका लागि एक सय अमेरिकी डलरको प्रस्ताव गरे । ‘म स्कुल युनिफर्ममै थिएँ । त्यसैले त्यो मेरो उमेरको दोष थिएन,’ उनले भनिन् ।

वेलिङ्टनबाट भागेर अकल्यान्ड जान उनले यही पैसालाई प्रयोग गरिन् । तर, अकल्यान्ड जाने क्रममा उनी वाइएमसिएमा प्रहरी चेकजाँचमा परिन् । ‘म कसैलाई सहयोग माग्नका लागि होस्टेल बाहिरको फोनबुथमा थिएँ । तर, फोन व्यस्त थियो । त्यसैले पर्खिएर बसेँ,’ उनी भन्छिन्, ‘प्रहरीले रोक्यो र सोध्यो । मैले फोन प्रयोग गर्नका लागि पर्खिएर बसेको सुनाएँ । तर, प्रहरीले फोन कसैले प्रयोग गरेको छैन भन्दै कुर्न आवश्यक नभएको जवाफ फर्काए । प्रहरीलाई लागेको थियो कि उनीहरू धेरै चलाख छन् ।’

भालिसीले प्रहरीलाई सम्झाउने प्रयास गरिन् । फोन व्यस्त भएको बारम्बार बताइन् । तर, प्रहरीले मानेनन् । उनीहरूले भालिसीलाई यौनकर्मी सोचेर प्रश्न तेस्र्याइरहेका थिए । कन्डम बोकेको आशंकामा भिलासीलाई चेकजाँच गरे, किनभने वाइसिएमए कुख्यात यौन अखडा मानिने कारांगाहेपी रोडनजिक पर्छ ।

‘सांकेतिक रूपमा यो मलाई पैसा कमाउने उपाय सिकाइएको थियो । प्रहरीले डर सिर्जना गर्‍यो । तर, मैले के बुझेँ भने मसँग पैसा भएन भने सडकमा पुग्छु । पर्खाल नाघेर गरिने खुला काम यसै पनि जोखिमपूर्ण छ । म भए वा नभए पनि यस काममा कुनै फरक पर्ने छैन भन्ने बुझेँ ।’ भालिसी कारांगाहोपी रोड हुँदै गइन् । उनले एक महिलासँग यही रोडमै काम गर्ने सल्लाह मागिन् ।

उनी भन्छिन्, ‘महिलाले काम गर्न सक्ने दुई ठाउँ देखाइदिइन् । मलाई उनले कन्डम पनि दिइन् । यहाँ लिन सकिने आधारभूत मूल्यका विषयमा सल्लाह दिइन् । आफ्नो सेवाबापतको पैसा लिनका लागि लड्न सिकाइन् । उनी धेरै असल थिइन् । धेरै सानी थिइन् । तर, चलाखीपूर्वक यहाँ लामो समयदेखि बसेकी रहिछन् ।’

दुई वर्ष यसरी सडकमा बिताएपछि सन् १९८९ मा भालिसीले क्राइसचर्चस्थित न्युजिल्यान्ड प्रोस्टिच्युट्स कलेक्टिभ (एनजेडपिसी) भ्रमण गरिन् । ‘म केही सहयोग खोजिरहेको थिएँ, यौन व्यवसायबाट अलग हुनका लागि । तर, मलाई कन्डम मात्रै प्राप्त भइरहेको थियो ।’ एनजेडपिसीले हरेक शुक्रबार राति आयोजना गर्ने वाइन तथा चिज पार्टीमा समेत निमन्त्रणा आउन थाल्यो । ‘उनीहरू यौनकर्मीमाथि गरिने लज्जास्पद व्यवहार सबैभन्दा खराब पाटो रहेको बताउँथे । यौन पेसा पनि अन्य पेसाजस्तै सामान्य रहेको उनीहरूको भनाइ थियो,’ भालिसीले सम्झिन् ।

यस्ता कुराले आफूले गर्दै आएको कामप्रति आनन्दित हुन सघाउँथ्यो । उनी एनजेडपिसीको मसाज पार्लर संयोजक बनिन् । यौन व्यवसाय अपराध होइन, भन्ने अभियानमा लागिन् । यो व्यवसायमा आबद्ध यौनकर्मी तथा दलालसमेत अपराधी होइनन् भन्ने उनको मान्यता रह्यो । ‘मलाई लाग्थ्यो कि परिवर्तन नजिक छ । यौन अपराध होइन भन्ने मान्यता स्थापित हुँदा महिलाहरूलाई धेरै हदसम्म राम्रो हुनेछ भन्ने लागेको थियो । म धेरै रोमाञ्चित थिएँ,’ उनले सुनाइन् ।

सन् २००३ मा न्युजिल्यान्डमा यौन व्यवसायको वैधानिकता भित्रियो । ‘यौनकर्म श्रम हो, अन्य कामजस्तै, यौन व्यवसायको परिधि कुनै पनि कानुन वा ऐनसँग बाझिने छैन’ भनेर सामाजिक तथा नैतिक परिभाषालाई चुनौती दिने गरी काननमै लेखियो । यसअघि यौन व्यवसायविरुद्ध बनेका काननहरू स्वतः खारेज भए । वेश्यालय, यौनकर्मीका एजेन्ट र सडकमै हुने यौन व्यवसाय स्वतन्त्र भयो । एनजेडपिसीले यस कानुन बनेको खुसियालीमा आयोजना गरेको भव्य पार्टीमा भालिसी सहभागी भइन् ।

तर, लगत्तै उनी मर्कामा पर्न थालिन् । ‘वेश्यावृत्ति सुधार’ ऐनले वेश्यालयहरूलाई अधिकारसम्पन्न व्यवसाय बनायो । यो कानुनलाई यौन व्यवसायलाई महिलाको सबैभन्दा सुरक्षित विकल्पसमेत भनियो । तर, भालिसी यो कानुनलाई विध्वंश मान्छिन् । दलाल र ग्राहकहरूले मात्रै यो कानुनको फाइदा लिएको उनको बुझाइ छ ।

‘मैले यो कानुनले महिलाहरूलाई थप शक्ति र अधिकार दिन्छ भन्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘तर, छिट्टै महसुस गरेँ । यो त उल्टो रहेछ ।’ यस कानुनको एउटा समस्या भनेको वेश्यालयका सञ्चालकहरूले ग्राहकसँग ‘अल इन्क्लुसिभ’ डिल गर्ने भए । ग्राहकहरूले निश्चित रकम बुझाएपछि महिलासँग जे चाह्यो, त्यो गर्न पाउने भए ।

‘हामीसँग एउटा बाचा के गरिएको थियो भने अल इन्क्लुसिभ डिल हुने छैन,’ भालिसीले भनिन्, ‘किनभने यसको अर्थ महिलाले यौन सेवा दिएबापत आफैँ आफ्नो मूल्य निर्धारण गर्न पाउने छैनन् । यस्तो नभएको भए यौन व्यवसायको वैधीकरणबाट सम्भावित फाइदा हुने थियो।’

४० वर्षको उमेरमा भालिसीले वेलिङ्टनको एक वेश्यालयमा जागिर खान प्रस्ताव राखिन् । त्यसपछि उनी स्तब्ध भइन् । ‘पहिलो सिफ्टका दौरान मैले एउटा महिला आफ्नो कामबाट फर्किएको देखेँ । उनीमाथि आक्रमण भएको थियो । उनी रुँदै थिइन् । बोल्न सक्ने अवस्थामा थिइनन् । तर, रिसेप्सनिस्टले उल्टै उनलाई झर्किएर काममा फर्किन निर्देशन दिइरहेकी थिइन् । मैले उनको हात समातेँ र त्यहाँबाट हिडेँ,’ उनले भनिन् ।

केही समयपछि उनले वेलिङ्टनस्थित एनजेडपिसीमा उजुरी गरिन् । आफूले प्रत्यक्ष देखेका कुरा सुनाइन् । तर, सुनुवाइ भएन । त्यसपछि उनले यो संस्थासँगको आबद्धता नै छाडिन् । आफ्नो यात्रा दास बन्ने दिशामा छ भन्ने हेक्का उनलाई बल्ल भयो । संस्था छाडेसँगै उनले यो यात्राबाट मुक्ति पाइन् ।

यतिवेलासम्म यो संस्था मात्रै उनको सहयोगका लागि उभिने संस्था थियो । एउटा यस्तो ठाउँ, जहाँ उनलाई यौन व्यवसायी भनेर कसैले फरक व्यवहार गरेन । उनी स्वयंसेवीका रूपमा यहाँ कार्यरत थिइन् । ‘एनजेडपिसीमा मेरो एउटा काम मिडिया क्लिपिङहरू राख्ने थियो । मैले त्यहाँ एउटा कुरा पढेको थिएँ । कसैले आँसु झारेको छ, तर थाहा छैन किन ? र, यस्तो भावनाका विषयमा त्यतिवेलासम्म थाहा हुने छैन, जतिवेलासम्म उनीहरू यौन व्यवसायबाट बाहिर हुने छैनन्,’ उनले भनिन्, ‘म वर्षौंसम्म यस्ता विषयमा सोचिरहन्थेँ । म किन यस्तो महसुस गर्छु भन्ने पनि थाहा भएन । यस्तो पढेपछि मलाई महसुस भएको थियो, त्यो व्यक्ति म आफैँ हुँ ।’

भालिसीसामु पछाडि फर्किने बाटो थिएन । उनले सन् २०११ मा यौन पेसा छाडिन् । त्यसपछि अस्टे«लियाको क्विन्स्ल्यान्डस्थित गोल्डकोस्ट सरिन् । नयाँ जीवन र नयाँ काम खोज्दै नयाँ देश रोजे पनि उनको मनमा उत्साह पलाएन । उनी द्विविधा र तनावमा परिन् । नयाँ छिमेकीले वेभक्याम सेक्समार्फत उनलाई यस व्यवसायमा फेरि जोड्ने प्रयास गरे । उनले विनम्रतापूर्वक प्रस्ताव लत्याइन् । ‘मलाई यस्तो लाग्थ्यो कि, मेरो निधारमै स्ट्याम्प ठोकिएको छ । कसरी ती छिमेकीले मलाई नै प्रस्ताव गरे ? त्यसपछि मैले थाहा पाएँ, महिला हुनु नै त्यसको एक मात्र कारण थियो,’ भालिसी भन्छिन् । प्रस्ताव अस्वीकार गरेपछि छिमेकीले जहिले भेट्थे, त्यतिवेला भालिसीमाथि अपमानजनक शब्दहरूको वर्षा गर्थे ।

भालिसीले अनलाइनमा विभिन्न महिलालाई भेट्न थालिन् । त्यस्ता महिला, जो यौन व्यवसाय वैधानिकताको विरोधमा छन् । उनीहरू दास बन्न छाडेका छन् । भालिसीले ‘अस्ट्रेलियन र्‍याडिकल फेमिनिस्ट’ नामक एक समूह गठन गरिन् । त्यसको केही समयमै उनले गत वर्ष अस्ट्रेलियाको मेलवर्नमा यौन पेसाबाट मुक्ति खोज्ने उद्देश्यका साथ गरिएको पहिलो सम्मेलनमा भाग लिइन् । अस्टे«लिया त्यस्तो देश हो, जहाँका अहिले धेरै राज्यमा वेश्यालयले वैधता पाएका छन् ।

मेलवर्नमा पनि सन् १९८० को दशकपछि कानुनी रूपमै थुप्रै वेश्यालय खुलेका छन् । यहाँ वेश्यालयलाई कानुनी मान्यता दिनुपर्ने आवाज जति चर्को रूपमा उठेको छ, दिनुहुँदैन भन्ने अभियान पनि बढ्दो छ ।

यौन व्यवसायविरोधी महिलावादी अभियन्ता बनेपछि भालिसी आफ्नो विगतका विषयमा खुलेर भन्न सक्ने भएकी छिन् । उनी यस अवस्थालाई आफ्नो जीवनको नयाँ सुरुवात भन्छिन् । ‘म पहिले भावनाले बहकिएर चलेँ, त्यसपछि शरीरले र अन्त्यमा बौद्धिकताले’ उनी भन्छिन् । बिभिन्न अनलाइन

प्रतिक्रिया

सम्बन्धित