पखालाबाट मृत्यु भएका परिवारलाई रु एक लाख दिइने

बर्दिवास / प्रदेश नं. २ सरकारले पखालाबाट मृत्यु भएका महोत्तरीका दुई जना परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने भएको छ । असोज २ गते शुरु भएर दुई साताभन्दा बढी पखालाको प्रकोप चलेको जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्हीका मुस्लिम बस्तीका दुई जना मृतकका परिवारलाई प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रु एक÷एक लाख राहत उपलब्ध गराइने घोषणा गर्नुभएको हो ।

सो बस्तीमा एक धार्मिक कार्यक्रमका लागि आज पुग्नुभएका उहाँले दुवै मृतकका परिवारलाई भेटेर राहत दिइने बताउनुभयो । पखालाको प्रकोपबाट चार वर्षीया बालिका खुश्वु खातुन र ४० वर्षीया वृद्धा अइसा खातुनको मृत्यु भएको थियो । दूषित पानीकै कारण पूरै बस्तीमा पखालाको प्रकोप फैलिएकाले अब स्वच्छ खानेपानीको प्रबन्ध गरिनुपर्नेमा जोड दिदैं उहाँले स्वच्छ खानेपानीको प्रबन्धका लागि तुरुन्त व्यवस्था गर्न जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलाई निर्देशन दिनुभयो ।

“आपूmले सक्ने काम नगरपालिकाबाटै र नसक्ने प्रदेश सरकारसँग माग गर्नुहोस्, प्रदेश सरकार तत्काल स्वच्छ खानेपानीको व्यवस्थामा जुट्नेछ”, मुख्यमन्त्री राउतले भन्नुभयो ।
पहिले खेतमा मारिएका भुरा माछा खाएर प्रकोप फैलिएको भनिए पनि पछि सो बस्तीमा खान प्रयोग गरिने चापाकलको पानीको नमूना राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गरिँदा ‘इकोलाई र क्लोरीफर्म’ नामक दिसाका किटाणु फेला परेपछि प्रकोपका कारण खानेपानी रहेको पुष्टि भएको थियो । जम्मा ३०० घरधुरी रहेका सो बस्तीका २५० भन्दाबढी पखालाले प्रभावित भएका थिए ।

बस्तीमा खान प्रयोग गरिँदै आइएको पानी १०० फिट गहिराइको मात्र भएकाले दूषित भएको स्वास्थ्य विज्ञले बताएका छन् । त्यसैले अब बस्तीमा २०० फिटभन्दा गहिरोको पानी प्रयोग गरिन चापाकल जडान गरिने जलेश्वर नगरपालिकाले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित