मोरङका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्यो

मोरङ / मौसम बद्लिन लाग्दा मोरङका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेर गएको छ । स्वास्थ्य परीक्षण र उपचारका लागि आउने मौसमी बिरामीको संख्या ह्वात्तै बढेको हो । सरकारी तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप अत्यधिक भएपछि उपचारमा समस्या उत्पन्न हुन थालेको छ । केही दिन यता बिरामीको चाप धान्न कठिन भइरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । कतिपय स्वास्थ्य संस्थाले वैकल्पीक अस्थायी शैया थप गरेर बिरामीको उपचार गर्न थालेका छन् । स्वास्थ्य संस्थामा भाइरल फिवर, दम, रुघाखोकी, निमोनिया, ज्वरो लगायतका बिरामीको संख्या बढेको हो । चिकित्सकले मौसम परिवर्तन हुन खोज्दै गर्दा स्वास्थ्य संस्था मौसमी बिरामीले भरिभराउ हुन थालेको जानकारी दिएका छन् ।

विराटनगरका नोवेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल, विराट नर्सिङ होम, लाईफ गार्ड, गोल्डेन, न्युरो लगायतका अस्पतालमा बिरामीको चाप अत्यधिक छ । कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले नियमित उपचार र स्वास्थ्य परीक्षणमा आउने मौसमी बिरामीको संख्या बढेको बताए । उनका अुनसार मेडिकल विभाग, बहिरंग विभाग र आकस्मिक कक्षमा बिरामीको संख्यामा बृद्धि भएको हो ।

पहाडी जिल्ला र साना स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रेफर गरिएका बिरामी समेत उपचारका लागि थपिने गर्दा ठूला स्वास्थ्य संस्थाहरुमा चाप बढी देखिएको उनको भनाइ छ । पोखरेलले उपलब्ध स्रोत र साधनको प्रयोग गरेर चिकित्सकहरु बिरामीको उपचारमा सक्रिय रहेको जानकारी दिए । उनका अनुसार कोसी अस्पतालमा उपचार र स्वास्थ्य परीक्षणका लागि यस अघि एक हजारको हाराहारीमा बिरामी आउने गरेका थिए । अहिले दैनिक आउने बिरामीको संख्या बढेर एक हजार पाँच सय बढी पुगेको जानकारी पोखरेलले दिए ।

नोवेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार यस अघि दैनिक एक हजारको संख्यामा उपचारका लागि बहिरंग विभागमा आउने बिरामीको संख्या बढेर लगभग दुई हजारको हाराहारीमा पुगेको छ । उनका अनुसार बिरामी मध्ये सबै भन्दा बढी संख्या बालबालिका र बृद्धबृद्धाको रहेको छ ।

बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालले अहिले दुबै खाले मौसमको समिश्रण भएको अवस्थामा बालबालिकामा छालाको एलर्जी, निमोनिया र रुघाखोकीको समस्या बढी देखिएको जानकारी दिए । ‘अहिले धेरै गर्मी पनि छैन । धेरै चिसो पनि भइसकेको छैन,’ उनले भने, ‘अत्यधिक भइरहेको गर्मी क्रमस घट्दै गएर चिसो मौसम सुरु हुँदै जाँदा त्यसले बालबालिकामा असर पु¥याउँछ । बालबालिकालाई उपयुक्त वातावरणमा उचित रेखदेख र स्याहारसुसार गर्नु नै उत्तम हुन्छ ।’

पूर्वाञ्चलमा एक सय तीनवटा नर्सिङ होम तथा अस्पताल समेतका निजी स्वास्थ्य संस्था र उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र अञ्चल अस्पताल समेत गरेर नौ सय २६ सरकारी स्वास्थ्य संस्था छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण र उपचारका लागि आउनेको संख्या केही दिन यता बढेर गएको छ । दैनिक सय जना विरामी बहिरंग विभागमा आउने गरेका स्वास्थ्य संस्थामा पछिल्लो समयमा आएर एक सय ५० बढी बिरामी स्वास्थ्य परीक्षण र उपचारका लागि आउन थालेको निर्देशनालयले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित