चार महिनादेखि तलब नपाएका काज शिक्षकले लगाए ताला

विराटनगर  / विराटनगर महानगरपालिका भित्र कार्यरत काज शिक्षकहरु साउन महिनादेखि तलब नपाएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल शिक्षक महासंघसहित शिक्षकसम्वद्ध संघसंगठनहरुको शिक्षा विकास तथा समन्वय इकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । आइतबार विराटनगरमा बसेको संयुक्त बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । उनीहरुले विराटनगर महानगरपालिकाले चार महिनादेखि तलव सुविधा नदिएको भन्दै ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको जनाएका छन् ।

विराटनगर महानगरपालिकाका सामुदायिक विद्यालयमा काजमा कार्यरत १९ जना शिक्षक शिक्षिकाहरुले तलब सुविधा नपाएको नेपाल शिक्षक महासंघ विराटनगर नगरसमितिका अध्यक्ष वेदुकुमार खतिवडाले बताए । समन्वय इकाईमा तालाबन्दीपछि उनीहरुले विराटनगर महानगरपालिकामा धर्ना समेत दिएका छन् ।

मंगलबारसम्म पनि तलब निकासा नगरिए बुधबारदेखि महानगरपालिकामा अनिश्चितकालिन धर्ना र घेराउ गर्ने घोषणा शिक्षकहरुले गरेका छन् । शिक्षकहरुले आपूmहरुलाई खटाइएको विद्यालयमा शिक्षण गरिरहे पनि समन्वय इकाई र महानगरपालिकाले गैरजिम्मेवारपूर्ण व्यवहार गरेर तलव निकासा रोकेको आरोप लगाएका छन् । उनीहरुले शिक्षकहरुको खाइपाई आएको तलबभत्ता रोकिनु दुखद भएको बताए ।

महानगरपालिकाले समन्वय इकाईबाटै शिक्षक कर्मचारीको अद्यावधिक अभिलेख प्राप्त नभएका कारण तलव माग गर्न नसकिएको जवाफ दिंदै आएको छ । समन्वय इकाईले कार्यरत विद्यालयबाटै तलव भत्ता लगायतका सुविधा पाउने गरी काजमा खटाइएका शिक्षकको विवरण स्थानीय तह र माथिल्लो निकायमा नपठाई विना कारण आलटाल गरिरहेको शिक्षकहरुले आरोप लगाए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित