मुटु रोगीलाई लक्षित गर्दै ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर चलाईने

ताप्लेजुङ / मुटु रोग सहितका जटिल रोगहरुको जाँच तथा उपचारका लागि ताप्लेजुङमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी कार्तिक १६ र १७ गते सेभ द हार्ट नामक संस्थाको प्राविधिक सहयोगमा सदरमुकाम फुङलिङमा शिविर आयोजना तथा सञ्चालन हुने भएको हो । शिविरमा मुटु रोग, स्त्री रोग, हाडजोर्नी लगायतका विशेषज्ञ डाक्टरको उपस्थितीमा निशुल्क चेकजाँच तथा उपचार सेवा प्रवाह हुने बताईएको छ । यस्तै मुटु रोग सम्वन्धि ईटालीका डाक्टर तथा विशेषज्ञ समेत शिविरमा ल्याईने छ ।

शिविर बारे जानकारी दिन आईतबार ताप्लेजुङमा आयोजित पत्रकार सम्मेलनमा ताप्लेजुङ निशुल्क स्वास्थ्य शिविर समन्वय समितिका संयोजक अग्नी पौडेलले मुटु, हाडजोर्नी, स्त्री रोगका जटिल प्रकृतिका विरामीलाई काठमाण्डौमा नै लगेर उपचार गरिने बताउनुभएको छ । यसरी काठमाण्डौमा लगेर उपचार गर्नु पर्ने अवस्थाका विरामी र विरामी कुरुवाको आउने जाने लगायत सम्पुर्ण खर्च आयोजकले नै बेहोर्ने पौडेलको भनाई छ । शिविरलाई व्यवस्थित गर्न विभिन्न समिति तथा उप समितिहरु बनाईएका छन् ।

ग्रामिण क्षेत्रमा रहेका असहाय तथा न्युन आय स्तर भएकालाई सहयोग पुगोस भन्ने उद्धेश्यले शिविरको आयोजना गरिएको बताईएको छ । शिविर आयोजना गर्न सांसद योगेश भट्टराईले विशेष पहल गर्नु भएको बताईएको छ । शिविरलाई व्यवस्थित गर्नका लागि जिल्ला समन्वय समितिका सभापति धनेन्द्र मादेनको संयोजकत्वमा मुल समारोह समिति बनाईएको छ भने प्रचार प्रसार, आवास व्यवस्थापन, शिविर स्थल व्यवस्थापन लगायतका उप समितिहरु बनाईएको आयोजकले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित