दुव्र्यवहारको उजुरीपछि जनता क्याम्पसका गार्ड समातिए, क्याम्पस प्रशासन भन्छ, ‘आरोप झुटो हो’

इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा कार्यरत एक महिलाले आफूमाथि दुव्र्यवहार भएको उजुरी गरेकी छिन् । उजुरीका आधारमा सुरक्षा गार्ड देवेन्द्र दाहाललाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसभित्र सञ्चालनमा रहेको क्यान्टिनमा भाडा माझ्ने एक महिला गत भदौ २५ गते बिहान ५ बजे क्याम्पस पुगेकी थिइन् । अघिल्लो दिनको जुठो भाँडा माझ्न त्यहाँ पुगेकी ती महिलालले गेट खोल्न आग्रह गरेपछि सुरक्षा गार्ड दाहालले गेट खोल्ने क्रममा हात समातेको ती महिलाको आरोप छ ।

‘घटनाको विषयमा ती दिदीले गुनासो गरेपछि हामीले यो विषयमा क्याम्पस प्रशासनलाई जानकारी गराएर दुई–तीन पटक छलफलमा बस्यौं,’ क्यान्टिन सञ्चालक होमनाथ धमलाले भने, ‘तर क्याम्पसले कारवाही गर्छौं भनेर आलटाल गरिरह्यो ।’ त्यसपछि प्रहरीसम्म घटना पुगेको उनले जानकारी दिए । लामो समय बितिसक्दा पनि कारवाही नभएपछि महिलाले उजुरी दिन्छु सहयोग गर्नुहोस् भनेपछि आफूहरुले उजुरीका लागि प्रहरी कार्यालयमा सहयोग गरेको धमलाले जानकारी दिए । उजुरीपछि विहीबार उनी पक्राउ परेका थिए ।

दुव्र्यहार गर्नेलाई जोगाउन क्यान्टिनमा नेविसंघको ताला

यता उजुरीको भोलिपल्ट स्थानिय नेपाल विद्यार्थी संघसम्बद्ध विद्यार्थीहरुसमेतको सहभागितामा क्यान्टिनमा ताला लागेको छ । ताला लागेपछि विद्यार्थीहरुले क्यान्टिन प्रयोग गर्न पाएनन् । स्वतन्त्र विद्यार्थीहरुको समुह भनेर ताला लगाइएपनि नियोजित रुपमा नेविसंघले ताला लगाएको क्यान्टिन सञ्चालक धमलाको आरोप छ । क्यान्टिनको खाजा गुणस्तरीय नभएको भन्दै विद्यार्थीहरुले ताला लगाएका छन् ।

तर तालाबन्दी महिलाको घटनासँग जोडिएको उनीहरुको भनाई छ । ‘सुरक्षा गार्डलाई किन बचाउन खोजियो, हामीले थाहा पाएका छैनौं,’ उनले भने, ‘विषय डाइभर्ट गरेर क्यान्टिन सञ्चालनमै अवरोध सृजना गर्न खोजिएको छ ।’

घटना काल्पनिक होः नेविसंघ

यता क्याम्पसको नेविसंघ इकाइ समितिका पूर्व अध्यक्ष प्रमोद भट्टराईका अनुसार तालाबन्दीमा आफ्नो संगठनको नाम जबरजस्ती मुछिएको हो । उनले महिलामाथि हिंसासमेत नभएको र सुरक्षा गार्डलाई हटाउन प्रपञ्च रचिएको दावी गरे । उनले भने, ‘सिसिटिभी फुटेज छ भनेर हौवा फैलाइएको छ, तालाबन्दी भयो भनेर फोटोसेसन गरिएको छ ।’यता क्याम्पस प्रशासनले समेत सुरक्षा गार्डसँगको व्यक्तिगत रिसइबीका कारण उनलाई फँसाउन खोजिएको हुनसक्ने जनाएको छ । क्याम्पसका प्रिन्सिपल भोजराज श्रेष्ठले क्यान्टिनमा सञ्चालकहरु आफैले ताला लगाउन लगाएकोसमेत आरोप लगाए ।

‘पहिले सोध्दा केही भएको होइन भन्ने, अहिले रुने कराउने नाटक गर्ने ?’ उनले भने, ‘केही भएको हो भने लिखित उजुरी आएको भए र प्रमाण भेटिएको भए हामी कारवाही गर्न पछि पर्दैनथ्यौं ।’ उनले सिसिटीभी फुटेजमा केही नदेखिएको दावी गरे । ‘मैले नियतवश त्यही समयको फुटेज गायब बनाएको रहेछु भने कारवाही भोग्न तयार छु,’ उनले भने, ‘१५ दिनपछि फुटेज आफै डिलिट भयो ।’

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित