सामुदायिक वनले ग-यो क्षमता अभिवृद्धि तालिम

पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिकामा वडा नं. १० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूले क्षमता अभिवृद्धि तथा सृजनशील तालिम सुरु गरेको छ । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको हो । नगर उप प्रमुख तथा कार्यक्रम प्रमुख अतिथि यमुना विष्ट बास्तोलाले सामुदायिक वनले यसरी संचालन गर्ने कार्यक्रमले मानव विकासमा ठुलो टेवा पुग्ने बताएकी छन् । नगरमा रहेका धेरै सामुदायिक वनहरुले संचालन गर्ने सम्पूर्ण कार्यक्रममा अबका दिनमा चासो देखाउने उनले बताइन् ।

वनजंगलका गतिविधिलाई नगरसंग सहकार्य गर्न अनुरोध गर्दै उनले आगामी दिनमा सम्पूर्ण महिलाहरु पनि नेतृत्वमा आउन सक्ने क्षमता बनाउनु पर्ने बताएकी छन् । उनले नगरले पनि विकास निर्माण भन्दा पनि मानव संसाधनमा बढी कार्यक्रमहरु गर्नुपर्ने औल्याएकी छन् । सामुदायिक वन उपभोक्ता महासंघ पथरी शनिश्चरे नगर कमिटि अध्यक्ष रविन्द्र कुमार राईले वनले गरेका गतिविधिमा सम्पूर्ण उपभोक्ताहरुले नियाल्नुपर्ने बताएका छन् । सरकारी तवरबाट पनि वनले गर्ने कार्यक्रममा चासो देखाउनु पर्ने राईले बताए ।

असोज १२ गते सम्म संचालन हुने तालिमको सहजिकरण नगरका सुचना संयोजक भुपेन्द्र तिम्सिनाले गरिरहेका छन् । सामुदायिक वनले गरिवी निवारण, सामाजिक विकास, वन विकास लगाएतका शीर्षकमा बजेट विनियोजन गर्नुपर्ने वन निर्देशिका अनुसार नै गरिबी निवारण शीर्षकबाट यो शिप मूलक तालिमको आयोजना गरिएको पशुपति सामुदायिक वनका अध्यक्ष इश्वर चौहानले बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित