उदयपुर यात्राको जात्रा, सिटामोल लिन चार घण्टा पैदल

उदयपुर / केही दिनदेखि परेको वर्षातले उदयपुरका दर्जनौ सडकहरु अवरुद्ध भएका छन् । वर्षातले अधिकांश पहाडी भेगका कच्ची सडकहरू अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयलाई सदरमुकाम र स्थानीय तहका केन्द्र आउ जाउ गर्न समस्या भएको छ ।

पछिल्लो एक दशकमा गाउँ गाउँमा कच्ची सडक बने पनि अधिकांशको काम प्राविधिक इस्टीमेट विना र सानो बजेटबाट साँघुरा र घुम्तीयुक्त बनेका छन् । गाउँमा सडक पुर्याउने होडबाजीमा स्थानीयले थोरै बजेटबाट श्रमदानको भरमा निर्माण भएका सडकहरू वर्षायाममा हिलो, पहिरो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोले यातायातका साधन चल्न हम्मे पर्ने गरेको छ । प्राविधिक इस्टीमेट र निगरानी विना निर्मित यस्ता सडकलाई सामान्य वर्षाले नै भत्काउने गर्दा यातायात आवागमन बन्द हुने गरेको हो । दशै, तिहारको मुखमा बाटो अवरुद्ध हुँदा शहरबाट घर आउनेहरुले सास्ती भोग्नु परेको छ ।

वर्षा सुरु भएपछि गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग अन्तर्गतको साउने माथिको बाटो अवरुद्ध हुँदा विरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन पनि सास्ती वेहर्नु परेको छ । गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको सहायक मार्गका रुपमा रहेका फोक्सिन्टार–रसुवा–बलम्ता, रसुवा–जाँते, रानीबास–डहर–रौता–सल्ले, मुर्कुची–पुँवारे–भुट्टार, पुवाँरे–माझखर्क–बाराहा–बलम्ता खण्डका कच्ची सडकमा सवारी आवागमन रोकिन पुगेको छ ।

यता गाईघाट–मुर्कुची– नेपालटार कच्ची सडक वर्षातले विग्रेपछि यातायात ठप्प छ । त्यस्तै नेपालटार–डुम्रे–बर्रे, बेलदोभान–सिद्रे–बागखोर, खाँबु–बागखोर खण्डका कच्ची सडकमा पनि जीपसमेत गुड्न छाडेको उदयपुरगढी गाउँपालिकाका समाजसेवी बोध कुमार घिमिरे बताउँछन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गको मुर्कुची–नेपालटार सडक खण्ड अन्तर्गतको अधेरी खोलादेखि नेपालटारसम्मको बाटो अवरुद्ध हुँदा ग्रामिण भेगमा औषधि अभाव भएको छ । उक्त राजमार्ग जेडआईईसी लामा एण्ड शर्मा जे.भी.कम्पनीले खनेको बाटोमा सा–साना सवारी साधनको साथै ठूला सवारी साधन चल्न मुस्किल परेको छ । निर्माण कम्पनीले खनेको बाटोमा पहिरो जाने, छेउछाउको रुख ढलेकोले गर्दा बाटो अवरुद्ध भएर स्वास्थ्य चौकीमा सिटामोल समेत नभएको स्वास्थ्यकर्मी उर्मिला तामाङले बताए । उनका अनुसार बाटो अवरुद्ध भएपछि गाउँका स्वास्थ्य चौकीहरुमा सिटामोल समेतको अभाव हुन थालेको छ । बाटो अवरुद्ध हुँदा नेपालटारका स्थानीयहरु औषधि लिनको लागि चार घण्टा हिडेर मुर्कुची बजारसम्म आउनु पर्ने समस्या छ ।

वर्षाले कच्ची सडकका कतिपय पुरिएका ठाउँ भासिएको छ भने कतिपय ग्यावियन पर्खाल भत्कने, भासिने गरेर बाटो कामनै नलाग्ने भएको बस व्यवसायी राजन ढकाल बताउँछन् । वर्षाले स्तरोन्नति भईरहेका ठूला सडकमा पनि आउ जाउमा समस्या परेको वस व्यवसायी ढकालले बताए । निर्माणाधिन धरान–चतारा–गाईघाट–कटारी खण्डको बैकल्पिक लोकमार्गमा पुल र कल्भर्ट नबिनसकेको तथा बन्दै गरेको ठाउँमा हिलो जमेपछि यातायात संचालनमा कठिनाई भईरहेको ढकालले बताए । पहाडी भेगमा त वर्षेनी वर्षापछि सडक अवरुद्ध हुने गरेको उनले बताए । गाईघाट–फत्तेपुरसम्मको सडक पनि ठाउँ ठाउँमा भत्किएपछि यातायात आवत जावतमा समस्या निम्ताएको छ । ‘वर्षायाममा धेरैजसो सडकहरु कतै न कतै बिग्रेर यातायात अवरुद्ध हुने गरेका छन’ ढकालले भने ‘ठूलो सडक मानिएको बैकल्पिक लोकमार्गको काम पनि निर्माणाधिन भएकाले गाडी चल्न नसकने अवस्थामा पुगेको छ ।’

उदयपुर सदरमुकामसँग जोड्ने दुरदराजका यस्ता अधिकांश कच्ची सडकहरू हल्का वर्षाकै कारण अवरुद्ध हुँदा यात्रुलाई आउजाउ र सामान ढुवानी गर्न समस्या हुने गरेको स्थानीय व्यापारीहरू बताउँछन् । वर्षाले खासगरी पहाडी भेगका उदयपुरगढी, ताप्ली, रौतामाई र लिमचुङबुङ गाउँपालिका बासीलाई सदरमुकाम र बजार आउजाउ गर्न वर्षाले निकै समस्यामा पारेको छ । ती स्थानीय तहहरू भर्खरै सञ्चालनमा आएका कारण नयाँ सडक नखनिसकेको र खनिएका पुराना सडकको मर्मत सम्भार राम्रो नभएका कारण गाउँपालिकादेखि सदरमुकाम आउजाउ गर्न तथा उपभोग्य सामग्री गाउँ पुर्याउन यातायात अवरुद्ध हुँदा समस्या हुने ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए ।

ताप्ली गाउँपालिकाको उपभोग्य सामग्री खरिद गर्ने केन्द्र बजार कटारी हो । तर, कटारी–घुर्मी खण्डको शाखा बाटो भएर पुगिने ताप्ली जाने बेतीनी–लिम्पाटार–पिपलभन्ज्याङ–रुपाटारसम्मको खण्डमा आधादर्जन ठाउँमा सडक बिग्रेको छ । त्यस्तै समस्या रौतामाई, लिमिचुङबुङ र उदयपुरगढी जोड्ने सडक खण्डमा पनि रहेकाले यातायात आउजाउ अनियमित हुन पुगेको रौतामाई १ नामेटारका वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताए । जाँते–माझखर्क–पुवारे–मुर्कुची, जाँते–लाफागाउँ–रसुवा–साउने–गाईघाट र चनौटे–रसुवा–फोक्सिन्टार–साउने खण्डका सडकको पनि अवस्था नाजुक भएको यातायात व्यवसायी बिष्णु श्रेष्ठले बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित