इटहरीका विद्यालयहरुमा इटहरी चिनाउने पुस्तक पढाई हुने


इटहरी / इटहरी उपमहानगरले कक्षा १ देखि ८ सम्म छुट्टै स्थानीय पाठयक्रम वनाएर इटहरी चिनाउने पाठयपुस्तक तयार गर्ने भएको छ । इटहरी उपमहानगर शिक्षा महाशाखाको वैठकले पाठयक्रम तथा पाठयपुस्तक निर्माणका लागि समन्वय समिति गठन गरि काम थाल्ने निर्णय गरेको छ । शिक्षा महाशाखा प्रमुख भुपेन्द्र कोइरालाका अनुसार आगामी शैक्षिक शत्र देखि इटहरीका विद्यालयहरुको कक्षा १ देखि ८ सम्मको एउटा पुस्तक स्थानीयमा विषयवस्तुमा आधारित हुने छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पुस्तक तयार पारिने छ । पुस्तकमा राष्ट्रिय पाठयक्रमले समेटन नसकेका स्थानीय विषयवस्तुहरु समेटिने कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कक्षा ८ पास गरेका विद्यार्थीले इटहरीलाई मज्जाले चिन्ने छन । पाठयपुस्तकमा स्थानीय भूगोल, जातजाती, आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक लगायतका बिषयवस्तु समेटिने छन ।”

दरवन्दी मिलान गरिने

स्थानीय तह भएयता इटहरीमा पहिलो पटक विद्यालयहरुमा दरवन्दी मिलान गरिने भएको छ । दरवन्दी मिलानका लागि प्रतिवेदन तयार गर्न १५ दिनको समयसिमा तोकेर शिक्षामहाशाखा प्रमुख भुपेन्द्र कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । दरवन्दी मिलान गर्दा ५० विद्यार्थी वरावर एकजना शिक्षक कायम गरिने कोइरालाले जानकारी दिनुभयो । अहिले इटहरीका विद्यालयहरुमा विद्यार्थीहरुको अनुपातमा शिक्षक संख्या वढि रहेको पाइएको छ ।

छात्रवृतिका लागि समय थप

इटहरी उपमहानगरले संस्थागत विद्यालयले अनिवार्य दिनुपर्ने १० प्रतिशत छात्रवृतिलाई कडाइका साथ कार्यावन्यन गर्ने प्रक्रिया अघि वढाएको छ । त्यसका लागि जेहेन्दार, विपन्न, दलित, गरीव विद्यार्थीले छात्रवृतिका लागि उपमहानगरको शिक्षा महाशाखामा निवेदन दिने अवधि असोज १५ गते सम्मका लागि थप गरिएको शिक्षा महाशाखाले जनाएको छ । यसअघि भदौ ३१ गते सम्मका लागि समय तोकिएको थियो । शिक्षा महाशाखामा आएका निवेदनहरु छानविन गरि संस्थागत विद्यालयहरुलाई छात्रवृतिका लागि सिफारिस गरिने वताइएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित