अचम्म: ५५ फिट लामो कपाल भएकी महिला, घुम्न जाँदा बोकिदिन्छन् श्रीमानले

कसैको कपाल घुँडासम्म पुग्यो भने आम्मै कति लामो कपाल भन्ने गरिन्छ । तर तस्वीरमा देखिएकी यी महिलाको कपाल भने पत्याइनसक्नु छ । यसले एकातिर चर्चा बटुलेको छ भने अर्कोतर्फ उनका लागि बोझ पनि ।

फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई नुहाउनकै लागि ६ बोतल स्याम्पु लाग्छ । कपाल सुकाउनै तीन दिन लाग्छ । कपाल सारै लामो भएपछि उनले २५ वर्षदेखि कोर्न छोडेकी छिन् जसका कारण लट्टा परेका छन् ।

२० किलोको कपाल उनलाई गह्रौँ भारी बनेको छ । कपालकै तौलका कारण उनको काँध दुख्ने गरेको छ ।उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले कपाल बोकेर हिड्नुपर्छ ।

लामो कपालकै कारण धेरैले उनलाई विवाह गर्न अस्वीकार गरे । तर, केही महिनाअघि उनको एक हेयर ड्रेसरसँग हिमचिम बढ्यो र तत्कालै बिहे पनि गरिन् । अहिले भने उनलाई केही राहत भएको छ, किनकि बाहिर घुम्न जाँदा श्रीमान्ले उनको कपाल बोकिदिन्छन् । कपालको भारले टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिएका छन् । तर, मन्डेला भने कपाल काट्न चाहन्नन् । यही लामो कपालका कारण उनको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता छ । यसबाहेक उनको पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत बनेको छ । उनले हेयर प्रोडक्ट एन्ड एक्सेसरिजको विज्ञापनमा मोडलिङ गर्छिन् र लाखौँ डलर कमाउँछिन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित