समस्यैसमस्या संखुवासभा जिल्ला अस्पतालमा

संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा विभिन्न समस्या माथि समस्या देखिन थालेको छ । पटक पटकको समस्याले जिल्ला अस्पताल खाँदबारी चरम समस्यामा पुगेको छ । जिल्ला अस्पतालमा कहिले कर्मचारी बिचमा मनमुटाव, हाकीम कर्मचारी कुटपिट, उपचारमा लापरबाही, अस्पताल क्वाटरमा कर्मचारी बाहेकका मनोमानी, महिनौंसम्म औषधि अभाव लगायत समस्याले पटकपटक विवाद हुँदै आएको छ । केही दिन अघि मात्र जिल्ला अस्पतालमा दुई महिना देखि नाभी मलम अभाव भएको समाचार विभिन्न सञ्चार माध्यमले प्रशारण र प्रकाशन गरेको थियो । हरेक स्वास्थ्य संस्थामा निशुल्क पाइने नाभी मलमको समेत अभाव भएको जिल्ला अस्पतालमा कस्तो किसिमको स्वास्थ्योपचार होला भन्ने जिल्ला बासीलाई चिन्ता जाग्न थालेको छ ।

यसै विच केही दिनदेखि निरन्तर परेको पानीले जिल्ला अस्पतालका इमर्जेन्सी सेवा कक्ष, कर्मचारी आराम कक्ष लगायतका स्थानहरुमा पानी चुहिए पछि समस्या भएको छ । एक वर्ष अघिदेखि अस्पतालका महत्वपूर्ण कक्षहरुमा पानी चुहिने गरे पनि हाल सम्म मर्मत हुन सकेको छैन । अस्पतालका कर्मचारीले आप्mनो कार्यकक्षमा पानी चुहिएर समस्या भएको भन्दै समस्या सुल्झाउन विगत ६ महिना देखि अस्पताल प्रशासन र व्यवस्थापनलाई पटकपटक माग राखेका थिए । तर अहिलेसम्म भवन मर्मतमा अस्पतालले वेवास्ता गरेपछि कर्मचारीहरु पानी पर्दा छाता आढेर बिरामीको सेवा गरिरहेका छन् । पानी परेपछी अस्पताल भित्र पानी चुहिएका स्थानमा बाल्टी, आरी लगायतका सामाग्री राखेर पानी थाप्नु पर्ने बाध्यता छ । अस्पतालका कर्मचारी, बिरामी र बिरामीका आफन्त पानी चुहिएको स्थान वरपर हिँडडुल गर्न समेत समस्या भएको बताउँछन् ।

निमित्त अस्पताल प्रमुख लक्ष्मण खड्काले भने विगत वर्षमा अस्पतालका भौतिक संरचनाहरुको मर्मत तथा सम्भारमा योजनागत बजेट परेको थियो । तर यस वर्ष मर्मतका लागि बजेट नभएकोले समस्या भएको बताए ।गत चैत्र महिनामा विनित कुमार झाको अन्यत्रै सरुवा भएपछि अस्पताल प्रमुख बिहिन भएको छ । अस्पताल प्रमुख नहुँदा बजेट निकासी र दैनिक काममा समेत समस्या भएको छ । तर अब चाँडै समस्या समाधान हुने खड्काले बताए ।

तर अस्पताल प्रमुख बिहिन भएकोले सम्पूर्ण काममा समस्याएको भनेर अस्पताल प्रशासनले आलटाल गरिरहेको प्रस्ट भएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र, त्यसमा पनि जिल्ला अस्पताल खाँदबारी पहिले देखि नै विवादमा आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित