सुरक्षित गर्भपतन गराउने बढ्दै

डोटी / यहाँ वर्षेनी गर्भपतन गराउने महिलाको सङ्ख्या बढिरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीको सङ्ख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । आव ०७४÷७५ मा डोटीमा एक हजार ८९ महिलाले गर्भपतन गराएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा भूषण मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाभरीका १८ स्वास्थ्य संस्थामा महिलाले उक्त सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गत आवमा ३८३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सरकारले गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिला ह्वात्तै बढेको हो ।

नौ हप्तासम्मको गर्भ तालीमप्राप्त स्वास्थ्यकर्मीद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरी पतन गराउन मिल्ने प्रावधान रहेकामा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको सङ्ख्या अत्यधिक छ । गाउँमा सरकारी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सूचीकृत रहेका कारण नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको सङ्ख्या बढी देखिएको हो । एक वर्षमा ८७१ जनाले औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पातलको तत्थ्याङ्कमा उल्लेख छ ।

त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउने १६६ जना छन् भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किशोरी ५२ जना देखिएको छ । बाह्रदेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार जिल्ला अस्पताललाई मात्रै छ । त्यस्तै जिल्ला अस्पतालमा १२ देखि १८ हप्तासम्मको गर्भपतन गराउने व्यवस्था तथा उपकरण भएका कारण एकै महिलाले तीन पटकसम्म गर्भपतन गराउन आउने गरेको जिल्ला अस्पतालमा गर्भपतन गराउने अधिकार पाएका डा गिरीश अवस्थीले बताउनुभयो ।

“महिला र पुरुषले परिवार नियोजनका साधनको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो,” डा अवस्थीले भन्नुभयो, “पटक पटक गर्भपतन गराए ज्यान नै जोखिममा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउँछन्, कसरी सम्झाउने भनेकै मान्दैनन् ।” जिल्ला अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाबाहेकका डोटीमा रहेका कैयाँै निजी क्लिनिक तथा औषधि पसलमा गर्भपतन हुने गरेको स्थानीयवासी बताउँछन् । अवैधरुपमा गर्भ रहेको खण्डमा कतिपयले त निजी औषधि पसलबाट औषधि किनेर सेवन गर्ने गरेको दिपायलस्थित एक औषधि पसलेले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कूल पढ्ने उमेरका कलिला नानीहरु अबोर्सनको औषधि किन्न आउँछन्, नदिँदा मान्दैनन् अनि दिएर पठाउँछौँ ।”

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित