संखुवासभा जिल्ला अस्पतालमा २ महिनादेखि नाभी मलम अभाव

संखुवासभा / जिल्ला अस्पताल खाँदबारीमा नाभी मलम समेत छैन । स्वास्थ्य संस्थाहरुमा निशुल्क पाइने नाभी मलम जिल्ला अस्पतालमा अभाव हुनु लज्जासपद बनेको छ । जिल्ला अस्पताल खाँदबारीमा विगत दुई महिना देखि नाभी मलमको अभाव भएको छ । जिल्ला अस्पतालमा वार्षिक हजार जना सुत्केरी हुने गरेको अस्पतालले जनाएको छ । यहाँ दैनिक दुई जना भन्दा बढी सुत्केरी हुन्छन् । तर बच्चा जन्मिने बित्तिकै लगाइने नाभी मलम दुई महिना अघिदेखि अस्पतालमा जन्मिएका बच्चाले लाउन पाएका छैनन् ।

आइतबार जिल्ला अस्पतालमा चैनपुर ४ का सर्मिला राई सुत्केरी भइन् । तर दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मलम नलगाइएको उनका श्रीमान् मन कुमार लिम्बूले बताए । अस्पतालमा नाभी मलम नभएकाले प्रयोग गर्न नसकिएको चिकित्सकले लिम्बुलाई बताएका थिए । आइतबार नै सुत्केरी भएका सभापोखरी १ का दिपा राईले समेत बच्चालाई नाभी मलम लगाउन पाएनन् । दिपा जस्ता विगत दुई महिनामा १ सय ४५ जना सुत्केरीले बच्चालाई मलम लगाउन पाएका छैनन् ।

निमित्त स्वास्थ्य प्रमुख लक्ष्मण खड्काका अनुसार विगत वर्षहरुमा जेयसआई संस्थाले नाभी मलम उपलब्ध गराउँदै आएकोमा यस वर्षदेखि नेपाल सरकार अन्तर्गत क्षेत्र र केन्द्रले नै उपलब्ध गराउने भनीएको थिायो । तर क्षेत्र र केन्द्र मध्ये कस्ले उपलब्ध गराउने भन्ने अन्यौल भएकोले अभाव भएको हो । यसको आपुर्तिका लागि पहल भइरहेकाले चाँडै नाभी मलम उपलब्ध हुने खड्काले बताए ।

तर यतिका समयसम्म सामान्य मलम समेत व्यवस्था नहुनुमा अस्पतालले वेवास्ता गरेको बुभिन्छ । तर विगत ६ महिनादेखि अस्पतालमा कार्यालय प्रमुख नहुँदा अस्पताल प्रशासन, व्यवस्थापन र सञ्चालनमा समेत समस्या भएको छ । चैत्र महिनामा विनित कुमार झाको अन्यत्रै सरुवा भएपछि अस्पताल प्रमुख विहिन बनेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित