त्रिवि उपकुलपतिको कार्यकक्षमा विद्यार्थीको तोडफोड

काठमाडौं / त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले उकपुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको स्थायी नियुक्तिका लागि शिक्षक छनोट परीक्षाको मिति जुधेपछि त्रिविको परीक्षा सार्न आन्दोलनमा उत्रेका विद्यार्थीले बिहीबार तोडफोड गरेका हुन् । आयोगले असोज ११, १२ र १३ गते परीक्षा निर्धारण गरेको छ ।

त्रिविको परीक्षा पनि त्यही मितिमा तय गरिएको छ । विद्यार्थीले त्रिविको परीक्षा सार्न यसअघि पनि अनुरोध गरिरहेका थिए । विद्यार्थीका मागबारे अध्ययन गर्न त्रिविले समिति पनि गठन गरेको छ । विद्यार्थीहरु नारवाजी गर्दै उपकुलपति कार्यालय परिसर पुगेका थिए ।

त्रिवि सूचना शाखाका अनुसार नारावाजी गर्नेमध्येका चारजना विद्यार्थी उपकुलपति तीर्थ खनियासँग छलफल गर्ने भन्दै उनको कार्यकक्ष गएका थिए । छलफलकै क्रममा अकस्मात विद्यार्थीहरु तोडफोडमा उत्रेका थिए । तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेका छन् । कुर्सी, दराज, सोफा र टेबलमा क्षति पुगेको त्रिविले जनाएको छ ।

तोडफोड गरेर विद्यार्थीहरु तत्काल भागेका थिए । ‘उनीहरु पूर्वतयारीका साथ आएका जस्तो देखिन्थे । परीक्षा सार्ने कि नसार्ने विषयमा अध्ययन गर्न समि गठन भएको छ । छलफल भइरहेको बेला तोडफोड गर्नुपर्ने अवस्था आएको थिएन’, उपकुलपति खनियाँले भने । त्रिविले आफ्नो वार्षिक कार्यतालिका अनुसार परीक्षाको मिति तय गरेकोले शिक्षक सेवा आयोगको परीक्षासंग जुध्नेबारे जानकारी नभएको त्रिविले जनाएको छ । अन्नपूर्ण पाेस्टबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित