भूकम्पमा २२ घण्टापछि सकुशल उद्धार गरिएका अवाललाई निःशुल्क शिक्षा

गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पमा परी २२ घण्टापछि सकुशल उद्धार गरिएका भक्तपुर मूलढोकाका सोनिस अवाललाई सेनाले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । नेपाली सेनाको तर्फबाट शैक्षिकवृत्ति अन्तर्गत कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा पढाउन ‘प्रधानसेनापति प्राकृतिक प्रकोप राहत कोष’ बाट वार्षिक ५० हजार उपलब्ध गराइनेछ

।अवाललाई कक्षा ६ देखि भने सैनिक आवासीय महाविद्यालय भक्तपुरमा निःशुल्क अध्ययनको व्यवस्था मिलाउने सैनिक कल्याणकारी निर्देशक सहायकरथी भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच, कोषद्वारा सञ्चालित निकायमा हाल एक हजार ५१६ शिक्षक र एक हजार ४२६ कर्मचारी गैह्र सैनिक रहेको जनाइएको छ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट हालसम्म एक हजार गैह्र सैनिकले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् । कल्याणकारी कोषबाट सञ्चालित संस्थामा गैह्र सैनिकका लागि प्रदान गरिएको सेवा सुविधाले सैनिक र नागरिकबीचको सम्बन्ध विस्तारमा ठूलो योगदान पुगिरहेको नेपाली सेनाले जनाएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित