सबैको साझा फुलवारी बन्दै सुकुना क्याम्पस

प्रेमप्रसाद भट्टराई शिक्षा क्षेत्रमा परिचित नाम हो । विगत ४४ बर्षको लामो समयदेखि शिक्षण पेशामा आबद्ध भट्टराईले विभिन्न शैक्षिक संस्थाहरुमा शिक्षण कार्य गरेर यस क्षेत्रमा कुशल अनुभव प्राप्त गर्नु भएको छ । उहाँले एम.ए, एम.एड नेपाली तथा बि.एड अंग्रेजी तथा समाजशास्त्र विषयमा एम.ए गर्नु भएको छ ।

वि.स.२०४९ सालदेखी सुकुना बहुमुखी क्याम्पसमा कार्यरत भट्टराई हाल क्याम्पसको प्रमुख हुनुहुन्छ । उहाँ इन्द्रपुर स्रोत केन्द्रको पुर्व स्रोत व्याक्ति, शुभलक्ष्मी साकोसको निर्वतमान अध्यक्षका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ । साहित्यमा समेत विशेष रुचि राख्ने भट्टराई थाहा नै शिक्षा हो, थाहा पाउनु र थाहा दिनु नै शिक्षाको काम हो भन्ने मान्यता राख्नुहुन्छ । मिलनसार तथा बौद्धिक व्याक्तित्वका धनी एवम् सुकुना बहुमुखी क्याम्पसका प्रमुख भट्टराई संँग सुकुना क्याम्पस र शिक्षा क्षेत्र लगायका वारेमा पुर्वेली न्युजका सहकर्मी मणिराम दाहालले गरेको कुराकानीमा क्याम्पस प्रमुख भट्टराई आफना भनाईहरु यसरी व्यक्त गर्नुहुन्छ ।

वि.सं. २०४८ सालमा मानविकी तथा सामाजिक शास्त्र सङ्कायको प्रवीणता प्रमाण पत्र तह सुकुना मा.वि.बाट सुरु भएको सुकुना बहुमुखी क्याम्पस वर्तमान समयसम्म आइपुग्दा आफ्नो स्वामित्वको जमिनमा आवश्यकता अनुसारका भवनहरु निर्माण गरी सगर्व सञ्चालित छ । अहिले यहाँ बिहानी सत्रमा +२ शिक्षा र विज्ञान, स्नातकतर्फ शिक्षा (आई. सी.टी. समेत), व्यवस्थापन र मानविकी सङ्कायका विषयहरु दिवा सत्रमा स्नातक तहतर्फ विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बी.एससी. र +२ तर्फकै व्यवस्थापन, शिक्षा र मानविकीका विषयहरु र बेलुकी सत्रमा स्नातकोत्तर तहमा शिक्षा र व्यवस्थापनका कक्षाहरु सञ्चालनमा छन् । यसै गरी बिहानी, दिवा र बेलुकी सत्रका लागि विषयगत शिक्षक र आवश्यक कर्मचारीहरुको व्यवस्था पनि गरिएको छ ।

यसका अतिरिक्त क्याम्पसले विश्वविद्यालय अनुदान आयोग, नेपालबाट क्युएए (गुणस्तर विश्वसनीयता तथा प्रत्यायन) वि.सं. २०७२ साल भाद्र ३ गते नै प्राप्त गरी पुनः विश्वविद्यालय अनुदान आयोग नेपालकै एचइआरपी (उच्च शिक्षा सुधार परियोजना) मा पनि प्रवेश पाई तदनुरुप कार्य गर्दै आएको छ ।

क्याम्पसमा सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा रजत महोत्सवको भव्य कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । गुणस्तरीय शिक्षाका लागि निरन्तर लागि परिरहेको यो क्याम्पस उदारमन दाताहरुले स्थापना गर्नुभएको छात्रवृत्ति अक्षयकोष, रजत महोत्सव २०७३ का उपलक्ष्यमा चन्दा दाताहरुबाट सहयोग स्वरुप प्राप्त रकम, विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त छात्रवृत्ति कोष र क्याम्पसको मुद्दती कोष आदिबाट आफूलाई आर्थिक समृद्धिका दिशातिर अभिमुख गराइरहेको छ भने क्याम्पस गेट, कम्पाउन्डवाल, खेलमैदान, स्तरीय भवन, चमेना गृह, प्रत्येक तलामा स्वच्छ खानेपानी, साइकल स्टेन्ड र मोटर साइकल स्टेन्डको उचित व्यवस्था गरी सम्बद्ध पक्षहरुको आवश्यकतालाई पनि पूरा गरिरहेको छ ।

परिक्षा संच्चालन तथा पठन पाठन दुवैलाई सहज होस् भन्नका लागि सांसद विकास कोष र सुन्दरहरैंचा नपाको सहयोगमा छुट्टै परीक्षा हलको निर्माण गरिएको छ । नपा भित्रका सहकारी संस्थाहरु र विश्व विधालय अनुदान आयोक ,नेपालको सहयोगमा सेमिनार हलको निर्माण गरिदै छ ।यसै गरी सम्मान, स्मारक, सरस्वती मन्दिर, पुष्पवाटिका र क्याम्पसभित्र र बाहिरसमेत पक्की बाटो निर्माण गरी आफूलाई सौन्दर्यमय बनाइरहेको छ । वर्तमान समयसम्म आइपुग्दा सुकुना बहुमुखी क्याम्पस सुन्दर, शान्त र समृद्ध शैक्षिक स्थलका रुपमा सुपरिचित हुँदेै गएको छ भन्न सकिन्छ ।

उहाँका अनुसार क्याम्पसमा पढेर जानुभएका हाम्रा विद्यार्थीहरुले आफ्ना भाइबहिनी तथा आफन्त र चिनजानका अभिभावक र विद्यार्थीलाई सुकुना क्याम्पसको विशेषता, यसको भूगोल, समाज र व्यवहारका बारेमा सुनाई शान्त, सुन्दर र गुणस्तरीय शिक्षा दिने यस क्याम्पसमा नै पढ्न पढाउन र जान प्रेरित गर्छन् । हुन त यो क्याम्पस पनि विद्यार्थीहरुबाट उठाइएको शुल्कको भरमा चलेको छ तर यसले विद्यार्थीहरुबाट लिने शुल्क निजी स्तरमा सञ्चालित कलेज स्कुलहरुका तुलनामा आधाभन्दा पनि कम छ । क्याम्पसका अभिभावकहरुबाट सञ्चालित छात्रवृत्ति अक्षयकोषबाट ब्याज स्वरुप प्राप्त हुने छात्रवृत्ति, यस क्षेत्रका विविध सङ्घ, संस्था, सहकारी संस्थाहरुले स्वघोषित प्रदान गर्ने छात्रवृत्ति उदारमना व्यक्ति तथा उद्योगपतिहरुले प्रदान गर्ने छात्रवृत्ति, विद्यार्थी सङ्ख्याको ६% विद्यार्थीले पाउने शुल्क सहुलियत रकम र गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गरिने सहयोगले पनि विद्यार्थीलाई आकर्षण गरेको छ ।

शिक्षकहरुलाई आजसम्म सरकारले निर्धारण गरेको तलब दिन सकिएको छैन । तर यसबाट उहाँहरुले विद्यार्थीहरुलाई दिने ज्ञान, सीप र धारणामा कहिल्यै कमी आएको छैन । यसरी हेर्दा कर्तव्यनिष्ठ, लगनशील र दक्ष शिक्षक, यहाँको शान्तिप्रिय, सहयोगी, सामाजिक र शैक्षिक वातावरण तथा क्याम्पसको भौतिक र प्राज्ञिक उत्कृष्टता सबैको समुचित योगफल नै विद्यार्थीहरुको रोजाइको मुल विषय हो भन्न सकिन्छ । यस क्याम्पसमा अध्ययन गर्न आउनुहुने र आउनुभएका विद्यार्थीहरुले सही शैक्षिक संस्था चुन्न सकेकामा सदैव गर्व गर्छन् भन्ने यथार्थ हामीले महसुस गरेका छौं । यहाँका शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावकहरुको आपसी समझदारीपूर्ण एकता नै यसको मुख्य विशेषता हो ।

क्याम्पस एउटा शैक्षिक संस्था हो । त्यसको बाहिरी आवरण अत्यन्त सुन्दर भए पनि आन्तरिक अनुशासन र शैक्षिक गुणस्तर फितलो हुन गयो भने त्यसलाई असल शैक्षिक संस्थाका रुपमा बुझ्न सकिन्न । हाम्रो क्याम्पस भौतिक रुपमा सम्पन्न र सुन्दर छ यसले शैक्षिक पक्षमा पनि गुणस्तर फड्को मादैछ । म यस क्याम्पसको भौतिक सम्पदाको संरक्षण र गुणस्तर शिक्षाका लागि निरन्तर प्रयासरत छु । विद्यार्थीहरुका लागि थप आवश्यक खानेपानी र शौचालयको उचित व्यवस्थापनमा जोड दिएको छु ।

क्याम्पसको सरसफाइ, खेलमैदानको उपयुक्त व्यवस्थादेखि लिएर कक्षा शिक्षणको अनुगमन, विद्यार्थी अनुशासन र नियमितता, पुस्तकालयको व्यवस्थाका लागि निरन्तर जुट्नेछु । क्याम्पसको चमेना गृहलाई स्तरयुक्त सेवा र सुविधायुक्त चमेना गृहमा रुपान्तरण गर्नेछु । सुकुना क्याम्पसलाई अझै सुन्दर बनाउन कोसीस गर्नेछु । क्याम्पस एउटा साझा शैक्षिक फूलबारी हो । यहाँ म एक्लैले गर्न सक्ने काम भनेको त मेरो क्रियाशीलता, तत्परता र समन्वयात्मक भूमिका मात्र हो ।

क्याम्पस सञ्चालक समिति, परिषद सदस्यहरु, सम्पूर्ण प्राध्यापक, विद्यार्थी, कर्मचारी, अभिभावक, स्थानीय सरकार, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी र विभिन्न सङ्घ–संस्थाहरु, क्याम्पस सम्बद्ध निकायहरुको आपसी समझदारी, जिम्मेवारीबोध र उपयुक्त क्रियाकलापबाट मात्र क्याम्पसको युगानुकूल उन्नति हुन सक्छ, म सम्बद्ध पक्षहरुलाई क्याम्पसको हितका पक्षमा योगदान पु¥याउन समन्वयात्मक भूमिका निर्वाह गर्न सदैव लागि पर्नेछु । आशा छ, उहाहरु सबैबाट विगतमा झँै आगामी दिनमा पनि क्याम्पसले अझ धेरै माया, ममता, सहयोग र सद्भाव प्राप्त गर्नेछ ।

म आफु राजनीति शास्त्रको विद्यार्थी नभएकाले यहाँको आशय अनुसार मेरो जवाफ नहुन सक्छ । मैले राजनीतिलाई अत्यन्त आवश्यक क्रियाकलापका रुपमा ग्रहण गरेको छु । व्यक्ति वा जीवित वस्तुले आफूलाई आफ्नो परिवेशमा सहज समायोजन गर्नका लागि गर्ने सबै क्रियाकलापहरुको समष्टिगत स्वरुप नै राजनीति हो । यस अर्थमा बाँच्नका लागि राजनीति अपरिहार्य छ । महाकवि देवकोटाले राजनीतिलाई आफ्नो शाकुन्तल महाकाव्यको प्रथम सर्गको ३०औँ श्लोकमा ‘ठुला नीति सिकून् प्रजाहरु सिकून् सद्भक्तिको माधुरी’ भन्दै राजनीतिलाई ठूला नीतिका रुपमा प्रस्तुत गरेका छन् । राजमार्गमा प्रयुक्त राज शब्द पनि ठूलो, फराकिलो अर्थमा भएको महसुस हुन्छ ।

यस्तो ठूलो, फराकिलो, सबै आँट्ने नीति वा राजनीतिलाई मैले व्यक्तिगत रुपमा व्यावहारिक र आवश्यक नीतिका रुपमा बुझेको छु । नेपाली भाषाका शब्दकोशहरुले पनि यसलाई राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति भनेर सम्मानजनक अर्थमा ग्रहण गरेको छ । राज्य एउटा संस्था हो र शिक्षा प्रदायक निकायहरु पनि संस्था नै हुन् । यी दुवैको उपयुक्त सञ्चालनका लागि राजनीति अपरिहार्य छ । जहाँसम्म बढी वा घटीको कुरा छ, त्यो त हेर्नेको दृष्टिकोण हो, आफूमा अभाव र अरुमा पूर्णता देख्नु मानवीय स्वभाव पनि हो । जहाँसम्म राजनीतिक÷राजनैतिक प्रभावको कुरा छ, त्यो यस्ता शैक्षिक संस्थाहरुमा बढी नै हुन सक्छ किनभने यिनका सरोकारवालाहरु पनि बढी छन् । जुन क्षेत्रमा राजनैतिक प्रभाव कम हुन्छ, त्यस क्षेत्रको विकास पनि कम हुन्छ । आशा गराै, शिक्षा क्षेत्रमा परेको राजनैतिक प्रभावले नेपालको शैक्षिक इतिहासमा गुणस्तर फड्का मारोस् ।

समयले राष्ट्रका गतिविधिहरुमा लामो फड्का मारिसकेको हुँदा त्यसबेला व्यक्त गरिएका विचारसँग अहिलेका विचार फरक पनि पर्न सक्छन् । परिवर्तित सन्दर्भमा मुलुक (नेपाल)को भावी शिक्षाको स्वरुप सन्बन्धमा शिक्षाविद्हरुका विचार अलग–अलगत तर पनि ग्रहणयोग्य, विश्लेषणयोग्य र प्रयोगयोग्य हुन सक्छन् ; यहाँ म चाहिँ आफ्नो ज्ञानको क्षेत्रगत सीमालाई अङ्गीकार गरिदिन विज्ञजनहरु समक्ष अनुरोध गर्दै निम्न धारणाहरु राख्दछु ।

भौगोलिक, जातीय, सांस्कृतिक र भाषिक विविधतालाई सम्बोधन गर्ने क्षेत्रीय पाठ्यक्रम र तदनुरुप पाठ्यसामग्रीको व्यवस्था गरिनुपर्ने । सबै क्षेत्र, जात, संस्कृति र भाषालाई समान सम्मान गर्ने शिक्षा नीति र तदनुरुप सामग्री व्यवस्थापन, यसको अर्थ पाठ्यक्रम र पाठ्यपुस्तकमा विद्यार्थीहरुले आफूलाई भेटून् र अपनत्वको बोध गर्न पाऊन् । द्विभाषिक तथा आवश्यकता हेरी बहुभाषिक शिक्षण सिकाइ व्यवस्था गरी सोही अनुरुप शिक्षक तयार गरिनुपर्ने ।

माथि भनिएझैँ विविध विषयका क्षेत्रीय विशेषतायुक्त पाठ्यपुस्तकहरुका साथमा उपयुक्त छनोट र स्तरण गरी सिङ्गो राष्ट्रसँग परिचित गराउने पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्था गर्ने । सबै तहमा व्यवहारिक गणित, विज्ञान, अङ्ग्रेजी र कम्प्युटर शिक्षाको स्तरोपयुक्त शिक्षा दिने । व्यावहारिक, प्रयोगात्मक परीक्षा प्रणाली अपनाउने, विद्यार्थीलाई अनुत्तीर्ण नबनाउने उसको रुचिको विषय उसले उत्तीर्ण गरेको विषयमा अध्ययन गरी विशेषज्ञता हासिल गर्न प्रोत्साहित गर्ने । केन्द्रीय शिक्षा प्रणालीलाई विकेन्द्रीकृत शिक्षा प्रणालीमा रुपान्तरित गर्ने र तहको अन्त्यमा केन्द्रीय मान्यता प्रदान गर्ने ।

भाषा–नेपाली, अङ्ग्रेजी र मातृभाषालाई शिक्षाको माध्यम बनाई शिक्षण गर्ने मातृभाषाको मात्र छुट्टै विद्यालयको व्यवस्था नगर्ने त्यसले मातृभाषी विद्यार्थी कम लाभान्वित हुन्छन् । गणित, विज्ञान र अङ्ग्रेजी विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले पनि उच्च शिक्षा अध्ययन गर्न पाउने गरी पाठ्यक्रमको विकास गर्ने, उच्च शिक्षालाई केन्द्रीकृत प्रणाली नै उपयुक्त हुने । हरेक जिल्लामा कम्तीमा पनि एउटाका दरले खेलकुद सम्बन्धी, सङ्गीत सम्बन्धी, आरोग्य शास्त्र सम्बन्धी विद्यालयको व्यवस्थता हुनुपर्ने । नैतिक शिक्षा र संस्कृत शिक्षालाई पनि स्थान दिनुपर्ने । समय गतिशील छ । आजका शिक्षणका विषय, शिक्षण विधि, प्राज्ञिक तथा भौतिक व्यवस्थापन भोलिका लागि फिका हुन सक्लान् तर पनि सुकुना बहुमुखी क्याम्पसले आफूलाई समयानुकूल परिवर्तन गर्दै लानेछ भन्ने कुरामा म विश्वस्त छु । हाम्रो लागि शिक्षाको ज्योति बनेको सामुदायिक भावनाबाट निर्मित, सिर्जित यस क्याम्पस माथि कसैका कुदृष्टि नपरुन् । यो क्याम्पस अहिले सबैको साझा फुलवारी बन्दैछ ।

सुकुना क्याम्पस सामुदायिक क्याम्पस हो, यसको अर्थ यो सामुदायिक सम्पत्ति हो । स्थानीय शिक्षाप्रेमी, समाजसेवी महानुभावहरुबाट दानस्वरुप प्राप्त जमिन र उहाँहरुको सहयोग तथा योगदान स्वरुप प्राप्त जमिनमा यो क्याम्पस खडा हुनुले समुदायको न्यानो माया, ममता, सद्भाव र सहयोग यसले प्राप्त गरेको छ, अतः उहाँहरुको धारणा क्याम्पसप्रति स्वच्छ र सकारात्मक छ भन्ने कुरा प्रस्टै छ । यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीहरु प्रदेश न १ र २ लगायत विभिन्न जिल्ला, गाउँ र बस्तीहरुबाट छन् ।

उनीहरुलाई यस क्याम्पसले उपयुक्त र स्तरीय शिक्षा दिनसक्छ, सुरक्षा दिँदै संरक्षण गर्न सक्छ र अभिभावकहरुको सपना र आफ्नो भविष्य साकार र सुन्दर बनाउन सक्छ भन्ने दृढ विश्वास छ । उनीहरुलाई शिक्षा दिने यस क्याम्पसका गुरुहरुले दिनुभएको शिक्षा प्रति विश्वास छ । सम्पूर्ण विद्यार्थीहरु र सबै सरोकारवालाहरुको यस क्याम्पसप्रतिको दृष्टिकोण अत्यन्त सकारात्मक भएको मैले यस क्याम्पसमा २६ वर्षको शिक्षण कार्यको अनुभवमा यस्तै पाएको छु ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित