इनरुवा अस्पताल रकम घोटालामा संलग्न कर्मचारी उपर कार्वाहीको तयारी

इनरुवा। सरकारी रकम दुरुपयोगमा संलग्न इनरुवा अस्पतालका कर्मचारी उपर कार्वाहीको तयारी थालिएको छ । रकम हिनामिनामा संलग्न बिल काउण्टरका कर्मचारी उपर अस्पताल प्रशासन आन्तरिक कार्वाहीको तयारीमा जुटेको हो । हिनामिनामा संलग्न रहेकाहरु मध्ये संलग्नताका आधारमा कार्वाही गरिने अस्पतालले जनाएको छ ।

इनरुवा अस्पतालकी मेसु डा.विना शाक्यले सरकारी रकम हिनामिनामा गरिनु अपराध भएकाले संलग्न मध्ये नेतृत्वकर्ता विकेश श्रेष्ठ सहितका कर्मचारी उपर तत्काल कार्वाहीको प्रकृया चालिने बताउनु भयो । सम्वन्धित कर्मचारीबाट गल्ति भएको ठहर गरेको अस्पताल प्रशासनले काउण्टर इन्चार्ज विकेश श्रेष्ठलाई दोषी ठहर गर्दै निलम्बनको तयारी थालेको जनाएको छ । त्यसैगरी अजय प्रधानलाई समेत अस्पतालले निलम्बन गर्ने प्रकृया अघि बढाएको छ ।

अन्यको हकमा संलग्नताको विषयमा थप छानविन गरिने बताएको अस्पतालले उनिहरुका हकमा तत्कालकालागि आन्तरिक कार्वाही हुन सक्ने जनाएको छ । अस्पतालको रकम हिनामिनामा अजय प्रधान, कबिता पोदार, सरु भट्टराई र आयुषी शाक्य संलग्न रहेको भेटिएको थियो ।

अस्पतालको लेखा फाँटले दिएको जानकारी अनुसार विकेशका नाममा १० लाख र अजयको नामको ३ लाख बढी रकम अझै बक्यौता छ । अन्यले भने आफुले हिनामिना गरे बमोजिमको रकम बुझाएको इनरुवा अस्पतालले जनाएको छ । रकम बुझाएपनि सरकारी रकम दुरुपयोग गरेको पाइएकाले सबै कार्वाहीको भागिदार रहेको अस्पताल प्रशासनको ठहर छ ।

अघिल्लो वर्ष समेत रकम हिनामिना भएको र गल्ती पुनः दोहोरिनुलाई अस्पतालका माथिल्लो ओहदाका कर्मचारीको समेत संलग्नताका रुपमा हेरिएको छ । रकम हिनामिनाको विषय बाहिरिएसँगै घटनामा संलग्नलाई उन्मुक्ति दिन नहुने भन्दै स्थानीयवासी सहित सरोकारवालाहरुले दोषी उपर कार्वाहीको माग समेत गरेका छन् ।

गत आर्थिक वर्षको अन्त्यमा अस्पतालको आम्दानी र खर्च मिलानको क्रममा कर्मचारीको मनोमानी फेला परेपछि रकम हिनामिनाको विषय बाहिरिएको थियो । विकेश श्रेष्ठ सहित काण्टरमा युजर आइडी प्रयोग गर्ने कर्मचारीहरुले सेवा वापत बिरामीले तिरेको १९ लाख ३९ हजार ५ सय ५६ रुपैंया बैंक दाखिला गर्नुको साटो आफुखुशी प्रयोजनमा खर्चिएको पाइएको थियो ।

कुल आम्दानी मध्ये १९ लाख बढी रकम सम्वन्धित व्यक्तिका नाममा बक्यौता देखिएकोमा ताकेताका बाबजुत तिर्न आनाकानी गरेको पाइएपछि अस्पतालको लेखा फाँटले रकम हिनामिना सहितको विवरण सार्वजनिक गरेको थियो ।

उता रकम हिनामिनामा संलग्नताको आरोप लागेका इनरुवा अस्पतालका काउण्टर इन्चार्ज विकेश श्रेष्ठले आफु सहित सहकर्मीहरुबाट गल्ती भएको स्विकारेपनि घटना विवरण बाहिरिए जस्तो भने नभएको बताएका छन् । गल्ती स्विकार गरेको र बाँकी बक्यौता तिर्ने क्रममा रहेको बताएका श्रेष्ठले कार्वाही भोग्न तयार रहेको प्रतिकृया दिएका छन् । रकम हिनामिनाको विषय अख्तियारमा समेत पुगेकाले उक्त विषय यतिबेला सबैको चासो र चर्चाका रुपमा हेरिएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित