एमआईटी जिएसएलका सहभागीहरु ९ समुहमा आबद्धभई स्टार्टअप आईडियामा काम गर्दै

काठमाडौं / अमेरिकी विश्वविद्यालय म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलाजी (एमआईटी) ले संचालन गरिरहेको एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) मा सहभागी ३५ जना विद्यार्थीहरु विभिन्न ९ समुहमा आबद्धभई स्टार्टअफ आईडिएसन र एप विकासमा काम गरिरहेका छन् । उनीहरुले स्वास्थ्य, शिक्षा, पर्यटन, यातायात व्यवस्थापन र युटिलिटिज् लगायतका क्षेत्रलाई सम्बोधन गर्ने गरी विभिन्न विशिष्ट स्टार्टअप आईडियामा काम गरिरहेको एनसेलले जनाएको छ ।

इनोभेटिभ बुटक्यापको अवधारणा अन्र्तगत संचालित यस कार्यक्रममा विद्यार्थीहरुले स्टार्टअप सृजना गर्दा ख्याल राख्नुपर्ने विभिन्न चरणहरुका बारेमा ज्ञान हासिल गरिरहेका छन् । साथै उद्यमी बन्नका लागि के आवश्यक पर्छ र कसरी आफ्नो नविन सोचलाई व्यावसायिक अवधारणामा रुपान्तरण गर्ने देखि त्यसलाई परिस्कृत गर्दै प्रविधिमा आधारित स्टार्टअप संचालन गर्ने सम्मको कौशल पनि विकास गरिरहेका छन् ।

एनसेलका अनुसार, काठमाडौं विश्वविद्यालयका १५० विद्यार्थी तथा आल्मुनाई मध्येबाट छानिएका ३५ विद्यार्थीले एमआईटी जिएसएल कार्यक्रमको शुरुवातमा संचालित एकहप्ते आवासीय बुटक्याम्प पश्चात आफ्नो व्यवसायको अवधारणा र प्रोटोटाइप निर्माणमा काम गर्दै बजार परीक्षण गर्ने कौशल विकास गरिरहेका छन् । हाल उनीहरु प्राथमिक बजार अनुसन्धान गर्दै प्रोटोटाइप आईडियालाई प्रयोगकर्तामाझ लगेर तिनको परीक्षण गर्नुका साथै विभिन्न स्टार्टअपका संस्थापक तथा इन्जिनियरिङ्ग क्षेत्रका नेतृत्वकर्ताका गेस्ट लेक्चर सुन्दै उनीहरुको अनुभवबाट थप ज्ञान प्राप्त गर्दैछन् ।

हरेक हप्ता सम्बन्धित क्षेत्रका अतिथि वक्ताहरुले एमआईटी ग्लोबल स्टार्टअप ल्याबमा आएर एक सफल स्टार्टअप संचालनका लागि आवश्यक आफ्ना अनुभव तथा ज्ञान बाँडीरहेका छन् । विद्यार्थीहरुका अनुसार अतिथि वक्तासँगका सेसनले उनीहरुलाई आफ्नो आईडियाका संभावनाहरुका बारेमा बुझ्न थप सहयोग गरेको छ । ‘‘अतिथि वक्ताहरु एकदमै उत्साहप्रद र प्रेरणादायक हुनुहुन्छ । उहाँहरुसँगको सेसनले हामीलाई आफ्नो सोचाई फराकिलो बनाउन र स्टार्टअपको बारेमा ज्ञान बढाउन सहयोग पुर्याएको छ । आफ्ना आईडियालाई परिमार्जन गर्न हामी उहाँहरुको प्रतिक्रिया र सुझावलाई गम्भिरताकासाथ लिईरहेका छौं,’’ सहभागी विद्यार्थी पलिष्ठा श्रेष्ठले भनिन् ।

काठमाडौं विश्वविद्यालय र एनसेलको सहकार्यमा एमआईटीले नेपालमा यो कार्यक्रम संचालन गरिरहेको हो । एमआईटीका चार प्रशिक्षकहरुको प्रत्यक्ष सहजीकरणमा प्रत्येक समूहले आ–आफ्नो स्टार्टअप आईडियामा काम गरिरहेका छन् । सहभागी विद्यार्थीहरुको स्टार्टअफ आईडियाले विभिन्न सम्बन्धित क्षेत्रमा सेवा प्रवाहलाई थप परिस्कृत गर्न मद्दत गर्ने आशा राखिएको एनसेलले जनाएको छ ।

“आफ्नो प्राविधिक सिप निखारेर सम्भावित ग्राहकहरु माझ पुगी अनुसन्धान गर्दै र हामीले सुल्झाउन खोजेको समस्याका लागि सबै भन्दा राम्रो समाधान पत्ता लगाई अहिले हामी हाम्रो स्टार्टअप आईडियामा काम गरिरहेका छौं,” ट्राफिक व्यवस्थापनसँग सम्बन्धित डिजिटल उद्यमको आईडियामा काम गरिरहेको विद्यार्थी समुहका सदस्य सन्तोष थापा मगरले भने ।

प्रविधि र उद्यमशीलता सम्बन्धि वहुविषयक पाठ्यक्रम र सधै आफ्नो सपनामा प्रतिबद्ध रहीे काम गर्दै सिक्ने एमआईटीको शैली नेपालमा भित्राउने लक्ष्य लिई एमआईटीका चार प्रशिक्षकहरु सिसम भण्डारी, हेम नारायण दास चौधरी, सुरेश राजन र ज्याकी सुले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिईरहेका छन् । यस पाठ्यक्रममा विद्यार्थीहरुलाई उनीहरुको स्टार्टअप आईडिया विकासमा सहयोग गर्न, उपयोगी डिजिटल डेमोहरु बनाउन, प्रविधिमा आधारित व्यवसायका सम्भावना देखाउन र एक उद्यमी बन्नु भनेको के हो भन्ने कुराहरु सिकाउन वेब डिभलपमेन्ट, युजर ईन्टरफेस डिजाइन, मार्केट रिसर्च, टिम डेभलपमेन्ट, बिजनेश मोडल एक्जिक्युसन, पब्लिक स्पिकिङ् र आईडिया पिचिङ् लगायतका विषयहरु समावेश गरिएका छन् ।

पाठ्यक्रमले विद्यार्थीहरुलाई आफ्ना व्यावसायिक अवधारणालाई आईडिएसनको चरणबाट अगाडि बढाउनका लागि बजार अनुसन्धान लगायत अन्र्तवार्ता, अवलोकन, प्रतिक्रिया संकलन र सरकारी निकाय, निजी क्षेत्र लगायतका विशेषज्ञहरुसँग भेटघाट जस्ता क्रियाकलापहरुमा संलग्न गराउँदछ । सात हप्तासम्म संचालन हुने एमआईटी जिएसएलको अन्तिम दिन अर्थात् डेमो डेका दिनका लागि न्युनतम संभाव्य उत्पादन तयार पार्न विद्यार्थीहरुले मार्टिन ट्रष्ट सेन्टर फर एमआईटी इन्टरप्रेनरशिपका प्रबन्ध निर्देशक तथा एमआईटी जिएसएलका को—फ्याकल्टि डाईरेक्टर बिल अउलेटद्वारा प्रतिपादित ‘डिसिप्लिन्ड इन्टरपे्रनरशिप’को ‘ट्वान्टी फोर स्टेप्स् टु अ सक्सेसफुल स्टार्टअप’लाई अनुशरण गरिरहेका छन् ।

“कार्यक्रमले आईडियसन प्रक्रियाको बारेमा सिक्न र मलाई मेरो आफ्नै स्टार्टअप शुरु गर्न सुनौलो मौका प्रदान गरिहेको छ । प्रतिष्ठित विश्वविद्यालय एमआईटीका प्रशिक्षकहरुबाट सिक्दै म यहाँ उत्तम समय बिताई रहेको छु,” सहभागी मध्येका एक निखिल शाक्यले भने । उनको समुहले कार्यक्रममा सिकेका ज्ञान सदुपयोग गर्दै आफ्नो लक्षित स्टार्टअपमा काम गरिरहेका छ र बजार अनुसन्धान गर्दै आफ्नो आइडियामा निखार ल्याउदै छ ।

अर्को समुहका एक सदस्य इशान पाण्डेले उनको समुहले आफ्नो बिजनेस आइडियामा उत्साहका साथ काम गरिरहेको बताए । ‘‘हामी हाम्रो आईडियालाई बजारमा परीक्षण गर्दैछांै र धेरै सकारात्मक प्रतिक्रियाहरु पाइरहेका छौं । यसले हाम्रो आईडिया माथिको विश्वासलाई अझ बलियो बनाएको छ । हाम्रो स्टार्टअपले नेपालका साथै अन्तर्राष्ट्रिय बजार पनि पाउने आशा लिएका छौं,’’ उनले भने ।

श्रेष्ठ, थापा मगर, शाक्य र पाण्डे जस्तै सबै सम्भाव्य समुहका विद्यार्थीहरुले सक्रिय रुपमा आफ्नो प्रडक्टको विकास गर्ने, त्यसको संचालनको लागि बिजनेस मोडल बनाउने र त्यसको परीक्षण गर्ने कार्य गरिरहेका छन् । विद्यार्थीहरुले आफ्नो व्यवसायको प्रोटोटाइप विकास गरी यस कार्यक्रमको अन्तिम दिन साउन १७ गते अर्थात डेमो डेका दिन निर्णायक मण्डल समक्ष प्रस्तुत गर्नेछन् ।

एमआईटी जिएसएल कार्यक्रम एनसेलको सामाजिक उत्तरदायित्व पहल अन्तर्गत नेपाली प्रतिभाशाली युवाहरुमा प्रविधिमा आधारित उद्यमशीलताको प्रवर्धन गर्न एनसेल, एमआईटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक भइरहेको हो ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित