नौ वर्षपछि त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन !


कीर्र्तिपुर / त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ । केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत श्रावण २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो । संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागु भइसकेको छ ।
संशोधित पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्रध्याक्षको लागि ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सय बाट बढाएर ६ सय, पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी ६ सय, निरीक्षकको २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ । कम्तिमा २१ जना विद्यार्थी बराबर १ जना निरीक्षकको व्यवस्था हुनेछ । त्यस्तै परीक्षा शाखाहरुमा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँ रहेकोमा अब प्रति सुरक्षाकर्मी रु. एक सय तोकिएको छ । यसैगरी कार्यालय सहयोगीहरुको लागि ७५ रुपैयालाई वृद्धि गरी १ सय ५० रुपैया प्रतिदिन पारिश्रमिक कायम भएको छ ।
यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ । जसमा केन्द्राध्यक्षको ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ । परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा १ सय २५ रुपैयाबाट वृद्धि गरी २ सय ५० रुपैया, सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाबाट वृद्धि गरी एक सय र कार्यालय सहयोगीहरुको लागि ८० रुपैयाबाट वृद्धि गरी १ सय ६० रुपैया पारिश्रमिक कायम गरिएको जनाइएको छ । यो पारिश्रमिक वार्षिक प्रणाली अनुसारको परीक्षामा मात्र लागु हुने बताएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित