नवजात शिशुकाे हेरविचार कसरी गर्ने ?

नवजात शिशु आफ्ना बारेमा केही पनि बताउन सक्दैनन् । आफ्ना कुरा अभिव्यक्तगर्न सक्दैनन् । शिशुकाबारेमा अभिभावकलाई पनि जानकारी नहुनाले धेरै समस्या सिर्जना भएको हामीले अस्पताल भित्र देखेका छौं । त्यसैले यहाँ नवजात शिशु हेरविचारका बारेमा स्पष्ट पार्ने कोशिश गरिएको छ :

के खुवाउने ?

शिशुलाई सकेसम्म जन्मिएको आधा घन्टाभित्र स्तनपान गराउनु राम्रो हुन्छ । शिशुलाई आमाको दूधबाहेक केही खुवाउँनु हुँदैन । कतिपयले घिउ, मह खुवाउने गर्छन् । तर यो उपयुक्त मान्न सकिँदैन । शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनु पर्छ । यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन । शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ । स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारि दिनु पर्छ । यसो गर्दा शिशुले डकारेर पेट भित्रको हावा बाहिर निकाल्छ । त्यसपछि सुताइ दिनु पर्छ । शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ ।शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहारा आवश्यक पर्छ,जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ । सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनु पर्छ ।

नवजात शिशुलाई कति तापक्रममा राख्ने ?

नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्तिकम हुन्छ । जाडो मौसममा शीताङ्गहुने सम्भावना बढी हुन्छ । शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले ढाक्नु पर्छ । शिशु जन्मिएको २४ घन्टापछि मनतातो पानीले नुहाइ दिनु पर्छ । कोठाको तापक्रम न्यानो (२५ देखि २८ डिग्री सेन्टिग्रेड) हुनुपर्छ । भेन्टिलेटर खुल्ला हुनुपर्छ । शिशु सुत्ने कोठामा पंखा चलाउनु हुँदैन ।

आँखाको हेरचाह

सफा मनतातो पानीमा कपास भिजाएर शिशुका दुवै आँखा दैनिक सफा गरिदिनु पर्छ । आँखाबाट धेरै चिप्रा आए चिकित्सकको सल्लाह लिनुपर्छ । आँखामा गाजल लगाइदिने चलन हानिकारक हो । गाजलको प्रयोगले आँखा पाक्न सक्छ ।

नाभीको हेरचाह

नाभी सुख्खा तथा सफा राख्नु पर्छ । तेल तथा अन्य कुनै पदार्थ राख्नुहँदैन । कुनै कारणवश नाभीपाके अथवा वरपरका छाला रातो भए तुरुन्त चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

उमेर अनुसार लगाउनु पर्ने खोप

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको खोप महाशाखा अन्तर्गतका स्वास्थ्य संस्थाले दिने खोपहरू १ वर्षको उमेरसम्म पर्याप्त छन् । यसअन्तर्गत शिशु जन्मिएको दिनदेखि डेढ महिनाभित्र बीसीजी, डेढ महिना, साढे दुई महिना तथा साढे तीन महिनामा डीपीटी, हेपाटाइटिस बी, पोलियो तथा नौ महिना पूरा भएपछि दादुराको खोप लगाउनु पर्छ । १२ महिनामा जापनिज इन्सेफ्लाईटिसको खोप लगाउनुपर्छ । त्यसबाहेक अन्य थप खोप पनि लगाउन सकिन्छ । ती खोप पनि नीजी क्लिनिक तथा अस्पतालमा किनेर लगाउनु पर्छ । ती खोपमा एमएमआर, हेपाटाइटिस ए, चिकेनपक्स आदि पर्छन् ।

शिशुको उमेरअनुसार तौल र उचाई

शिशु जन्मदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुन सक्छ । तर ७ देखि १० दिनमा शिशुले ’बर्थ वेट’ प्राप्त गर्छ । शिशुको तौल सिस्टमेटिक ढंगबाट बढ्छ । यसलाई जान्न तथा सम्झन जरुरी छ । शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्नु पर्छ । दुई वर्षमा चार गुणा बढ्छ । शिशु जन्मदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा ७५ सेन्टिमिटर हुनु पर्छ । ३ वर्षको उमर मा ३ फीट (९० सेन्टिमिटर) हुनुपर्छ ।

चिकित्सककहाँ कहिले लाने ?

शिशुलाई ज्वरो आउनु, शीताङ्गहुनु, दूध नचुस्नु, पटक–पटक बान्ता गर्नु, छिटो–छिटो सास फेर्नु (१ मिनेटमा ६० पटकभन्दा बढी), सुस्त हुनु, कम्पन आउनु, कान पाक्नु, नाइटो वरिपरिको छाला रातो हुनु वा पिप बग्नु, हातखुट्टामा समेत पहेंलोपन आदिछ भने तुरुन्त चिकित्सक कहाँ लैजानु पर्छ । यस्तो अवस्थालाई बेवास्ता गरे शिशुको ज्यानै जान सक्छ । त्यसैले नवजात शिशुको स्वास्थ्यमा समयमै ध्यान जानु जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित