अंग्रेजी माध्यमले सुध्रिँदै संखुवासभाका सामुदायिक तथा सरकारी विद्यालय

संखुवासभा / सामुदायिक तथा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्कीदै गएको बेला संखुवासभाका केही विद्यालय सुधारहुँदै गएको छ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको अंग्रेजी विषयमा कम्जोर हुँदै गएपछि यहाँका विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको छ ।

पाँचखपन नगरपालिका ८ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयले २०६९ सालदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको थियो । त्यसयता विद्यार्थीको शैक्षिक अवस्थामा सुधार भएको र उत्तीर्ण प्रतिशत समेत बढेको प्रधानाध्यापक थिर बहादुर राईले बताए । उनले भने ०६९ सालमा नर्सरी देखि २ कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको थियो, अहिले कक्षा ५ सम्म सञ्चालन गरिएको छ । राईले भने कक्षा ५ मा पढ्ने विद्यार्थीले ९ कक्षासम्मका अंग्रेजी किताब पढ्न र लेख्न सक्छन् ।

अहिले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रोजेक्टर मार्फत मल्टिमिडिया प्रणालीसमेत सुरु गरिएको छ । विद्यार्थीहरु अंग्रेजी शिक्षाका लागि शहर केन्द्रित भइरहेको र विद्यार्थी संख्या कम भएर विद्यालय पनि मर्ज हुने अवस्थामा पुगेको छ, तर यहाँ अन्यत्र पढ्न गएका विद्यार्थीको समेत पुनरागमन भएको छ, राईले भने । गुणस्तरीय शिक्षाका लागि सदरमुकाम खाँदबारी र चैनपुर गएका विद्यार्थीहरु अहिले गाउँकै विद्यालयमा पठनपाठनका लागि फर्किएका छन् । कक्षा ५ सम्म ९० जना विद्यार्थीले अंग्रेजी माध्यमबाट शिक्षा लिइरहेका छन् ।

सिंहेश्वरी मावि पाँचखपनका कक्षा ५ का विद्यार्थीहरु विद्यालय परिसरमा ।

यता पाँचखपन नगरपालिका कै १ नं. वडाका सबै विद्यालयका बाल कक्षा र १ कक्षामा अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्न अनुदान दिइएको छ । नगरपरिषद र वडा परिषदबाट वडामा रहेको ३ निमावि र ४ प्राविका बाल कक्षा र १ कक्षालाई अंग्रेजी माध्यममा अध्यापन गराउन विद्यालयलाई दिइने अनुदान रकम छुट्याइएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए ।

बुढाथोकीले नागरिकसंग कुरा गर्दै वर्षेनी कक्षा थप गरी कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराइने छ । केही महिना अघि मात्र उनले बाल कक्षा र १ कक्षासम्म अग्रेजी माध्यममा पढाई सुरु गर्न शिवोदय निमाविका ३५ जना विद्यार्थीलाई निजी खर्चमा पुस्तक वितरण गरेका थिए । यस्तै शिलिचोङ गाउँपालिका २ को बाला याम्दाङ माविमा पनि १ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । यी विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई सुरु भएसंगै विद्यार्थीहरुको आकर्षण बढ्दो छ । विद्यार्थी कम भएर विद्यालयहरु मर्ज हुनबाट समेत बचेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित