माध्यमिक तहको आन्तारिक परीक्षा विथोल्ने चेतावनी

काठमाडौं / अस्थायी–करार शिक्षक केन्द्रीय संघर्ष समितिले भोलिबाट हुने माध्यमिक, निम्न माध्यमिक तह र प्राथमिक तहको आन्तरिक परीक्षा विथोल्ने निर्णय गरेको छ । बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्यसमितिले आफूहरुले ८ औं दिनसम्म आमरण अनशन बस्दा पनि राज्यले आफूहरुको मागको सुनुवाई नगरेकोले बाध्य भएर भोलिबाट हुने परीक्षा विथोल्ने निर्णय लिएको जनाएको हो ।

कार्यसमितिका महासचिव कुमोद कुमार कर्णले ७५ प्रतिशत आन्तरिकको व्यवस्था हुँदाहुँदै ३० प्रतिशतमा मात्रै सिमित गरेकोले र परीक्षा तयारीको लागि अत्यन्तै छोटो अवधि दिइएकोले तत्काल परीक्षाको मिति सारी यसअघि आफूहरुले अघि सारेका मागहरु समेत सम्बोधन गर्न जोड दिए ।

उनले भने, ‘राज्यले हामीलाई विभेद गर्यो, परीक्षाको नाममा वर्षौदेखि खाई आईरहेको हाम्रो जागिर भोलिदेखि नै खोस्ने सरकारको षड्यन्त्र छ, हामीलाई यो मान्य छैन ।’ उनले आफूहरु भोलि हुने परीक्षामा कुनै हालतमा पनि सहभागी नहुने बरु बहिष्कार र विथोल्ने तयारीमा जुटेको चेतावनी दिए ।

त्यस्तै कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रामअयोध्या महतो, केन्द्रीय सदस्य समिक्षा ढकाल निरौला र केन्द्रीय सदस्य शिवशंकर कुमार झा लगायतले भोलिबाट हुने आन्तरिक परीक्षामा आफूहरुको सहभागिता नरहने जनाएका थिए । संघर्ष समितिले असार २९ र ३० गते गर्न खोजेको परीक्षा स्थगित् गरी विगतमा भएका सम्झौता लागु गर्न समेत माग गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित