सन्तानको आचरण जन्माउने हामी आमाबाबु

आमा बाबु भनेका बालबालिकाका पहिला गुरु हुन् र घर पहिलो पाठशाला। हामी जति राम्रा र हाम्रो घर जति राम्रो पाठशाला बन्छ हाम्रा नानीहरु पनि त्यत्तिकै राम्रा भएर निस्किन्छन्। मतलब कुनै पनि बालबालिका राम्रा वा नराम्रा हुनुमा उनीहरुको भन्दा ठूलो जिम्मेबारी हामी आमाबाबुकै हुने गर्छ।हामी पहिलो गुरु भएर नानीहरुलाई कस्तो पाठ सिकाइराखेका छौ त? समाजमा अभिभावकले आफ्ना नानीलाई गरेको ब्यवहारबारे शरच्चन्द वस्तीले ‘हामी आमा बाबु’ (गुजुभाइको कृति माँ वापोँ कि माथापच्ची को नेपाली रुपान्तरण) मार्फत् सोच्न बाध्य पारेका छन्।

आज आमाबाबु रहेका हामी हिजो बालबालिका नै थियौं। हामीले हिजो भोगेका व्यवहार र अहिले आफ्ना सन्तानसँग गरिरहेका व्यवहार किताबका पाना-पानामा भेटिन्छ। अनि सोच्न बाध्य बनाएको छ– हाम्रो व्यवहार सही छ त?बालबालिकालाई तह लगाउने क्रममा भनौँ या आफूलाई सहि र कटाकेटीलाई गलत साबित गराउन हामी कराउँछौ, बज्रिन्छौ, शारीरिक र मानसिक पीडा दिन्छौं। हाम्रो चिच्याहटले न हामी शान्त हुन सक्छौं न बालबालिकालाई नै सुबाटो देखाउन सक्छौं।

हाम्रा यस्तो व्यवहारले कलिला नानीहरुमा कस्तो प्रभाव पर्ला? भन्न त बुद्ध जन्मेको देश भन्छौ हामी। तर व्यवहारमा हामी द्वन्द्वबाट कहिल्यै बाहिर निस्किन सकेका छैनौं। देश १२ वर्ष त पूरै हिंसाको चपेटामा पर्‍यो। तर महत्वपूर्ण के हो भने अहिंसा नत्यागी देशले शान्ति पाएन। हिंसाको प्रतिकारको रुपमा हिंसा कदापि हुन सक्दैन। वार्ता, प्रेम, सद्व्यवहार, सदाचार नै द्वन्द्व समाधानको एकमात्र विकल्प हो। यही कुरा बुझाउने अभिभारा प्रत्येक अभिभावको हो। किनकि समाज, जीवन र जगत, संस्कार, मूल्य र मान्यता आमाबाबु मार्फत् नै केटाकेटी ले सिक्ने हुन्।
मुलुकको द्वन्द्व नै हेरौं न हिंसाले हिंसामात्रै त बढायो। युद्धले युद्धकै मलजल गर्‍यो। यस्तो स्थिति आफ्नै खुला आँखाले देखिसकेका हामी भने बालबालिकालाई पिटेर, गाली गरेर कस्तो समाज निर्माण गर्न गइराखेका छौ? के यी सब हिंसाका सुक्ष्म रुप होइनन्?

द्वन्द्व या राजनीतिक खिचातानी कसै न कसैमाथि आफूले विजय पाउन अपनाउने हिंसात्मक गतिविधि हुन्। हिंसा नै समाधानको एक मात्र साधन ठान्ने यस्तो सोचको विकास कहाँबाट भयो त? के हामी नै यसका जिम्मेवार होइनौ? हामीले जहिले अरुलाई नै दोष दिएर आफू उम्कने प्रयास गरिरहेका हुन्छौं। वुद्धि विलाशका लागि हामी अर्ति धेरै दिन सक्छौं। द्वन्द्वग्रस्त समाजमा नानीहरुलाई कसरी जोगाउने र कसरी अहिंसात्मक समाज निर्माण गर्ने भन्ने कुरामा ठूला बहस गर्न सक्छौं। तर, सुरुवात भने आफूबाट बिर्सन्छौं अथवा चाहँदैनौं।

एउटा प्रसँग:
किन कुटेको ?
आमाः बिदित तैले बहिनीलाई किन कुटेको?
बिदितः तपाईँले मलाइ किन कुट्नु भो त?

एउटा बालक आफूले विनाकारण कुटाई खाएपछि आफूभन्दा कमजोरलाई पिट्न प्रेरित हुन्छ। बालकले कुनै कारण नहुँदा नै कुटाई खान्छ भने ऊ हिंस्रक हुन कुनै कारण खोज्दैन। बालककालको उसको यो स्वभावमा परिणत हुन्छ र जीवनभर उसैसँग रहन्छ। र समाजलाई नै हिंसात्मक बनाइरहन्छ। द्वन्द्व यसैगरी समाजमा जरो गाड्दै अगाडि बढ्छ।

पिटाइले कुनै पनि समस्याको समाधान हुँदैन। शान्त र विवेकशील हुने जोसुकै पनि बालबालिकालाई पिटेर पछुताउनबाहेक केही गर्न सक्दैन भन्ने। पुस्तकमा रहेका यस्ता साना तर महत्वपूर्ण तर्कले हामी बाबुआमाको आँखा खोल्यो भने समाज हिंस्रक हुनेक्रममा ब्रेक लाग्न सक्छ।

हिंसात्मक समाजको रुपान्तरणका लागि माया, स्नेह, प्रेम, सदाचार नै अचुक उपाय हुन्। यसको ज्वलन्त उदाहरण हामी छिमेकि मुलक भारतका राष्ट्रपिता महात्मा गान्धीलाई नै लिन सक्छौं। तर यस किसिमको विश्व तवमात्र सम्भव छ जब अभिभावक स्वयम् आफ्ना नानीलाई अहिंसात्मक बाटोमा हिँडाउन सक्छन्।

“उपाध्यायान् दशाचार्य आचार्याणाँ शतँ पिता सहस्रं त पितृन् माता गौरवेणातिरिच्यते ।।”

अर्थात् दशजना उपाध्याय भन्दा बढी एकजना आचार्य, सय जना आचार्य भन्दा बढी एउटा बाबु र हजार बाबु भन्दा धेरै एउटी आमा बाल विकासका निम्ति महत्वपूर्ण हुन्छिन्।सिकाइ समूहको यो पुस्तक मैले त पढेँ। आफ्ना सन्तानलाई सुबाटोमा लगाउन चाहनुहुन्छ भने तपाईँ पनि यो पुस्तक पढ्नुस्। आफ्नो आचारण सुधार्नुस् तपाईँका सन्तान आफैँ अशल हुन्छन्। किनकि जसरी सन्तान जन्मिए त्यसरी नै उनीहरुको आचरण उनीहरुले होइन हामीले नै जन्माइरहेका छौं

From : pahilo post

प्रतिक्रिया

सम्बन्धित