कथा : रातका लोग्ने स्वास्नी

“ए हजुर यता सुन्नु त !”

“भनन सुनिरहेको छु ।”

“घर बस्दाबस्दा साह्रै दिक्क लागिसक्यो । आज चाहिँ हजुरसँगै मलाई पनि लैजानुस् है ?” आशे नजरले मीराले पवनतिर हेरिन् ।

“आज म निकै व्यस्त छु, पछि कुनै दिन जाउँला नि सँगै है ?“

यस्तो एकपटक होइन, दुईपटक होइन पटकपटक भएको थियो र आज पनि भयो ।

दिनभर जहाँ जता गए पनि ऊ रातमा टुप्लुक्क घर आइपुग्थ्यो । कहिले साँझमा त कहिले मध्यरातमा । सही सलामत छ भने साँझै नपरी पनि आइपुग्थ्यो तर मदिरापान गरेको बेला भने ढिलो धेरै ढिलो हुन सक्थ्यो । लोग्ने नआउन्जेल उनी खाना नखाई कुरेर बस्थिन् सँगसँगै खाने लोभमा । सँगै खाना खानुको मज्जै बेग्लै हुन्थ्यो किनकि दुवै जना एकअर्काको जुठो सराबरि खान्थे । कहिले त लोग्नेले आफ्नै हातले केही गाँस खुवाउँथ्यो उसलाई । त्यसबेला उनी सानो बच्चाजस्तै फुरुङ्ग पर्थिन् । खाना खाइसकेपछि अँगालो मारेर शयनकक्षमा लान्थ्यो । उसका हरेक स्पर्श मायालु लाग्थे । कहिले त जुरुक्क उचालेरै विस्तारामा लगेर पल्ट्याउँथ्यो । त्यो बेला मीरा आफूलाई संसारकै भाग्यमानी ठान्थिन् ।

त्यस्तो माया गर्ने लोग्नेले किन एकदिन पनि सँगै बाहिर लैजान मान्दैन ! एक्लै बाहिर कतै गएको पनि फिटिक्कै मन पराउँदैन । उसको समाजमा ठूलो नाम छ, उसको परिचयको घेरा पनि फराकिलो छ तर किन कहिल्यै मलाई कतै सँगै लाँदैन ? उनी दिनभरजसो यस्तै सोचेर बस्थिन् । घरमा उनको खासै काम पनि त केही थिएन । अरू सब कुरा सन्तोषजनक भए तापनि यही एउटा कुराले उसको चित्त चञ्चल गराउन र लोग्नेमाथि शङ्काको घेरा बढाउन काफी थियो ।

घर बस्दाबस्दा वाक्क भइसकेकी उनी शृङ्गार पटारमा खुबै ध्यान दिन्थिन् । अहिले थाहा पाइन् कि सामान त सकिनै लागिसकेको रहेछ । लिपिस्टिक थोरै मात्र रहेछ । नङ पालिस त यो पटकलाई पनि नपुग्ने रहेछ । फेयर एण्ड लभ्ली चारपाँच दिनलाई मात्रै होलाजस्तो देखियो । आफू बाहिर निस्केको लोग्नेलाई मन पर्दैन भन्ने थाहा पाउँदा पाउँदै पनि उनलाई बाहिर जान औधी मन लाग्यो । घरभित्रै सबै सुख सुविधा उपलब्ध थियो । समय कटनीको लागि टिभी, ल्यापटप लगायतका अन्य अत्याधुनिक सामग्री पनि थिए । तर एक दिन होइन दुई दिन होइन ! मन भौतिक सुख सयलमा मात्रै कहाँ रमाउन सक्दो रहेछ र ! साँझ नपरी पवन घर आउँदैन भन्ने लागेर उनी आफ्नो शृङ्गार सामग्री किन्ने बहाना र चाहनाले पुलकित हुँदै बजारतिर निस्किएकी थिइन् ।

धेरै साल भएछ उनी यसरी निष्फिक्री रूपमा बाहिरफेरो नघुमेको पनि । सडक र मान्छेको जीवनशैली निकै परिवर्तन भएको थाहा पाउन उनलाई कुनै कसरत गर्नुपरेन । कसैका जोडी बाइकमा थिए । कोही हात समातेर हिँडिरहेका थिए । हाँस्दै थिए, जिस्किदै थिए । मीरालाई यस्तो दृश्यले साँच्चिकै लोभ्यायो । उनले आफ्नो अहिलेको र विवाह पहिलेको जिन्दगी अनि आफ्नो र आफ्ना सङ्गिनीहरूको जिन्दगी नियालिन्, सम्झेर ल्याइन् । अहिलेको आफ्नो जिन्दगी पिँजडामा थुनेर राखिएको सुगा र अरूको जिन्दगी कावा खाँदै हावामा उडिरहेका स्वच्छन्द पंक्षी जस्तै लाग्यो । मनमा यस्ता अनेक कुरा खेलाउँदै उनी बजार जाँदै थिइन् । सम्झनालाई कसले रोक्न सक्छ र ! उनी पनि आफ्नो बालापनदेखि लिएर विद्यार्थी जीवन र त्यसबेलाको आनन्द, गर्मीले भतभती पोलिरहेको बेला झरनाको चिसो पानीमा नुहाएझैँ, तिर्खाएको बेला कलकल बग्ने मूलको पानीले तिर्खा मेटेको कल्पना गर्दै सम्झिरहेकी थिइन् । नौँ दस कक्षामा पढ्दै कति केटाहरूले उनलाई प्रेमपत्र दिन्थे । लेख्ने र दिन नसक्ने, मुख खोलेर भन्न नसक्ने त कतिकति थिए होलान् ! त्यसको लेखाजोखा गर्न मन त आज पो लागेर आयो । उबेला त कम्ता रिस उठ्दैनथ्यो । तर अहिले साँच्चिकै मीठो याद बनेर सम्मुख उपस्थित थियो त्यो पल ।

यस्ता अनेकौँ कुराहरू सलबलाइरहे बिहे हुनुभन्दा अघिका अविस्मरणीय क्षणहरू । मङ्सिरे खेतमा पिकनिक जाँदा छमछमी नाचेको, हाटबजार र मेलापात जाँदाको रमाइलो ! त्यो पनि मनको एउटा कुनोमा मीठो याद दिलाएर आसन जमाइरहेको थियो । त्यसपछि उनको हात माग्न आउनेहरूको लर्को सम्झेर पनि उनी एकछिन रोमाञ्चित भइन् । बिहे गर्न मन भ’का तर हात माग्न भने आफै आउन नसक्ने लाछीहरू ! आफ्ना बा अथवा गाउँका ठूला मान्छे लिएर आउने । कोहीसँग नामराश मिलेन भन्थे त कोहीसँग के मिलेन भन्थे । धेरैलाई बाबा, हजुरबाबाले खै केके भनेर फर्काइदिनुभयो । पवन पनि एकदिन त्यसैगरी आएको थियो कसैको साथ लागेर जसरी अरूहरू आउने गर्थे । यसअघि माग्न आउनेहरू र अहिले आउनेमा के फरक थियो कुन्नि ! त्यसबेला परिवारका सबै खुसी भएका थिए ।

बिहे गरेर पवनको साथ भित्रिएदेखि नै यो घर र परिवारका सबैको व्यवहार उनलाई निकै कृत्रिम लागेको थियो । सबै काम कुरा यथा समयमा ट्याक् ट्याक् हुने र गर्नुपर्ने पनि । अरू जसरी चलेका छन् त्यसैगरी आफू पनि चलिदिनुपर्ने घडीको सुई चले झैँ । बिहान यति बजे उठ्ने, नित्यकर्म गर्ने, नास्ता तयार पार्ने, खाने पिउने ….. साँझ यसोयसो गर्ने र यतिबजे सुत्ने ! यो अपरिवर्तनीय तालिका सुरुसुरुमा त ठीकै लागेपनि बिस्तारै साह्रो झ्याउ र बोझ लाग्न थालेको थियो मीरालाई । यी अलिखित नियम विशेष गरी त्यस घरका महिलाहरूलाई कडाइका साथ लागू हुन्थ्यो ।

०००

सम्झनाको तरेलीमा पौडिदै मीरा मूल सडकमा निस्किएर सुन्धारा जाने माइक्रोबस चढिसकेकी थिइन् । सिंहदरबार अगाडिको साँघु कटेर भद्रकाली फन्को मार्दै गर्दा पवनको मोटरसाइकल, पछाडि एउटी युवती राखेर हुँइकिरहेको देखियो । हो कि होइन एकिन गर्न उनलाई मुस्किल परिरहेको थियोे तर सहिदगेटनेर केहीक्षण ट्राफिकजाम हुँदा मोटरसाइकल नम्बर, त्यसमाथि चढेको आफ्नो लोग्ने एकदमै परिचित थिए । बाँकी रह्यो पवनसँग लपक्क टाँसिएर बसेकी युवती को होला भन्ने कौतूहल । मनमा आँधीबेहरी चल्दै गर्दा उनी काठमाडौँ मल अगाडि ओर्लिइन् र नाकमुख मास्कले छोपेर सपिङ कम्प्लेक्सतिर लागिन् । दिन बिग्रिएर हो कि सप्रिएर यस्तो भइरहेको छ, उनले ठम्याउन सकिनन् ।

उनीभन्दा पछिपछि त्यही युवतीको हात समातेर लोग्ने पो आइरहेछ त ! छेलिने कोसिस गरिन् र देब्रेपट्टि यस्सो लागे जस्तो गरिन् । त्यो जोडी इलेक्ट्रिक भर्‍याङ चढ्यो उसैगरी हात समातेर । त्यसपछि मीरा पनि माथिल्लो तल्लामा उक्लिन् । उनले आफू यहाँ किन आएको हुँ भन्ने कुरा नै भुलिसकेकी थिइन्, जबसम्म पवन र सँगै आएकी केटी सप नम्बर अठासीमा पसेनन् । त्यो युवती कोही आफन्त पो हो कि भनेर सम्झेर ल्याइन् तथापि आफू विवाह गरेर ऊसँग आएदेखि कहीं कतै कहिल्यै नदेखेको, उसको बारेमा कुराकन्थै नभएको पक्कापक्की भएपछि उनलाई त्यहीँभित्र पसेर, तिमीहरूको सम्बन्ध के हो ? अफिस हिँडेको मान्छे यस्ता नखरमाउलीसँग के खान हिँडेको ? भनेर लोग्नेलाई झाँक्न मन नलागेको होइन । त्यो केटीको पनि जगल्टा उखालेर म पवनकी स्वास्नी हुँ भनेर सबक सिकाउन मन लाग्यो ।

फेरि खानदानी परिवार र उच्च घरानाको हाँक लाउने पवनको आत्मसम्मानमा चोट लाग्ला भनेर चुपचाप लागिन् र उनीहरू त्यहाँबाट बाहिरिएपछि मात्रै आफूलाई आवश्यक सामान किनेर घरतिर गइन् तर मन थिरमा थिएन । लोग्नेले सँगै बाहिर लैजान नमान्नाको कारण पहिल्याइसकेकी उनमा कि त जिन्दगीभर उसले जेजे भन्यो त्यही मानेर खेलौना जुनी बिताउने कि पुरुषले जस्तै यो धर्तीमा बेरोकटोक आत्माले सही लागेको काम स्वतस्फूर्त रूपमा गर्ने, हिँड्ने, घुम्ने र वास्तविक जीवन जिउने प्रश्न ठिङ्ग साम्ने उभिएको थियो पहाड बनेर । युगौँयुगदेखि स्वास्नीमान्छेबाटै पुरुषहरूको तृष्णा, वासना र क्षुदाको अपार तृप्ति भएको छ र पनि कत्ति कृतघ्न छ पुरुष ! उनी सम्झिँदै छिन्, नारीकै पवित्र कोखबाट जन्म ग्रहण गरेर फेरि नारी विरुद्ध कदम चाल्न अलिकति पनि धक मान्दैन । इतिहास पढ्दा हजारौँ नारी मृत पुरुषको साथ जिउँदै जलेर खरानी भए । लाखौँलाख स्वास्नीमान्छे पतिको वियोगमा वैधव्यको कठिनतम् यन्त्रणा सहेर जिइरहन विवश छन् अझैसम्म ।

सधैँझैँ ठीकै समयमा पवन घर आइपुग्यो । एकछिन बैठक कोठामा बसेर थकाइ मारेपछि आफ्नै कोठामा गयो । तर मीराले कुनै वास्ता गरिनन् । बरु कोठा व्यवस्थापन छुट्टै तरिकाले गरेको देखेर आफै छक्क पर्‍यो । खाना खाइसकेपछि सुत्नेबेलामा कुरा गरौँला भन्ने सोची अहिले केही बोलेन । घरिघरि दिउँसोको घुमाइ र रमाइलो सम्झेर त्यसैत्यसै फुर्किरहेको थियो उसको मन । कहिल्यै घरबाट बाहिर ननिस्कने स्वास्नीले दिउँसोको चर्तिकला थाहा पाई भनेर त उसलाई शङ्का सप्नै थिएन ।

सुत्नेबेला पवनले कोठा व्यवस्थापन लगायतका कुरा निकाल्यो, जिज्ञाशा राख्यो तर मीराबाट झर्कोफर्को बाहेक अरू पाएन । केही तनाव छ कि ! अथवा दिउँसो कतै केही भयो कि भनेर बुझ्न खोज्यो । त्यसको पनि उस्तै ठाड्ठाडो ओठे जवाफ पायो । त्यसपछि सधैँ झैँ माया दर्शायो, केही प्रशंसाका शब्दहरू ओकल्यो । तर त्यसमा कृत्रिमता बेस्सरी गन्हाएर उनको नाक पोल्यो । हात समातेर तान्न खोज्यो तर उनलाई कुनै हिंस्रक जङ्गली जनावरले कोतरेझैँ दुख्यो । आजको दिन कसरी बित्यो भनेर सोध्यो, आफूलाई कठोर व्यङ्ग्य गर्दै जिस्क्याएझैँ ठानिन् उनले । र अन्तमा आफ्नो कामवासना शान्त पार्ने मनशायले उनका कोमल अङ्ग स्पर्श गर्दै वस्त्र उतार्न लाग्यो, मीरालाई कुनै परिचित पेशेवर गुण्डाले बलात्कार गर्न खोजे झैँ लाग्यो र एक्कासि चिच्याउन पुगिन् उनी । अनि हार मानेर ऊ चुपचाप भयो ।

त्यसपछि समाजले राम्रो मानेको त्यो जोडीको जिन्दगीमाथि पनि कालो बादल मडारिन थाल्यो । यसरी मान्छेको जिन्दगीमा कायापलट हुँदोरहेछ कि, मीरा आफै छक्क परेकी थिइन् । दुई प्रहर रातका लोग्नेस्वास्नीमा मात्रै सम्बन्ध सीमित भइरहेको उनीहरूको जिन्दगीले नयाँ मोड लिन पुग्यो । समय त त्यस्तै हो तर सम्बन्ध बदलिएको थियो । घर त्यही हो, संसार त्यही हो । मान्छे तिनै हुन् तर सोचाइ बदलिएको थियो ।

०००

त्यसपछि मीराले कलेज ज्वाइन गरिन् । साथीसँगी बढे । लवाइखवाइ, हिँडाइ डुलाइ सबथोक परिवर्तन भयो । उनी फेरि विद्यार्थी जीवनमा फर्किइन् । आफ्नो दैनिक जीवनका आवश्यकता पूर्ती गर्न काम खोज्न थालिन् र साथीहरूकै सहयोगमा दिउँसो जागिर गर्न थालिन् । समाजको नजरमा उनीहरू लोग्नेस्वास्नी भए पनि व्यवहारमा नभएको धेरै भइसकेको थियो । खै कस्तो कस्तो सम्बन्ध ! रहस्यमय जस्तो लागे पनि स्वाभाविक नै थियो । पवन दिनभर अफिस जाने र त्यसैगरी नव षोडषीहरूसँग घुमघाम अनि रमाइलो गर्दो हो भनेर सोच्थिन् मीरा । आफू पनि कलेजमा ठाँटिएर जाने र धेरैलाई आकर्षण गराउन सफल भइसकेकी थिइन् । आगोको छेउमा घिउ राखेपछि नपग्लिने कुरै भएन !

मीरा आफ्नो भूमिका र हैसियत चुलाचौकामै मात्र सीमित नपारी लोग्नेकै बराबर अथवा अझ बढाउने पक्षमा लागेकी थिइन् । यो धर्ती अनि आकाशदेखि लिएर घाम र जूनसम्म आफ्नो समान हक स्थापित गर्न चाहन्थिन् । उनलाई यस्तो पनि नलागेको होइन ! “लोग्नले अहिलेसम्म जति स्त्रीसँग अनैतिक सम्बन्ध राखेको छ, त्योभन्दा बढीसँग आफूले राख्न सक्छु । उसले वर्षौं लगाएर आठ दसवटी महिलालाई फसायो होला ! तर म महिना दिनमै उसको रेकर्ड तोड्न सक्छु ।” तथापि मीराको उद्धेश्य यस्तो कुत्सित कार्य गरेर नाम कमाउनु थिएन । मात्रै लोग्नेलाई गजबको सबक सिकाउनु थियो । महिला पनि केही हुन् र उनीहरूले गर्न नसक्ने काम केही छैन भनेर पाठ पढाउनु थियो ।

पहिलेको त्यस्तो अनुपम जोडीको सम्बन्ध बिस्तारै बिस्तारै चर्केर नजोडिने सिसाजस्तै बन्न लागिरहेको महसुस दुवैमा बढ्दै थियो । मीराको, जिन्दगीमा पवनलाई कहिल्यै धोका नदिने प्रण विश्वासघातमा परिणत हुन उन्मुख थियो । अब लामो समयसम्म देखावटीपन र नाटक चल्नेवाला थिएन । उनको मायामा पागल हुनेहरूको दबाब दिनानुदिन बढ्दै थियो । र, त्यही कारण उनी नयाँ जिन्दगी सुरु गर्ने कि पीडा सहेरै भए पनि पवनसँगै सतीसावित्री भएर रहने ! भनेर घोर द्विविधामा थिइन् । भित्रैदेखि हनहनी ज्वरो आएझैँ भएर ज्यान फतक्क गलेको थियो । घरका सबै आआफ्नो कामधन्दामा लागे । तर उनी बाहिरफेरो कतै निस्किइनन् ।

दिनभर एक्लै घरमा बस्दा उनलाई के गरौँ, कसो गरौँ ! भइरह्यो । चञ्चले मन लिएर लोग्नेले लेखपढ गर्ने टेबलमा गइन् र एउटा आकर्षक डायरी उठाइन् । हठात् यसमा के लेखिएको होला भन्ने कौतूहल जाग्यो र विना कुनै ढिलाइ खोलिन् । सुन्दर र कलात्मक अक्षरमा आफैलाई समर्पित गरेर लेखिएको त्यो डायरी मीराले जब पढ्न थालिन् पढुञ्जेल उनका नयन ओभाना भएनन् । त्यसमा पहिलोपल्ट आफ्नो हात माग्न गएदेखि हिजोसम्मको वृत्तान्त पढ्दा उनलाई आफू कति गलत र कपोलकल्पित कुरामा रमाउने पापिनी रहेछभनेर आत्माग्लानिले पोल्न थाल्यो । उसले आफ्नो बाध्यता र अलिक सक्षम भएपछि कहाँकहाँ घुम्न जाने योजना पनि बनाएको तर विवशतालाई कमजोरी ठानेर मीराले आफ्नो चित्त दुखाएको कुरा मर्मस्पर्शी ढङ्गले उल्लेख गरेको थियो । उनी क्याम्पस पढ्न जान थाल्दा र सफलता पाउँदा लागेको असीम खुसी समेत व्यक्त गर्न कसैसँग नपाएकोमा चिन्तित रहेको र कुनै न कुनै दिन त मेरी मीरा अवश्य पनि पहिलेकै जस्तो विवेकी र मायालु हुने आशा गरेको थियो ।

आफू मीराप्रति सदैव इमानदार रहेको र रहिरहने वाचा गर्दै एकदिन पन्ध्र वर्षपछि अचानक बाटामा भेटिएकी फुपूकी छोरीलाई काठमाडौँ मल पुर्‍याइदिन गरेको आग्रह स्वीकारेर बाइकमा राखेर पुर्‍याइदिएको दिनदेखि उनले आफूसँग फरक व्यवहार गर्न थालेको कुरा पढ्दा उनको मुटु भक्कानिएको थियो । सय पृष्ठभन्दा बढी यही बारेमा लेखिएको उक्त डायरीमा आफूले कति सम्झाउने प्रयास गरेको तर उनले त्यो अवस्थै सिर्जना हुन नदिएकोमा दुःख व्यक्त गरिएको थियो । बलीन्द्र धारा आँसु झार्दै पढिसकेर उनले त्यो डायरी जस्ताको तस्तै मिलाएर राखिदिइन् ।

अब पर्‍यो फसाद ! लोग्नेले कतिपटक मायाले बोलाउँदा ठुसुक्क परेर अर्कोतर्फ मुन्टो फर्काएको, झर्केर बोलेको र पनि ऊ कहिल्यै नरिसाएको सम्झेर उनी मर्माहत भइरहेकी थिइन् । कहिलेकाहीँ राम्रो र असल कुराले पनि मान्छेलाई कस्तरी पीडा दिँदोरहेछ ! उनी आफै छक्क परिन् । आफू त्यस्तो विधि रिसाउँदा ऊ पनि कमसेकम एक दुई पटक मात्रै रिसाइदिएको भए पनि चित्त बुझाउने र मनलाई सम्झाउन मिल्थ्यो । अहिले मीरा यही कुराले साह्रै सकसमा परेकी थिइन् ।

साँझमा पवन कामबाट फर्केपछि मीराले गौर गरेर हेरिन् । उसमा कुनै परिवर्तन आएको थिएन । जस्तो पहिले थियो उस्तै हँसिलो र आत्मविश्वासी । गल्ती गर्नेको मुखमुद्रा फरक नजर झुकेको हुनुपर्ने ! अहँ पवनको कुनै गल्ती छैन, जति छ आफ्नै छ भन्ने ठम्याइमा पुगिन् उनी । अब बोलाउनु पो कसरी ! अगाडि पर्नै गाह्रो !

लाज र पश्चात्तापले डराइडराइ उनी पवनको छेउमा गइन् हातमा एक गिलास तातो दूध लिएर । त्यतिबेला ऊ त्यही डायरीमा केही लेखिरहेको थियो । मन दह्रो बनाएर भनिन् “मलाई माफ गरिदिनुस् ! मैले तपाईंलाई गलत सम्झेको रहेछु । कलकल बगेको कञ्चन जल आफ्नो समीप नआएको निहुँमा तिर्खा मेट्न जमेको पानी खोज्दै भौतारिएछु ।”

“रूखबाट पात झरेर गयो भनेर उसले कहिल्यै कसैसँग गुनासो गरेको सुनेकी छ्यौ र तिमीले ! एकदिन पालुवा पलाउला, मुना हाल्ला भनेर म पनि त्यही पात झरेर गएको वृक्षझैँ प्रतीक्षामा थिएँ । वसन्त आएछ क्यारे ! ममा फेरि पालुवा पलाए ! खुसी छु मीरा म ।” त्यतिञ्जलसम्म मीरा पवनको छातीमा आफ्नो शिर राखेर अश्रुधारा बगाइरहेकी थिइन्

प्रतिक्रिया

सम्बन्धित