क्याम्पस प्रमुखसहित ५ जना कार्यकक्षमै थुनिए
विराटनगर । तीन विद्यार्थी संगठनहरुले विराटनगरस्थित महेन्द्र मोरङ आर्दश क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई थुनेका छन् । शुल्कवृद्धि गरेको आरोपमा विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र सामान्य प्रशासन प्रमुख गुद्धरप्रसाद यादवलाई आइतबार बिहान आफ्नै कार्यकक्षमा थुनिदिएका थिए ।
अनेरास्ववियु, अखिल क्रान्तिकारीका र नयाँ शक्ति नेपाल निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा पाँच जनालाई विहान १० बजेदेखि थुनेर बाहिरबाट ताल्चा लगाइदिएका छन् । क्याम्पस प्रसासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन विषयमा एक सेमेस्टरका लागि तिन हजारका दरले शुल्क वृद्धि गरेपछि विद्यार्थीका नेताहरुले क्याम्पस प्रमुख सहितका पदाधिकारीहरुलाई थुनेका हुन् ।
क्याम्पस प्रशासनले वृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म् ताल्चा नखोलिने एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता नवीन पहाडीले बताए । महेन्द्र मोरङ क्याम्पसमा १७ वटा विषयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले दिएको छात्रवृत्ति पनि क्याम्पसले नदिएको अरोप लगाएका छन् ।
यसअघि पनि क्याम्पस प्रशासनको लापरबाहीका कारण पढाई नहुने,महंगो शुल्क लिने लगायतका बिषयमा पटक पटक बिद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन । प्रदेश १ कै पुरानो र ठुलोमध्येमा पर्ने सो क्याम्पसमा बिद्यार्थीहरु पटक पटक आन्दोलित हुँदै आएका छन ।
प्रतिक्रिया