विश्वकप फुटबलको भविष्यवाणी गर्ने बिरालोको मृत्यु भएपछि……!

जारी विश्वकप फुटबलका विभिन्न ६ वटा खेलको सही भविष्यवाणी गर्ने एउटा चिनिया बिरालोको मृत्यु भएको छ । उक्त बिरालोको असामयिक निधनपछि चिनियाँ सोसल मिडियामा हजारौँ मानिसहरुले श्रद्धाञ्जली प्रकट गरेका छन् ।

बैडियानएर नामको उक्त सेलिब्रेटी बिरालोका सुन्तला रङको भुत्ला थिए । यो बिरालो बेइजिङको फोर्बिडन सिटीस्थित दरबार संग्राहलय परिसरमा बस्दथ्यो । यो बिरालोलाई विश्वकप फुटबलका खेलहरुको भविष्यवाणी गर्नका लागि खेल हुन थालेका दुई देशका झण्डा राखिएको खानेकुरा सहितका दुई भाँडा दिइन्थ्यो । त्यसक्रममा उक्त बिरालोले ६ वटा खेलको सही भविष्यवाणी गरेको थियो । सही भविष्यवाणीका कारण बिरालो चर्चित बनेपछि संग्राहलयले बिरालोको नाममा चिनियाँ सोसल साइट वेइबोमा अकाउन्ट समेत खोलिदिएको थियो ।

अन्तिमपटक बिरालोले नाइजेरियाविरुद्ध अर्जेन्टिनाले जित्ने सही भविष्यवाणी गरेको थियो । सोही भविष्यवाणी उसको अन्तिम भविष्यवाणी बन्यो । बिरालो एक्कासि विरामी परेको र मंगलबार उसको मृत्यु भएको संग्राहलयले जनाएको छ । बिरालोको मृत्युपछि झण्डै १० हजारभन्दा धेरै मानिसले सोसल साइटमा निधनप्रति शोक व्यक्त गरेका छन् । धेरैले मृतक बिरालोको स्वर्गमा बास होस् र आत्माले शान्ति पाओस् भनेर कामना गरेका छन् । हालै जापानमा विश्वकपअन्तर्गत जापानले खेलेका तीनवटै खेलको सही भविष्यवाणी गर्ने अक्टोपसलाई माछा व्यापारीले मासुका लागि मारेको खबर आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित