के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ? याैन जिज्ञासा तथा समाधान

म १९ वर्षको भएँ । मलाई यौनसम्पर्क राख्ने चाहना हुँदैन । के पहिलो पटक यौनसम्पर्क गर्दा पीडा हुन्छ ?

मानव यौनेच्छा

यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । अहिले यौन क्रियाकलाप वंश निरन्तरताका लागि अर्थात् सन्तान जन्माउनभन्दा पनि यौन आनन्दमा बढी प्रयोग भएको पाइन्छ ।

मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्वपूर्ण भूमिका हुन्छ ।

यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यसमा इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रा इन्द्रियहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वादसँग यौन सम्पर्क वा यौनेच्छासँग सम्बन्धित छन् भन्ने कुरा त हामीलाई थाहै छ । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अथ्याउने र बुझने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।

यौनेच्छामा कमी

सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एक व्यक्तिमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौन इच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ । तपाईंको मनबाट आउने यस्ता भावनाका बारेमा तपाईंलाई नै बढी थाहा हुन्छ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनी हाल्न मिल्दैन, यदि दुवै जना यसमा सन्तुष्ट छन् भने ।

त्यसैले कतिपय यौन विषेशज्ञहरूले यौन इच्छा कम भएको भनेर त्यतिबेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खासै परिवर्तन देखिएको हुँदैन । यौनेच्छा भए पनि अन्य कारण जस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारणले व्यक्तिले यौनसम्पर्क राख्न अरुचि देखाउन वा नराख्न सक्छन् ।

विरलै हुने भए पनि केही व्यक्ति यौनसम्बन्धी क्रियाकलापमा आकर्षित हुँदैनन् र त्यसमा संलग्न हुन चाहँदैनन् । यस्तो स्थितिलाई ‘अयौनिकता’ भन्न सकिन्छ । यस्तो स्थितिमा व्यक्ति कसैप्रति पनि यौन आकर्षण हुँदैन र यौन क्रियाकलापमा पनि संलग्न हुँदैन । अंग्रेजीमा यस्तो स्थितिमा Asexuality वा Non-sexuality भन्ने शब्द प्रयोग गरिन्छ । यौनसम्पर्क नराख्नु र ब्रह्मचर्यको पालना गर्नु अयौनिकता होइन । यो यौन परिचय भित्रदेखि नै निर्देशित हुन्छ र प्राकृतिक रूपमै भित्रैबाट यसका लागि इच्छा हुँदैन ।

के पहिलो यौनसम्पर्कमा पीडा हुन्छ ?

यौनेच्छा पूरा गर्न व्यक्ति यौनसम्पर्कप्रति लालायित हुन्छ र त्यसका लागि प्रयास पनि गर्छ । प्रेमीसँग होस् वा अन्य व्यक्तिसँग कुनै पनि व्यक्तिका लागि पहिलो यौनसम्पर्क एउटा विशेष परिस्थिति वा घटना हो । यौनसम्पर्क नराखेको व्यक्तिवाट यौनसम्पर्क राखेको व्यक्ति हुनुको आफ्नै महत्व छ । व्यक्तिमा यस विषयमा चासो वा चिन्ता हुनु स्वाभाविक हो । यसको निर्णय गर्न सजिलो छैन । अध्ययन, पहिरन वा भोजन जस्तै यो विषयमा के रोज्ने भनेर खुलेर छलफल गर्ने स्थिति भने हुँदैन ।

निर्णयको अभिभारा आफैंमा भरपर्ने हुँदा थप चिन्ता हुनसक्छ । सामाजिक मूल्य–मान्यताका कारणले किशोरी वा युवतीका लागि कौमार्य भङ्ग हुने कुराले चिन्ता थप्छ । विवाहभन्दा पहिले हुने र विवाहपछि गरिने पहिलो यौन सम्पर्कको आ–आफ्नै प्रभाव हुन्छन् र यसमा पर्याप्त भिन्नता पाइन्छ । जे होस्, पहिलो यौनसम्पर्कका सन्दर्भमा अनेक चासो वा चिन्ता हुन सक्छ र त्यसका लागि केही तयारी पनि भए यौन जीवन सुमधुर बनाउन सहयोग मिल्छ ।

दुख्ला कि ? : पहिलो यौनसम्पर्क राख्दा सबै महिलालाई दुख्छ नै भन्ने छैन । विशेष गरेर योनिच्छद (hymen_) च्यातिने क्रममा कतिपयलाई केही पीडा अनुभव हुन सक्छ, तर यो योनिच्छदको स्थितिअनुसार हुन्छ । यौन सुखको परिप्रेक्ष्यमा यसमा कतिपयमा यो पीडाले खासै महत्व पाउँदैन । योनिमा पर्याप्त चिप्लोपन भए पछि लिङ्ग प्रवेश बिस्तारै–बिस्तारै धेरै जोड नलगाइ प्रवेश गराउनु आवश्यक हुन्छ । भयका कारणले योनिको मांसपेशी खुम्चिएको स्थितिमा भने पीडा हुन्छ ।

यौन संक्रमण : यौनसम्पर्क नै यौन रोग सर्ने माध्यम भएकाले यसबाट जोगिन पर्याप्त जानकारी राख्नुपर्छ । पहिलो यौनसम्पर्क सुखद भए प्रथम रात्रिमा धेरैपटक यौनसम्पर्क र त्यसमा पनि योनि सुख्खा भएको स्थिति भए यौन सम्पर्कले मूत्रथैली तथा मूत्रनलीको संक्रमण गराउन सक्छ ।

गर्भनिरोध : विभिन्न कारणले गर्भ निरोधका बारेमा नसोचिएको र त्यसको साधनको व्यवस्था गर्न बिर्सिएको वा नपाएको हुन सक्छ । जोसमा होस नहुँदा गर्भ रही हाले पछुताउनुपर्ने हुन्छ । भैपरी अउने यौनसम्पर्कका लागि भरपर्दो गर्भ निरोधका बारेमा जानकारी लिई तयारी गरिरहनुपर्छ ।

वीर्य स्खलन : वीर्य स्खलन आफैंमा अनौठो अनुभव हुनसक्छ । कतिपयलाई त्यसको च्यापच्यापेपन वा गन्धले असजिलो लाग्न सक्छ । पुछ्ने कपडा साथै भए सजिलो हुन्छ ।

सम्बन्धको स्थायित्व : सम्बन्ध कत्तिको गहिरो वा प्रेमपूर्ण छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यदि सम्बन्धको निरन्तरतामा प्रश्न छ भने पहिलो यौनसम्पर्क राख्नुभन्दा पहिले पर्याप्त विचार पुर्‍याउनु उपयुक्त हुन्छ र धेरैजसो परिस्थितिमा त्यसबाट परहेज गर्नु नै राम्रो मानिन्छ ।

यौन कार्य सम्पादन : के मैले चाहेअनुरूप मेरो वा मेरो साथीको यौन चरमसुख प्राप्तिसम्म पुग्न सक्छु वा सक्दिनँ भन्ने चिन्ता हुन्छ । जस्तै पुरुषमा शीघ्र स्खलन वा लिङ्ग उत्तेजित नहुनु वा महिला योनि सुख्खा भएका कारणले यौन सम्पर्कलाई निरन्तरता दिन नसक्ने स्थिति हुन्छ । बिस्तारै, कोमलतापूर्वक तनावरहित ढंगमा यौन क्रियाकलाप अघि बढाए यस्तो समस्या न्यूनीकरण गर्न सकिन्छ । साभार श्राेतः कान्तिपुर साप्ताहिक

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित