स्वदेशमै रोजगारी र समान शिक्षामा जोड

काठमाडौँ,  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले स्वदेशमै रोजगार र समान शिक्षाको व्यवस्था हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।बैठकमा विनियोजन विधेयकअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

सांसद देवप्रसाद तिमिल्सना र सांसद नरमाया ढकालले राज्यले गरिबीको रेखामुनि रहेका व्यक्तिलाई रोजगार तथा शिक्षाको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो सांसद कृष्णभक्त पोखरेलले अदक्ष कामदारले विदेशमा पठाउँदा जोखिम बढेको भन्दै बिना सीप विदेशमा कुनै पनि कामदारलाई पठाउन नहुनेमा जोड दिनुभयो ।

सांसद यज्ञबहादुर सुनुवारले स्वास्थ्य र शिक्षामा जनताको नैसर्गिक अधिकार भएकाले यसमा सरकारले उचित व्यवस्थापन गरी उचित रकमको व्यवस्था गर्न माग गर्नुभयो ।सांसदहरु घनश्याम खतिवडा, दिव्यमणिराज भण्डारी, गणेशसिंह ठगुन्ना, मीरादेवी जैरीे, मैनाकुमारी भण्डारी, चन्द्रकान्त चौधरीले शिक्षा र स्वास्थ्य मानिसको जीवनको अत्यन्तै महत्वपूर्ण पाटो भएको हुँदा नागरिकको आधारभूत शिक्षा र स्वास्थ्यमा गरीब जनताको पहुँच पु¥याउने विषयलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा सांसद पवित्रा निरौला खरेल, सूर्यप्रसाद पाठक, सांसद सुजिता शाक्य, रेखाकुमारी झा, गजेन्द्रबहादुर महतलगायतले बजेट विनियोजन सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १० गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित