उदयपुरमा दुइै अवैध मेडिकल सञ्चालक पक्राउ

उदयपुर / उदयपुरमा दुई अवैध मेडिकल सञ्चालक पक्राउ परेका छन् । अधिकांश मेडिकल पसलहरु अवैध रहेको जनगुनासोको आधारमा बुधबार गरिएको छड्के अनुगमनको क्रममा दर्ता नगरी सञ्चालनमा ल्याइएका अवैद्य मेडिकल सञ्चालकलाई पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका ६ जलजलेस्थित मनोज एण्ड ब्रदर्स मेडिकल सञ्चालकद्वय मनोज चौधरी र प्रेमकुमार चौधरीलाई पसलबाटै पक्राउ गरिएको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए ।

यस्तै वर्षौंअघि म्याद सिद्धिएका औषधि बिक्री वितरण गर्ने गरेको जलजलेकै देवानन्द चौधरीको मेडिकल पसलका सबै औषधि जफत गरेर तालाबन्दी गरिएको छ । चौधरीको मेडिकलबाट ३ बोरा म्याद गुज्रेका औषधि जफत गरि तालाबन्दी गरिएको खड्काले बताए । चौधरीले मेडिकल सञ्चालनको नाममा लागूऔषध बिक्री बितरण गर्ने गरेको सूचनाका आधारमा छापा मारिएको अधिकृत खड्काले बताए । तर, छापा मार्ने क्रममा मेडिकल सञ्चालक भने पसलमा नभेटिएको बताइएको छ । सञ्चालक नभेटिए पनि औषधि चाही सन् २०११ मै म्याद सकिएका बेच्न राखेको अवस्थामा पाइएपछि सबै जफत गरिएको हो ।

बुधबार ‘लागू औषध दूव्र्यसनविरुद्धको दिवस’ को अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका चिकित्सक, प्रशासन, प्रहरी, सशस्त्र र नगरपालिकाका प्रतिनिधिहरुको सहभागितामा भएको छड्के अनुगमन गरेको थियो । अनुगमन समितिले अस्पताल परिसरमै रहेका मेडिकलहरुबाट अनुगमन थालेको थियो । दिवसको अवसर पारेर आफ्नै ठाउँबाट सुर गरौं भनेर अस्पताल परिसरबाटै अनुगमन थालेको निमित्त जनस्वास्थ्य अधिकृत दुनियालाल यादवले बताए ।

कटारीमा अनुगमनको क्रममा ८० प्रतिशत मेडिकलहरु अबैध भेटिएको उनले बताएका छन् । विना दर्ता सञ्चालनमा रहेका मेडिकल र हस्पिटलहरुलाई दुई हप्ता भित्र कागजात दुरुस्त गर्न चेतावनी दिएर छाडिएको उनले बताएका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित