म २७ वर्षीया विवाहित महिला हुँ, यौनसन्तुष्टि…?

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । आपसी सल्लाहअनुसार नै हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौं । यौनसम्पर्कको धेरैजसो समयमा मलाई सन्तुष्टिको अनुभूति नभएको महसुस हुन्छ भने मेरा श्रीमान्ले भने सन्तुष्टि महसुस गर्नुहुन्न । यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने थाहा छ, तर श्रीमान्सँग यो विषयमा कुरा गर्दा उहाँ त्यति वास्ता गर्नु हुन्न । यसरी सन्तुष्टि नहुँदा हामी दुवै जनालाई यौनसम्पर्कपछि पीडा अनुभव हुन्छ र निकै दिनसम्म फेरि यौनसम्बन्ध कायम गर्न मन लाग्दैन । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै समाधान पनि छ ?
-बी

तपाईंको जस्तै समस्या लिएर मकहाँ आउने महिला थुप्रै हुनुहुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुनसक्छ भने कतिपय महिलाले जीवनभर नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।

एक अनुसन्धानअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ भने १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् ।

जुन महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि पाएको अनुभव गरेका हुन्छन्, उनीहरूले मनोविद् वा चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू जिम्मेवार हुन्छन् जसको यर्थात कारण पत्ता लगाई समयमै उपचार गराउनुपर्ने हुन्छ ।

अब यो समस्या के हो भन्ने विषयमा छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मिया भनिन्छ । एनोरगाज्मियाका बारेमा थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारण हुनसक्छन् । जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक प्रभाव हुनसक्छ । औषधिको लामो समयसम्मको प्रयोगले पनि एनोरगाज्मिया हुनसक्छ ।

मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षको भूमिका हुन्छ । यदि यौनहिंसा भएको इतिहास छ भने पनि एनोरगाज्मिया हुनसक्छ । सामाजिक कारणमा यौनसाथीसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता छ मा एनोरगाज्मिया भएको पाइएको छ ।

चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण पाइन्छ । हरेक महिलामा एउटै कारणले एनोरगाज्मिया हुँदैन । त्यसकारण यीमध्ये कुन कारण हो, पत्ता लगाउनु आवश्यक हुन्छ र जे कारण हो त्यसैअनुरूप उपचार गराउनुपर्छ ।

यसको प्रचलित उपचार दम्पतीलाई प्रदान गरिने परामर्श तथा चिकित्सकीय उपचार प्रमुख हो । अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो विधिअन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिइन्छ । यसअन्तर्गत हस्थमैथुन पनि पर्छ । हस्थमैथुन गर्ने क्रममा यौनआनन्द महसुस हुन्छ भने त्यसलाई सफल मानिन्छ ।

आफूलाई जुन विधि ठीक लाग्छ आफ्नो यौनसाथीलाई भनेर त्यही विधिअनुसार यौनसम्पर्क राख्न आग्रह गर्न सकिन्छ । यदि एक–अर्कासँग मनको कुरा गर्ने, विभिन्न विषयमा छलफल गर्ने, एक–अर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी छ भने पनि उक्त विषयमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र यसको पनि कारण खोज्नुपर्ने हुन्छ ।

विभिन्न किसिमका औषधि–उपचार भए पनि धेरैजसो महिला यसमा औषधिको सेवनले प्रभाव नपारेको कुरा बताउँछन् । कुनै पनि औषधि जादु होइन । विशेष गरेर त्यस्तो समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन ।

तपाईंका बारेमा भन्नुपर्दा तपार्इं र तपाईंको श्रीमानवीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईंहरू आफैंले पनि यौन सन्तुष्टिका लागि प्रयास गरिरहनु भएको छ, तर तपाईंहरूको प्रयासले काम गरिरहेको छैन । आफ्नो सम्बन्धलाई बिग्रनबाट जोगाउन तपाईंहरू दुवैले खुलेर एक–अर्कासँग कुरा गर्नु र सँगै परामर्श लिनु आवश्यक छ । समस्यालाई लामो समयसम्म थाँति राख्दा ग्लानी र हीनताबोध उत्पन्नहुनुका साथै दम्पतीबीचको समझदारीमा कमी आउन थाल्छ ।

तपाईंहरूमध्ये एक जनाका कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो कि दुवै जनाको समस्याले हो भन्ने कुरा पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिनु आवश्यक छ । साप्ताहिकका साथमा ।

प्रतिक्रिया

सम्बन्धित