यसकारण दुख्छ बच्चाको पेट

बच्चालाई सबैभन्दा बढी सताउने समस्या पेटको दुखाइ हो । सरसफाइ र खानामा राम्ररी ध्यान नदिँदा पेट दुख्ने गर्छ । बालबालिकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने भएकाले यसमा अभिभावकले विशेष ध्यान पु-याउनुपर्छ । तर, बच्चाको पेट दुख्नुको कारण निश्चित नभई औषधि खुवाउने गल्ती गर्नुहुँदैन । यी हुन् बच्चाको पेट दुख्ने कारण :

डाइरिया

भाइरल डाइरिया बालबालिकामा सबैभन्दा बढी देखिने समस्या हो । बालबालिकामा रोगप्रतिरोधी क्षमता कमजोर हुने भएकाले पनि यसको संक्रमणले बढी आक्रमण गर्छ । प्रदूषित वातावरण, फोहोर पानी, सागसब्जी र फलफूल पखालेको दूषित पानी, रोटा भाइरसलगायतका कारण यसको संक्रमण बढ्ने गर्छ ।

झिँगामार्फत पनि यो भाइरस सर्न सक्छ । रोटा भाइरस दिसा–पिसाबसँगै अन्य फोहोरमा रहने कीटाणु हो । पछिल्लो समय नेपालमा रोटा भाइरसको भ्याक्सिन पनि पाइन्छ ।

हेपाटाइटिस ए

हेपाटाइटिस ए दिसाका माध्यमबाट सर्ने रोग हो । यसले सबै उमेरका मानिसलाई आक्रमण गर्छ । शरीरमा हेपाटाइटिस ए जीवाणु प्रवेश गरेको २–४ हप्तामा जन्डिसलगायतका लक्षणसमेत देखिन थाल्छ । यसले खानामा रुचि घटाउँछ ।

त्यस्तै, वाकवाकी लाग्ने, ज्वरो आउने, तारन्तार दिसा लाग्ने, पेटको दायाँ कोखा दुख्नेलगायतका लक्षण देखाउँछ । सामान्यतया लक्षण देखिएको एक हप्तापछि हेपाटाइटिस ए हुन्छ । तर, यसको प्रमुख लक्षण भनेको दिसा–पिसाबमा पहेँलोपन आउनु हो । त्यसपछि आँखा, नङ, मुख र शरीर पनि क्रमशः पहेँलो बन्दै जान्छ ।

हेपाटाइटिस ए भएमा प्रशस्त मात्रामा झोल तथा सफा र ताजा खानेकुराको सेवन गर्नुपर्छ । यस्तो अवस्थामा आरामको जरुरत पर्छ । यसले कलेजोलाई कमजोर बनाउँछ । जथाभावी जडीबुटी तथा एलोपेथिक औषधिको प्रयोग गर्दा ज्यानै जान सक्छ ।

कब्जियत

बब्जियतले दिसा साह्रो र गोटा पर्ने हुन्छ । यो समस्या भएमा तीन दिनसम्म दिसा नहुने समस्या पनि हुन्छ । जसले बच्चालाई अत्यन्तै पीडा दिने गर्छ । यस्तो समस्या भएका बालबालिका लामो समय शौचालयमा बिताउने गर्छन् । दिसाका कारण मलद्वार च्यातिएर रगत आउने समस्या पनि हुन्छ ।

कब्जियतको समस्याले पेट नराम्ररी दुखाउँछ । दिसापछि केही हदसम्म दुखाइ कम हुन्छ । बच्चाले दिसाको वेला पीडा भएको गुनासो गर्नेबित्तिकै उपचारमा लाग्नुपर्ने हुन्छ । स्तनपान गर्ने बच्चाले ४–७ दिनमा दिसा गर्ने र दिसा सामान्य भएमा त्यसलाई समस्याको रूपमा लिनुहुँदैन ।

तर, बच्चालाई थुप्रिएर बसेको दिसा पूर्ण रूपमा बाहिर निकाल्ने, दिनहुँ शौच बस्ने बानी बसाउनुका साथै फाइबरयुक्त आहार र तरल पदार्थ खुवाउनुपर्छ ।

ग्यास्ट्रिक

पछिल्लो समय बालबालिकालाई घरमा तयार बनाएको खानेकुराभन्दा तयार पारिएका बजारमा उपलब्ध खाना खुवाउने प्रचलन बढ्दो छ । जसले गर्दा बालबालिकाले समयमा खान मन गर्दैनन् । जसका कारण पेटमा ग्यास भरिने गर्छ र ग्यास्ट्राइटिसको समस्या हुन्छ । जसका कारण अत्यधिक रूपमा बच्चाको पेट दुख्ने गर्छ ।

क्रोनिक समस्या

प्रायः बालबालिकामा लगातार पेट फुल्ने र अमिलो डकार आउने समस्या देखिन्छ । खानपान र त्यसमा पनि खासगरी जंकफुड, कोल्डड्रिंक्सको प्रयोगले बच्चालाई यस्तो समस्या हुन्छ । यो समस्याले पनि बालबालिकाको पेट दुखाउँछ ।:-नयाँ पत्रिका बाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित