पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

अछाम / अछामको बयालपाटा अस्पतालमा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया गरिएको छ । तीन दिनदेखि पेट दुखेर बिरामी भई अस्पताल पुग्नुभएका साँफेबगर–१३ बाब्लाका ५२ वर्षीय अम्बरे विष्टको आन्द्रामा परेको प्वालको शल्यक्रिया गरिएको हो ।

आन्द्रामा समस्या भएका उहाँले दुई घण्टाको सफल शल्यक्रियापछि खुशी व्यक्त गर्दै भन्नुभयो, “टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद ।”

बिरामीको प्रकृति हेर्दा आइसियुको सुविधा भएको अस्पतालमा राख्नु पर्ने भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफन्तले अन्यत्र लैजान नमानेपछि बयालपाटा अस्पतालमै उहाँको शल्यक्रिया गरिएको उपचारमा संलग्न डा विकास गौचनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिरामीका श्रीमतीले धनगढी नेपालगञ्ज लैजान मान्नु भएन बरु त्यसको सट्टा घर फर्किन्छौँ भनेपछि यही शल्यक्रिया गरिएको हो ।” उहाँका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित