बिर्तामोडमा अस्ट्रेलिया अध्ययन बारे सेमिनार सम्पन्न

बिर्तामोड / जेन्युन एजुकेसन एन्ड भिसा सर्भिस र क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको संयुक्त आयोजनामा बुधबार बिर्तामोडमा ‘अस्ट्रेलियन एजुकेसन सेमिनार’ सम्पन्न भएको छ ।

बिर्तामोडस्थित जेन्युन एजुकेसनको सेमिनार हलमा भएको कार्यक्रममा अस्ट्रेलियाको क्विन्स फोर्ड र भाइभ कलेजका नेपाल कन्ट्री हेड प्रकाश पाण्डेले सहजीकरण गरेका थिए । उनले अस्ट्रेलियाको नीति नियम, जीवनशैली र विद्यार्थीले जान्नै पर्ने विषयवस्तुमा विद्यार्थीलाई जानकारी गराएका थिए । ‘विदेश अध्ययनका लागि जाने निर्णय सानोतिनो कुरा होइन’, उनले भने, ‘अभिभावक र विद्यार्थीले बुझेर पछि आउन सक्ने समस्या र समाधानका विषयमा जानकारी लिएर मात्र निर्णय गर्न जरुरी छ ।’ अस्ट्रेलियाको अध्ययनले आत्मनिर्भर बन्न सिकाउनेमा उनले जोड दिए ।

सोही अवसरमा क्याम्ब्रिज तथा जेन्युन एजुकेसनको संयुक्त पहलमा अस्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गरेका नवीन बुढाथोकीलाई बधाईसहित बिदाइ गरिएको थियो । कार्यक्रममा एक सयभन्दा बढी विद्यार्थीले शैक्षिक परामर्श लिएको जेन्युन एजुकेसनका प्रबन्ध निर्देशक लक्ष्मी खनालले जानकारी दिए । ‘धेरै विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया जान चाहन्छन्’, उनले भने, ‘त्यो पूरा गर्न विद्यार्थी र अभिभावकले बुझ्नै पर्ने कुरा जानकारी गराउने हाम्रो उद्देश्य हो ।’

बिहीबार दमकस्थित क्याम्ब्रिजको सभाहलमा शैक्षिक सेमिनारको आयोजना हुने क्याम्ब्रिजका पूर्वाञ्चल प्रमुख निश्चल सिम्खडाले बताए । विदेश अध्ययनका लागि जाने सोच बनाएका विद्यार्थी तथा अभिभावकले शैक्षिक सेमिनारबाट धेरै कुरा जान्ने अवसर भएकाले सहभागिताका लागि उनले आग्रह गरे ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित