८ महिनादेखि तलब नपाएको अस्पताल कर्मचारीको गुनासो

खाँदबारी / संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा कार्यरत करारका कर्मचारीहरुले ८ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । अस्पताल खाँदबारी नगरपालिकामा समायोजन भएपछि तलब नपाएको उनीहरुले गुनासो गरे ।

कार्यालय सहयोगी कुसाई मरिकले तलब नपाएको आठ महिना बितेको बताए । मरिक जस्तै करारमा कार्यरत आठ कार्यालय सहयोगीले ८ महिना देखि तलब पाएका छैनन् । मंसिर महिनाबाट तलब नपाएको उनले बताए । तलब नपाएपछि मंगलबार ती कर्मचारीले अस्पतालको सरसफाई गरेनन् । नयाँ करारपत्र नबनेसम्म काम रोक्ने चेतावनी दिएका ती कर्मचारीले नगरपालिका, जिल्ला स्वास्थ्य र जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले छिट्टै नयाँ करारपत्र उपलव्ध गराउने र तलब उपलब्ध गराउने भनेपछि उनीहरु काममा फर्किएका छन् । उनीहरुले मंगलबार मध्यान्ह १२ बजेसम्म काम ठप्प पारेका थिए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित