विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग

चितवन / नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् ।

विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा भोजराज अधिकारीले चेतनाको अभावका कारण आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई थाइराइड रोग लागेको भनेर जानकारी नहुने गरेको बताउनुभयो ।

स्वास्थ परीक्षणबाट प्रमाणित भएपछि मात्रै आफूलाई थाइराइड भएको जानकारी पाउने गरेको भन्दै डा अधिकारीले शरीरमा कुनै असरबिना नै असजिलो महसुस भयो भने स्वास्थ्य परीक्षण जरुरी रहेको बताउनुभयो ।

डा अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा तीन चार वटा समस्या देखिन्छ । एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग ‘हाइपो थाइरोडिजम’ हो । अर्काे हर्माेनको मात्रा बढी निस्कने ‘हाइपर थाइरोडिजम’ हो । तेस्रो, थाइराइड हर्मन सुनिने हुन्छ भने चांैथो थाइराइड क्यान्सर हुनसक्छ ।

स्त्रीरोग विशेषज्ञ डा हेमनाथ सुवेदीले महिलामा बढी थाइराइड देखिने गरेको उल्लेख गर्दै नियमित औषधि सेवनले बच्चा र आमालाई कुनै पनि असर नगर्ने बताउनुभयो ।

बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाले जन्मेदेखिनै बच्चामा यो रोग देखिन सक्ने बताउँदै प्रति तीन, चार हजार बच्चामध्ये एक, दुई जनामा यो रोग देखिन सक्ने धारणा व्यक्त गर्नुभयो ।

‘आमालाई रोग देखिए गर्भको बच्चामा पनि सर्न सक्छ, डा बस्यौलाले भन्नुभयो, “औषधी नियमित सेवन गरें केही हुन्न, तर बच्चालाई दुई वर्षसम्म उपचार नगरे सुस्त हुनसक्छ ।”

प्राकृतिक चिकित्सक डा हेमराज कोइरालाले पछिल्लो समयमा थाइराइड रोग बढ्दो क्रममा रहेको बताउँदै यसप्रति सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

चिकित्सकका अनुसार थाइराइड ग्रन्थीले शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित