क्याम्पसमा नीजि विद्यालय खोलेपछि सर्वत्र विरोध

संखुवासभा / सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले नीजि विद्यालय खोलेपछि सर्बत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय गराएर विद्यालय खोल्ने निर्णय गरेका छन् । क्याम्पस व्यवस्थापनलाई ५१ प्रतिशत शेयर दिने शर्तमा ७ जना व्यक्तिले बोर्डिङ खोलेपछि सर्बत्र बिरोध भएको हो ।

खाँदबारी नगरपालिका ७ का अभिभावक शेरबहादुर वनले सामुदायिक विद्यालयमा केही व्यक्तिले शेयर राखेर बोर्डिङ खोलेको आरोप लगाए । क्याम्पस व्यवस्थापनले घरभाडाको पनि सूचना नदिई एकल ढंगले गोप्य रुपमा घर भाडामा लगाएको उनले बताए । शेयर पनि कसैलाई थाहै नदिई आफन्त राखेर खोलेका रहेछन्, उनले भने, सामुदायिक क्याम्पसलाई व्यापारमुखी बनाउनु भएन । उनका अनुसार क्याम्पस व्यवस्थापनले वार्षिक १ लाख ५० हजारमा बोर्डिङलाई भाडामा दिएको छ । क्याम्पसमा २८ वटा कक्षा कोठा रहेका छन् ।

सामुदायिक क्याम्पसमा नीजि बोर्डिङ अरुण भ्याली खोलिएको छ । क्याम्पसमा नाफा कमाउने उदेश्यले बोर्डिङ खोलेपछि स्थानीयले धनकुटा उच्च अदातलमा समेत मुद्धा दर्ता गरेका छन् । विष्णु राई, तेजनाथ पोख्रेल र ईन्द्र किसान दाहालले सामुदायिक क्याम्पसलाई डुवाएर नाफा कमाउने उदेश्य राखेर बोर्डिङ खोलेको आरोप लगाएका छन् ।

क्याम्पस भवन भारतिय राजदुताबासको सहयोगमा निर्माण गरिएको हो । यो भवन अहिले पनि दुताबासले क्याम्पस प्रशासनलाई जिम्मा लगाएको छैन । स्थानीयले एक रुपैयाँ अभियान, चन्दा, दानदातव्य र महापुराण लगाएर क्याम्पस सञ्चालन गरेका थिए । मनोमानी ढंगले नीजि विद्यालय चलाउन नहुँने स्थानीयको माग छ । स्थानीयले शैक्षिक सार्वजनिक गुठी गठन गरेर बोर्डिङ चलाउन माग गरेका छन् । सामुदायिक क्याम्पसको घर भाडामा लिएर शिक्षालाई व्यापार गर्न नहुँने तेजनाथले बताए ।

शिक्षा ऐन २०२८ मा पनि सरकारी, सामुदायिक वा सार्वजनिक भवनमा नीजि बोर्डिङ खोल्न नपाउने उल्लेख गरिएको छ । शिक्षा ऐनको दफा ३ उपदफा ६ को (क),(ख) र (ग) मा सरकारी वा सार्वजनिक भवनमा सञ्चालन भएको विद्यालय, सरकारी वा सार्वजनिक जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालय, कुनै व्यक्ति वा संस्थाले विद्यालयको नाममा भवन वा जग्गा दान, दातव्य दिएको भवनमा वा त्यस्तो जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालयमा अनुमति वा स्वीकृति नपाईने उल्लेख गरिएको छ ।

मनकामना रत्न अम्बिका माबि तुम्लिङटारका प्रधानाध्यापक कुबेरप्रसाद भेटुवालले सामुदायिक क्याम्पसमा कम्पनी ऐन अन्तगत संस्थागत विद्यालय सञ्चालन गर्न नपाउने बताए । उनका अनुसार अहिले सामुदायिक क्याम्पस भवनमा खोलिएको नीजि विद्यालयले जिल्ला शिक्षा र खाँदबारी नगरपालिकासंग अनुमतिका लागि पर्याप्त कागजात पेश गरेको नपाईएको बताए । म खाँदबारी नगर शिक्षा समितिको सदस्य पनि हो, उनले भने, कुनै कागजात पेश नगरी अरुण भ्याली बोर्डिङले दबाबमा नियम मिचेर कार्यपालिका बैठकबाट निर्णय गराएर अनुमति लगेको पाईएको छ ।

कार्यपालिका बैठकमा ठाडो निवेदनका आधारमा अनुमति लिएका छन् । माध्यमिक तह सञ्चालनका लागि कम्तिमा २ महिना अघि निवेदन दिएर प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ, उनले भने, नगरपालिकाले हचुवाका भरमा सञ्चालनको अनुमति दिईएको छ । शिक्षा ऐनको प्रावधान अनुसार जिल्ला शिक्षा समितिको सिफारिसमा वा नगर शिक्षा समितिको सिफारिसमा मात्र विद्यालय खोल्ने अनुमति प्रदान हुन्छ । तर त्यसो नगरेको पाईएको उनले बताए । बोर्डिङको शेयर होल्डरमा क्याम्पस व्यवस्थापनका अध्यक्षका श्रीमति, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृतका छोरा, क्याम्पस प्रमुखका श्रीमती, खाँदबारी नगरपालिकाका अधिकृत र सरकारी बिद्यालयका शिक्षक रहेका छन् ।

बलमिच्याई गरेर सबै ठाँउबाट जवरजस्ती सिफारिस लगेका रहेछन्, उनले भने, नियम मिचेर निजी विद्यालय खोलिनु हुँदैन, सामुदायिक र सबैलाई मान्य हुनु पर्छ । स्थानीयबासिहरुबाट चन्दा संकलन गरेर बनाईएको क्याम्पसको भवनमा पारिवारिक हिसावले निजी विद्यालय खोलिनु राम्रो हैन, उनले भने, २४ कोठाको सुविधा सम्पन्न भवन वार्षिक एकलाख ५० हजारमा भाँडा लगाउने कुरा हास्यास्पद हो । यसले क्याम्पसलाई भन्दा पनि व्यक्तिलाई फाईदा पुग्छ ।जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलका अनुसार शिक्षा समितिले यो विषयमा कुनै निर्णय गरेको छैन । खाँदबारी नगरपालिकाले सिफारिसको काम गरेको हो, उनले भने, हामीलाई थाहा छैन, सबै अधिकार नगरपालिकाले नै दिएको हो ।

४९ प्रतिशत शेयर होल्डरमा श्रीमती र नातेदारमात्रै

शेयर होल्डरमा क्याम्पस प्रमुख डा. मात्रिका तिम्सिनाको श्रीमती भवानीदेवी वस्याल, व्यवस्थापन समितिका अध्यक्ष सुमन श्रेष्ठका श्रीमती लक्ष्मी श्रेष्ठ, सुमनका भिनाजु ढक्कलाल श्रेष्ठ, प्रिन्सिपल डम्बर बाह्रकोटी, खाँदबारी नगरपालिकाका अधिकृत दिनेश कट्टेल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत केशव भट्टराईका छोरा विवेक भट्टराई र शिक्षक खगेश्वर घिमिरे मात्रै रहेका छन् । शेयर होल्डरका लागि सूचना प्रकाशन गर्नु पर्ने भएपनि मनोमानि ढंगले नातेदारलाई शेयर सदस्य बनाईएको छ । प्रिन्सिपल बाह्रकोटी र घिमिरे हिमालय मावि खाँदबारीका सरकारी शिक्षक पनि हुन् । व्यवस्थापन समितिको बैठकको निर्णयमा पनि अन्य सदस्यलाई जानकारी नदिई हस्ताक्षर गरिएको आरोप छ । बैठकको निर्णयमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र सदस्यहरु दिनेशकुमार श्रेष्ठ, दुर्गादेबी चापागाई, दुर्गाबहादुर विष्ट र निराजन श्रेष्ठले भने हस्ताक्षर गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित